काठमाडौं । सेयर लगानीकर्ताहरुले धितोपत्र बजार विस्तारमा केही स्वार्थी समूहले रोक्ने प्रयास गरेको निश्कर्ष निकालेको छ ।
नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर र कमोडिटी व्यवसाय सञ्चालन गर्न दिन लागेको अनुमतिपत्र (लाइसेन्स) अहिले केही स्वार्थी समूहका कारण रोकिएको आरोप सेयर लगानीकर्ताको छ ।
नाैवटा सेयर लगानी संघले सोमबार संयुक्त विज्ञप्ति जारी गरी स्वार्थी समूहबाट बाधा र रोक्ने काम भए ५४ लाख लगानीकर्ताको तर्फबाट सडकमा उत्रिने चेतावनी दिएका छन् ।
नेपालको धितोपत्र बजारलाई आधुनिक हुन नदिने सीमित व्यक्तिको पकडमा राख्न खोज्ने काम संविधानमा भएको व्यवस्थाअनुसार प्रतिस्पर्धी कानुनविपरीत भएको निश्कर्ष संघहरुको छ ।
धितोपत्र बजार विस्तार नहुँदा ४० खर्बभन्दा बढी पुँजीकरण भएको बजार अहिले घटेर २८ खर्ब रुपैयाँमा झरेको संयुक्त रूपमा जारी विज्ञप्तिमा उल्लेख छ ।
बजार सुुधारको काम रोकिए लगानीकर्ता विस्थापित भइ झन् ठूलो क्षति धितोपत्र बजारले सामना गर्नुपर्ने र यसको असरले बजार वर्षौंपछि धकेलिने भन्दै संघहरुले सतर्क गराएका छन् ।
धितोपत्र बजारलाई खेलाँचीको रूपमा नलिइ विगतमा भएका विभिन्न आन्दोलनका क्रममा राखिएका माग र सुझाहरुका साथै ५८ बुँदे सुझाव र १९ बुँदे माग तत्काल कार्यान्वयन गर्न संघहरुले माग गरेका छन् । बाधा सिर्जना नगरी आमसर्वसाधारण लगानीकर्ताको सुरक्षाका लागि लगानीको वातावरण बनाउन संघहरुले माग गरेका छन् ।
संयुक्त विज्ञप्ति जारी गर्नेमा नेपाल इन्भेस्टर्स फोरम, नेपाल पुँजीबजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता संघ नेपाल, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, स्वतन्त्र पुँजीबजार संघ, स्वतन्त्र पुँजीबजार सुधार संघ, सेयर लगानीकर्ता दबाब समूह र लगानीकर्ता हित संरक्षण मञ्च रहेका छन ।