काठमाडाैं। नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालसहित महासंघका पदाधिकारी र कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वमा नेपाल भ्रमणमा आएको तीन सदस्यीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएकाे छ ।
साेमबार महासंघ सचिवालयमा भएकाे औपचारिक भेटवार्तामा नेपाल कोरियाबीच आपसी आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, पर्यटन, पूर्वाधार, कृषि, उर्जा, औद्योगिक विकासमा कोरियन लगानी, प्रविध तथा कोरियाको अनुभव आदानप्रदान, वातावरण संरक्षणलगायतका विषयमा छलफल भएकाे हाे।
उक्त भेटवार्तामा महासंघका कार्यवाहक अध्यक्ष ढकालले प्रतिनिधिमण्डलको स्वागत गर्दै कोरियाले गरेको आर्थिक विकासको मोडल नेपालका लागि पनि महत्वपूर्ण रहेको बताए। दुवै देशका निजी क्षेत्रबीचको सम्बन्ध बलियो बन्न सक्यो भने लगानी, प्रविधि तथा अनुभवसमेत ल्याउन सहज हुने हुँदा निजी क्षेत्रबीचको सम्बन्ध विस्तारमा सहयोग गर्न उनले आग्रह गरे।
कार्यवाहक अध्यक्ष ढकालले बाह्य लगानी ल्याउने कुरामा निजी क्षेत्रले सरकारलाई निरन्तर झकझक्याई रहेको र सोही अनुसार बाह्य लगानीसँग सम्बन्धित महत्वपूर्ण ऐन कानून संशोधनसमेत भैसकेको स्पष्ट पारे।
नेपालमा लगानी गरी ठूलो प्रतिफल लैजान सकिने बलियो सम्भाव्यता रहेकाले कोरियन लगानी विस्तारमा प्रतिनिधिमण्डलबाट ठूलो सहयोगको अपेक्षा आफूले गरेको उनले बताए। नेपालमा सवै क्षेत्रमा लगानीको ठूलो अवसर रहेको पनि उनले जानकारी दिए।
यता प्रतिनिधिमण्डलका नेता एवं कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनले कोरियाको आर्थिक विकासको अनुभव सुनाउँदै नेपालको आर्थिक विकासमा सहयोग गर्न कोरिया सधैं तयार रहेको बताए। महासंघले दिएका सुझावको कार्यान्वयनमा आफूले सक्दो सहयोग र समन्वय गर्ने विश्वाससमेत उनले दिलाए।
यस्तै महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, उद्योग समितिका सभापति भरतराज आचार्य, महासंघका महानिर्देशक गोकर्णराज अवस्थी र कोरियन प्रतिनिधिमण्डलका सदस्य सहभागी सो भेटवार्तामा महासंघकातर्फबाट कोरियन उत्पादनमुलक उद्योग कोरियाबाट अन्यत्र स्थानान्तरण भैरहेकाले स्वच्छ उर्जाको राम्रो प्रवन्ध, सस्तो श्रम र विशाल बजारसमेतका आधारमा ती उद्योग नेपालमा आकर्षित गर्नेतर्फ सहयोग गर्न आग्रह गरे।