काठमाडाैं। राजधानीको दरबार मार्ग। थरिथरीका ब्रान्डेड सामानका शोरूमले भरिएको ठाउँ। विदेशी तथा स्वदेशी ब्रान्डका विभिन्न सामानका शोरूम ‘जंक्सन’ बनेको दरबारमार्गमा सञ्चालित दरबारमल पछिल्लो समय सबैको केन्द्रबिन्दु बनिरहेको छ।
ब्रान्डेड सामान खरिद पारखीलाई लक्ष्य गरी दरबार मलमा विभिन्न ब्रान्डका शोरूम खडा भइरहेका छन्।
विदेशी ब्रान्डका दबदबा रहेका बेला २४ वर्ष पुरानो बिजनेस ग्रुप गुणका सदस्य दिप्रिना शाक्यले नेपाली ब्रान्ड ‘केड’ को शोरूम सञ्चालनमा ल्याएकी छिन्। पारिवारिक व्यापारभन्दा केही फरक गर्ने सोचका साथ शाक्यले असोजदेखि शोरूम सञ्चालनमा ल्याएकी हुन्।
विदेशी तथा स्वदेशी लत्ताकपडामा तीव्र प्रतिस्पर्धाबीच केडमार्फत नेपाली बजारमा आफ्नो प्रभूत्व जमाउन तम्सिएकी दिप्रिना गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्यका छोरी हुन्। घरजग्गा, वायुसेवा, फाइनान्स, शिक्षा, स्वास्थ्य, जलविद्युत, होटललगायत क्षेत्रमा एक छत्र राज गर्दै आएको गुण ग्रुपका सदस्य दिप्रिना भने नयाँ भूमिकामा देखिएकी हुन्।
स्थापित ग्रुप गुणको व्यवसायमा संलग्न नभई आफ्नै कम्पनी स्थापना गरेकी शाक्यलाई टिकिरहनुपर्ने चुनौती छ। ग्रुपको ब्रान्ड स्थापित गराइरहन पनि उनलाई बाध्यता छ। तर, यो बाध्यताबीच उनले स्थापित बिजनेसभन्दा टाढा भएर आफ्नै नयाँ कम्पनी सुरूवात गरेकी हुन्।
पारिवारिक बिजनेसबाट केही बाहिर निस्किएर तर, परिवारकै साथमा छुट्टै ब्रान्डमार्फत नेपाली उपभोक्ताको मन जितेर विश्वबजारमा स्थापित ‘ग्लोबल ब्रान्ड’ सँग प्रतिस्पर्धा गर्न तयार छिन्।
२६ वर्षीय शाक्य अस्ट्रेलियामा बिजनेसमा ब्याचलर्स र मार्केटिङमा मास्टर्स गरेर फर्किएका हुन्। नेपालमा प्रयोग हुने अधिकांश कपडा विदेशबाट आयात हुने गरेकाले त्यसलाई केही हदसम्म रोक्न र रोजगारी सिर्जना गर्नसमेत स्वदेशी ब्रान्डमा हात हालिएको उनी बताउँछिन्।
नेपाली उत्पादन पनि विदेशीसरह नै उत्कृष्ट हुन्छ भन्ने छाप जनमानसमा पुर्याउँदै निकट भविष्यमा विदेश निर्यात गर्ने सपना समेत उनको टिमले बुनेको छ।
अध्ययन सिलसिलामा सात वर्ष विदेश बसेकी शाक्यले त्यही बेला नेपालबाट नेपाली उत्पादन लगेर बिक्री गर्ने सोच बनाएकी थिइन्। सुरूसुरूमा केही समय त्यसखालको काम पनि गरिन्। तर, पछि अध्ययनमा बढी समय दिनुपर्ने भएपछि छाडेकी उनले बीचमा फेरि नेपाली उत्पादन ब्रान्ड त्यहाँका बजार लगेर बजारीकरण गर्ने सोच बनाएकी थिइन्।
उनको त्यो सोचलाई कोभिड महामारीले ‘ब्रेक’ लगाइदियो र नेपाल फर्किइन्। यहाँ फर्किएर त्यत्तिकै बसिनन्। दुई वर्ष नेपाली उत्पादनबारे अध्ययन गरेर केड ब्रान्ड सञ्चालनमा ल्याइन्।
नेपाली उत्पादनलाई सहयोग गर्नुपर्छ भन्ने सोच राख्दै विदेशी उत्पादन बिस्तारै विस्थापन गर्दै आत्मनिर्भर हुनुपर्छ भन्ने सोच उनको छ। अहिले आफ्नो ध्यान भनेकै ब्रान्डिङमै रहेको उनी बताउँछिन्।
‘बिजनेसको सबैभन्दा महत्वपूर्ण विषय भनेको मार्केटिङ नै रहेकाले यसमा बढी ध्यान दिएका छौं,’ प्रबन्ध निर्देशक शाक्यले भनिन्, ‘साथै, नेपाली ब्रान्डका विषयमा सकारात्मक सन्देश दिँदै आएका छौं।’ स्थापनाको छोटो समयमै राम्रा सुझाव आइरहेको र मूल्यमा पनि अहिलेसम्म सबैजना सन्तुष्ट रहेको उनको भनाइ छ।
के हो केड?
केड नेपाली क्लोदिङ (कपडा) ब्रान्ड हो। सुन्दा र बोल्दा सबैको मुखमा झुन्डिने खालको होस् भनेर आफ्नो ब्रान्डको नाम केड राखिएको शाक्य बताउँछिन्। कपडालाई आवश्यक फ्याब्रिक विदेशबाटै ल्याएर प्रयोग गरिए पनि निकट भविष्यमा भने नेपाली नै प्रयोग गर्ने तयारी भइरहेको उनको भनाइ छ।
डिजाइनसम्बन्धी पूर्णज्ञान नभएकै कारण उनले फेसन डिजाइनर रमिला नेमकुन श्रेष्ठसँग सहकार्य गरेकी छिन्। केडसँग रहेका विभिन्न डिजाइनका कपडाले नेपाली उपभोक्ताका मन सहजै जित्न सकिने उनको विश्वास छ।
दरबारमल पहिलो तलामा पुग्ने बित्तिकै केडको आकर्षक शोरुम देख्न सकिन्छ। पछिल्लो समय युवायुवती फेसनप्रति धेरै जानकार छन्। विश्वबजारमा छिटो–छिटो परिवर्तन भइरहने डिजाइनमा प्रतिस्पर्धाका लागि लड्न केड तयार छ। बाह्रै महिना लगाउन मिल्ने खालका लुगा केडमा उपलब्ध छन्।
केडका उत्पादन अन्य ब्रान्डजस्तो महँगो भने छैन। नेपाली बजार सुहाउने खालका ब्रान्डका उत्पादन राखिएका छन्। विषेशगरी युवायुवती र वयष्कलाई मिल्नेखालका कपडा पाउन सकिन्छ।
उपभोक्ताका बुझाइमा नेपाली उत्पादन भनेपछि सस्तो हुन्छ र टिकाउ हुँदैन भन्ने धारणा केडले चिर्ने शाक्यको दाबी छ। ‘अहिले केडले क्वालिटीमा मात्र होइन, गुणस्तरमा पनि ध्यान दिएर अगाडि बढेको छ,’ शाक्य थप्छिन्।
फ्रेन्चाइजी मोडलमा अघि बढ्ने
केडले बिस्तारै ‘फ्रेन्चाइजी’ पनि दिने तयारी गरेको छ। पहिला आफ्नै शोरुम बलियो बनाएपछि फ्रेन्चाइजी दिने तर, तत्कालै भने नदिने उनको भनाइ छ। अहिलेका युवापुस्तामा युवती (केटी) हरू बढी नै फेसनप्रति चनाखो हुने गरेका छन्।
केडको मुख्य चुनौती पनि परिवर्तन भइरहने फेसन डिजाइनअनुसार उत्पादन गर्न सकिन्छ वा सकिँदैन भन्ने नै हो। त्यसका लागि विश्वबजार समेत ध्यानमा राखेर नेपालमा कस्ता फेसन रूचाइन्छ र त्यहीखालका उत्पादन दिनुपर्छ भन्ने सोचमा जोड दिएर अगाडि बढेको शाक्य बताउँछिन्। महिला र पुरुष लक्ष्य गरेर विभिन्न डिजाइनका कपडा उपलब्ध गराइएको छ।