काठमाडौं। लगानी बोर्डले चक्रपथमा इलेक्ट्रिक बस ‘र्यापिड ट्रान्जिट (इबीआरटी) को सम्भाव्यता अध्ययन र सञ्चालनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।
बोर्डले आइतबार सूचना जारी गर्दै र्यापिड ट्रान्जिट बस सञ्चालनका लागि बोलपत्र आह्वान गरेको हो। इच्छुक कम्पनीले मंसिर २६ गते अर्थात् डिसेम्बर १२ सम्म आवेदन दिन सक्नेछन्।
अध्यनका लागि छनोटमा परेको कम्पनीले १८ महिना भित्र चक्रपथमा र्यापिड ट्रान्जिट बस सञ्चालनको विषयमा अध्ययन गरेर प्रतिवेदन गर्नुपर्ने बताइएको छ।
उक्त बस सञ्चालन पछि सार्वजनिक सवारीसाधनको सेवा स्तरोन्नति, यात्रा अवधि घटाउने, सडक सुरक्षा, सार्वजनिक सवारीसाधनको सहज उपलब्धता, विश्वासनीयता बढाउन विश्वास बोर्डको छ। बोर्डका अनुसार यो व्यवस्था गर्नका लागि २० अर्ब १९ करोड रूपैयाँ लाग्ने अनुमान छ।
चक्रपथको २७.३० किलोमिटरमा इआबीरटी लागू गर्नका लागि अध्ययन गर्न लागिएको हो। चक्रपथको एउटा लेन विद्युतीय बसका लागि मात्र छुट्याइनेछ। बोर्डको योजना अनुसार मोर्डन बस स्टप र टर्मिनल, स्मार्ट टिकेटिङ हुनेछ।
त्यस्तै निर्माण, संचालन र व्यवस्थापन निजी क्षेत्रले गर्नेछ। पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार ७५ वटा बस टर्मिनल र २७ वटा स्टेसनहरू रहनेछन्।