काठमाडौं। पछिल्लो समय नेपालमा नियमित रेल सञ्चालन २०७८ चैत २० गतेबाट भएको हो। रेल सञ्चालन गर्न नेपालमा दक्ष जनशक्ति नहुँदा भारतबाट कर्मचारी ल्याएर २ वटा रेल सञ्चालन भइरहका छन्।
नेपाल रेल्वे कम्पनीका अनुसार २४ जना भारतीय कर्मचारीले नेपालमा रेल चलाएका छन्। भारतको कन्कोर रेल्वे करपाेरेसन (केआरसिएल) सँगको सम्झौताअनुसार आगामी मंसिरबाट भारतीय कर्मचारीले नेपालमा काम गर्ने समयावधि सकिदैछ।
त्यसपछि उनीहरू आफ्नो देश फिर्ता हुने छन्। यता नेपाललाई भने रेल चलाउन सक्ने नयाँ जनशक्ति तयार गर्नुपर्ने चुनौती छ। तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयदेखि नेपाल रेल्वे कम्पनी र रेल विभागले हालसम्म जनशक्ति तयार गर्न सकेका छैनन्।
तालिम दिएमा सामान्यतया २ महिनामा रेल चलाउन सकिने जानकारवाला बताउँछन्। तर, नेपालमा निरन्तर रेल सञ्चालन भएको डेढ वर्ष बितिसक्दा पनि सरकारले जनशक्ति तयारी गरेको छैन।
बरू नेपाल रेल्वे कम्पनीले भारतमा रेल चलाएर अवकास प्राप्त नेपाली कर्मचारीको खोजी सुरू गरेको छ। यस अघि रेल विभागका २ जना कर्मचारीले रेल सञ्चालनको तालिम लिन इच्छा देखाए पनि पाएका छैनन्। तालिम लिन कम्तिमा पनि १० जना हुनुपर्ने भए पनि इच्छुकको संख्या कम हुँदा ति २ जनाले तालिम लिन नपाएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झा बताउँछन्।
सोही कारण नयाँ जनशक्ति तयार गर्ने सरकरको योजना तत्कालका लागि सफल हुन सकेको छैन। सरकारले भारतमा रेल चलाएर अवकास प्राप्त गरी बसेका नेपाली नागरिकलाई लक्षित गरी कात्तिक तेस्रो साता सूचना जारी गर्ने तायारी गरेको छ।
भरतमा रेल चलाएर अवकास प्राप्त नेपाली नागरिकले सो सूचनाका आधारमा कम्पनीमा सम्पर्क गर्न सक्ने महाप्रबन्धक झा बताउँछन्। हाल नेपालमा अवकास प्राप्त एक जना रेल चालक रहेको जानकारीमा आएको उनको भनाइ छ।
ऋवकास प्राप्त व्यक्तिले करिब डेढ वर्ष पहिला भारतबाट अवकास प्राप्त गरेको बताइएको छ। तर, उनको घर कहाँ ? उनको सम्पर्कमा अरू रेल सञ्चालन गर्न सक्ने भए/नभएको विषयमा भने कुनै जानकारी नभएको झाले बताए।
‘हामीले खोजी गछौं उहाँका बारेमा र अब सूचना पनि निकाल्छौं अवकास प्राप्त कर्मचारीलाई भर्ना गर्ने भनेर’ उनले भने। झाका अनुसार कात्तिकको तेस्रो साता उक्त सूचना प्रकाशित हुने र ३० दिनको म्याद रहने छ।
यदि रेल चलाउन सक्ने ४ जना व्यक्ति नेपालमा नभेटिए भारतीय रेल कम्पनी केआरसिएलसँगको सम्झौता थप गर्नुपर्ने झाले बताए। ‘पहिलो प्राथमिकता अवकास प्राप्त कर्मचारीलाई रहन्छ त्यस पछि सम्झौता थप गर्नुको विकल्प हामीसँग छैन’ उनले भने।
नेपालमा रेलको क्षेत्रमा काम गर्दै आएका २४ जना भारतीयमध्ये ६ जनाले रेल चलाउने काम गर्छन्। रेल सञ्चालनको सुरूवाती समयमा २ वटा रेल चलाउन ६ जना आवश्यक भए पनि अब ४ जना चालक भएमा पुग्ने झा बताउँछन्।
उनी भन्छन्, ‘नयाँ र भखर्रै रेल चलाएर ६ जना चाहिएको हो, ति जनाले रेल चलाउने मात्रै होइन मर्मतको काममा पनि सघाउँछन्। अब रेल चलाएको धेरै भयोमर्मत गर्नुपर्ने कम हुन्छ त्यसैले ४ जना भए २ वटा रेल चलाउन सकिन्छ।’
भारतीय कर्मचारीका भरमा रेल चलाउँदा नेपालले उनीहरूका लागि तलब भत्तामा वार्षिक ३ करोड रूपैयाँ तिर्दै आएको छ। त्यस्तै रेलमर्मत तथा वासिङ गर्न पनि भारतकै भर गर्दालगायतमा थप ४८ करोड रूपैयाँ खर्च भइरहेको छ। सो रकम विदेशिनबाट बचाउनको लागि नेपालमै वासिङ सेन्टर सञ्चालन गर्नुपर्ने प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले जनाएको छ।
तर, सो विषयमा पनि कुनै काम हुन सकेको छैन। त्यसबाहेक नेपालले नेपालमा रेल सञ्चालन भएदेखि रेल्वे इन्धन खरिदमा वार्षिक २ करोड १० लाख रूपैयाँ खर्च गर्दै आएको छ।