रसुवा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रसुवाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार इन्जिनियर मोहन आचार्यले निर्वाचनपछि काग्रंस नेतृत्वमा सरकार बन्ने बताएका छन्।
निर्वाचन प्रचारप्रसारको क्रममा रसुवाका विभिन्न स्थानमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता आचार्यले काग्रंस नेतृत्वमा बन्ने सरकारले विकास र समृद्धिलाई प्राथमिकता दिने बताएका हुन्।
कांग्रेस सरकारले ग्रामीण अर्थतन्त्रको विकासका लागि काम गर्ने भन्दै उनले यसले रोजगारी सिर्जना गर्न सहयाेग गर्ने बताए। रसुवाको समृद्धि नै आफ्नो प्रमुख प्राथमिकता रहेको बताउँदै उनले भने 'संविधानको रक्षा र देशको विकासका लागि पाँच दलीय गठबन्धन आवश्यक छ।'
समुन्नत रसुवा, समृद्ध रसुवाली निर्माणको महाअभियान सफल बनाउनका लागि पनि गठबन्धनको उमेदवारलाई विजयी गराउन आवश्यक रहेको उनकाे भनाइ छ। कृषि, जलविद्युत, पर्यटन, व्यापार व्यवस्थापनको समन्वयात्मक विकास नै समृद्ध रसुवा निर्माणको आधार भएकाे उनले बताए।
अहिले नौकुण्ड बृहत् खानेपानी योजना निर्माण प्रक्रियाअघि बढेको उल्लेख गर्दै उनले यसका लागि बजेटको सुनिश्चितता गरी अहिले इआइएको प्रक्रियाअघि बढेको बताए।
त्यसैगरी स्याउबारी हुँदै गोसाइकुण्डसम्म पुग्ने रणनितिक सडक निर्माण सुरू भएको र कालिकास्थान–जिवजिवे सडकअन्तर्गत धोवीखोला पुल, भोर्ले–दनुवास्वार–फलाखु खोलामा पक्कि पुल निर्माणको कामअघि बढेको उनले जानकारी दिए।
बाहुनडाँडा–स्यो–ग्रे हुँदै डाँडागाउँ–ठुलोगाउँसम्मको ३० किलोमिटर सडक निर्माणका लागि बजेट व्यवस्थापन गरिएको उल्लेख गर्दै उनले भोर्ले जाने पुल, चिलिमे जाने रोङ्गाको पुलका लागि सम्भाव्यता अध्ययनका लागि बजेट बिनियोजन भएको बताए।
उनका अनुसार सोमदाङ हुँदै टिमुरेसम्मको वैकल्पिक राजमार्गका लागि पहल भैइरहेको छ। भौगोलिक रूपमा पिछडिएको बस्ती तिरूगाउँ सडक सञ्जालमा जोड्न सफल भएको र तिरूमा एकिकृत बस्ति निर्माण गरिएको बताए।
विगतमा कांग्रेस सरकारमा नहुँदा आफूले सारेका योजनाहरू कार्यान्वयन हुन नसकेको बताउँदै उनले कांग्रेस नेतृत्वमा सरकार बनेपछि ती योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको बताए। उनले निर्वाचनपछि बन्ने कांग्रेसको सरकारले घाेषणापत्रमार्फत गरेका सबै प्रतिबद्धता क्रमश पूरा गर्ने बताए।