गोरखा । प्रतिनिधिसभा सदस्यका लागि गोरखा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता तथा पर्यटन व्यवसायी राजेन्द्र बजगाईं र नेकपा एमालेका नेता रामशरण बस्नेत चुनावी प्रतिस्पर्धामा छन् ।
गोरखा क्षेत्र नम्बर १ मा बजगाईं र बस्नेतसहित ८ उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा कांग्रेसका र एमालेबीच नै हुने देखिएको छ । उनीहरू २०७४ को चुनावमा गोरखा–१ (ख) को प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका थिए । गोरखामा एमालेको तुलनामा कांग्रेसको संगठन निकै बलियो छ ।
तर, माओवादी केन्द्रसँँग वाम गठबन्धन गरेका कारण एमालेका बस्नेत १६ हजार ६ सय ५६ मतसहित निर्वाचित हुँदा बजगाईंले १३ हजार १ मत पाएका थिए । तर, यसपटक ठीक उल्टो माओवादीको समर्थन कांग्रेसका उम्मेदवार बजगाईंलाई रहेकाले चुनाव जित्नेमा ढुक्क जस्तै देखिएका छन् ।
गण्डकी प्रदेशमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री भइसकेका रामशरण बस्नेत र लाभको पद अहिलेसम्म नलिएका बजगाईंबीचको चुनावी भिडन्त रोमाञ्चक बन्दै गएको छ ।
विगतका निर्वाचनहरू र ३० वैशाखको स्थानीय तहको चुनावमा पाएको मतका आधारमा गोरखामा माओवादी केन्द्र र कांग्रेस हाराहारीका दल हुन् भने एमालेको निकै मत कम छ । ३० वैशाखको स्थानीय तह निर्वाचनमा स्थानीय तहका वडाका उम्मेदवारले पाएको मतको आधारमा क्षेत्र नम्बर १ मा कांग्रेस पहिलो दल हो ।
कांग्रेस उम्मेदवारले २७ हजार ८४, माओवादी केन्द्रका उम्मेदवारले २५ हजार ४ सय ७२ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवारले १४ हजार ४ सय ६६ मत पाएका छन् । त्यस्तै जनता समाजवादी पार्टीले २ हजार ७ सय ५४ मत पाएको छ र गोरखामा यो पार्टीको अधिकांश हिस्सा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा गएको छ । एकीकृत समाजवादी पार्टीले ७० मत पाएको छ ।
बजगाईं कांग्रेसको १४ औं महाधिवेशनमा जिल्लाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित भएका थिए । क्षेत्र नम्बर १ को उत्तरी क्षेत्रमा आफू परिचित रहेको र गठबन्धनको उम्मेदवार भएकाले सहज जित्ने बजगाईको दाबी छ । ‘गठबन्धनका कारण पनि म पहिलेभन्दा बलियो छु’, बजगाईंले भने ।
‘पहिले देखिनै विकासका लागि राजनीति भन्ने नारा नै तय गरेको विकासलाई जनताको घरसम्म जोड्ने काममा लाग्ने दाबी बजगाइँको छ। रोजगारी, विकास र समृद्धिनै हो, बुढीगण्डकी आयोजना मेरो मुख्य प्राथमिकतामा रहेको छ,’ उनले भने।
एमाले सरकार गोरखाको समृद्धिसँग जोडिएको १२ सय मेगावाट क्षमताको बूढीगण्डकी आयोजना अलपत्र पार्ने काम गरेकोले अव सोही कार्यलाई अगाडि बढाउने आफ्नो प्रमुख काम भएको समेत बजगाईंले बताए । चीनको सिमानादेखि ठोरीसम्मको बाटो निर्माण गरेर व्यापारिक केन्द्र बनाउने र पर्यटन क्षेत्रको विकासमा मुख्य जोड दिने बजगाईंले बताए । गोरखा–१ मा १ लाख १५ हजार ३ सय ९७ मतदाता छन् ।
बजगाईंले बालुवाटारमा होटल वर्णवास निर्माण गरिरहेका छन् । १ अर्ब १६ करोड लगानीमा निर्माण भइरहेको होटल अबको केही महिनामै सञ्चालनको तयारी रहेको छ । बजगाईंले वर्णवास म्युजियम होटलको रुपमा निर्माण गरिरहेका छन् ।
अहिलेकै अवस्थाको मतपरिणामको अंकगणित हेर्दा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूको जित सुनिश्चित देखिन्छ । यद्यपि अंकगणितलाई भन्दा भूगोलका जनताको विकासप्रतिको चाहाना, गठबन्धनप्रतिको वितृष्णा जनताको मत पाएर आफूले जित्ने बस्नेत दाबी गर्छन् ।