काठमाडौं। इन्धनबाट चल्ने सवारीसाधनमाथि लगाइएकाे प्रतिबन्धका कारण मुलुकका ५८ भन्दा बढी शोरूम बन्द भएका छन्।
सरकारले गत वैशाखमा इन्धनबाट चल्ने सवारीसाधनमाथि लगाइएकाे प्रतिबन्धका कारण मुलुकका सवारीसाधनसँग सम्बन्धित शाेरूम बन्द भएकाे नेपाल अटोमोबाइल डिलर्स एशोसीयसन (नाडा) ले जनाएकाे छ।
नाडाका अनुसार हाल ५८ भन्दा बढी शोरूम बन्द भइसकेका छन् भने एक सयभन्दा बढी शोरूम छिट्टै बन्द हुने अवस्थामा छन्।
‘प्रत्येक दिन कुनै न कुनै शोरूम बन्द भएका छन्,’ नाडाका अध्यक्ष ध्रुव थापाले भने ‘बन्द भएका शाेरूम पुनःसञ्चालन नहुने गरी बन्द भएका छन्। बन्द हुने लहर अझै चलिरहने देखिन्छ।’
उनले अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई ध्यानाकर्षण गराउँदा पनि आफूलाई बेवास्ता गरेका कारण समस्या सिर्जना भएको बताए।शोरूम कर्मचारी पाल्न, ब्याजको भार धान्न, घरभाडा पुर्याउन नसकेर धमाधम बन्द भएकाे उनले जानकारी दिए।
‘आयात प्रतिबन्ध कहिले खुल्छ अनिश्चित छ,’ अध्यक्ष थापाले भने ‘यदि आयात प्रतिबन्ध खुले पनि चार/पाँच महिनासम्म आयात गर्न नसकिने अवस्था हुन्छ। यसको घाटा सबैभन्दा बढी सरकारलाई नै हुन्छ।’
सवारीसाधनबाट राजस्वमा २५ प्रतिशत योगदान रहेको भन्दै व्यवसायीको साथमा सरकारलाई पनि धेरै बढी घाटा भएको उनकाे भनाइ छ।
नाडाका अनुसार हाल मुलुकमा १ हजार २५ शोरूम छन् भने गाडीका पार्ट तथा वर्कसप गरी १० हजार बढी छन्। यसबाट १ लाख कर्मचारीले रोजगारी पाएका छन्। सरकारले अझै यसमा ध्यान नदिए १ लाखले रोजगारी गुमाउने अध्यक्ष थापाले जानकारी दिए।
‘हाम्रो क्षेत्रका प्रत्यक्षतर्फ १० लाखले रोजगारी पाएका छन्। अझ यातायाततिर हेर्ने हो भने लाखौं रोजगारीमा छन्,’ अध्यक्ष थापाले भने ‘यही अवस्था रहिरहे प्रत्यक्ष जोडिएका एक लाखकाे रोजगारी गुम्ने खतरा छ।’
मुलुकमा शोरूम कोभिडको जस्तै चपेटामा परेको र कर्मचारीको ३० देखि ४० प्रतिशतसम्म रकम कटौती गरेर सञ्चालन भएको उनले जानकारी दिए।
‘डलर सञ्चिति घट्नुमा एक प्रतिशत हाम्रो क्षेत्रले भूमिका खेल्छ,’ अध्यक्ष थापाले भने ‘ बाहिरबाट हाइफाइ देखिने कारणले सरकारले हामीलाई अलग्गै नजरबाट हेरेको देखिन्छ।’ नेपालमा १९ अर्बको आयात हुँदा इन्धनबाट चल्ने सवारीसाधनको त्यसमा एक प्रतिशत मात्र भूमिका भएको तर सरकारले बढी देखेको उनको भनाइ छ।
पटक-पटक कुरा उठाउँदा पनि सरकारले आवाज नसुनेका कारण शोरूम तथा इन्धनबाट चल्ने सवारीसँग सम्बन्धित सबै क्षेत्र बन्द हुने लहर चलेको उनले बताए। थापाले यसमा ध्यान दिन ढिला नगर्न सरकारसँग आग्रह गरे।
सरकारले गत वैशाखमा विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै विभिन्न विलासी वस्तुको आयातमा रोक लागाउने निर्णय गरेको थियो। वैशाखमा १० प्रकारका वस्तुको आयातमा असारमसान्तसम्म लागू हुने गरी लागेको प्रतिबन्धलाई कडाइ गर्दै सरकारले बढाएर असार ३१ पुर्यायो।
१४ भदौमा सरकारले कुरकुरे, हिरालगायतका ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै गाडी, मोबाइल, मदिरा र मोटरसाइकल गरी चार प्रकारका वस्तुको आयात प्रतिबन्धलाई यथावत राख्यो। हाल सो निर्णयलाई सरकारले मंसिर २९ गतेसम्म लागू गर्ने निर्णय गरेको छ।