काठमाडौं। ४९ वर्ष लामो विरासत बोकको नाङ्लो रेष्टुरेन्ट पुनः सञ्चालनमा आएको छ। आधिकारीक रूपमा सन् १९७८ मा स्थापना भएको चाइनिज रूम ‘नाङ्लो’ रेष्टुरेन्ट बन्द भएको लगभग आठ वर्षपछि पुनः सञ्चालनमा आएको हो।
दरबारमार्गमा सञ्लालन हुँदै आएको रेष्टुरेन्ट सन् २०१४ पुसमा बन्द भएको थियो। हाल सो रेष्टुरेन्ट पहिलेको भन्दा दुई सय मिटरमाथि दरबार मार्ग मै सञ्चालनमा आएको छ।
रेष्टुरेन्टका प्रबन्धक गोपाल सुन्दरलाल कक्षपतिले एक साता अघिबाट रेष्टुरेन्ट सञ्चालनमा आएको भए पनि आइतबार पत्रकार सम्मेलन गरेर औपचारीक रूपमा रेष्टुरेन्ट पुनः सञ्चालन गरेको जानकारी दिए।
हाल पुनः सञ्चालनमा आएको रेष्टुरेन्टको ५४ सिट क्षमताको छ। रेष्टुरेन्टमा इन्ड्रो चाइनिज खानालाई दोहोराएर र समयअनुसारको नयाँ खाना थपेर सञ्चालनमा ल्याएको कक्षपतिले जानकारी दिए। उनले स्वेसन खाना पनि थपिएको र ग्राहकको रूचीलाई मध्यनजर गर्दै थप खाना थपिने प्रतिक्रिया दिए।
‘पुराना ग्राहक आएर रेष्टुरेन्ट पुनः सञ्चालन गर्नुभएको भन्दै बधाई दिनुभएको छ,’ प्रबन्धक कक्षपतिले भने ‘आएका ग्राहकले खानाको स्वाद पनि पुरानै र आकर्षक भएको प्रतिक्रिया दिइरहनु भएकाे छ।’ उनका अनुसार पुनः सञ्चालनमा आएको पहिलो सातामा नयाँको साथमा पुराना ग्राहक आएका छन् र पुरानाले पुनः सञ्चालनमा आएकोप्रति खुसी व्यक्त गरिरहेका छन्।
बाह्य र आन्तरिक पर्यटकलाई ध्यानमा राखेर हाल रेष्टुरेन्ट पुनः स्ञ्चालनमा ल्याइएको उनले जानकारी दिए। बुवा नेपाली र आमा चाइनीज भएको कक्षपतिको परिवारले सन् १९७३ मा नै रत्नपार्कमा क्याफे सञ्चालनमा ल्याएका थिए। त्यसको केही वर्षपछि सन् १९७६ मा दाजुभाई श्यामसुन्दरलाल कक्षपति र गोपाल सुन्दरलाल कक्षपतिले दरबारमार्गमा नाङ्लो क्याफे एन्ड पब सञ्चाल गरेको थिए।
त्यसैलाई १९७८ मा औपचारिक रूपमा चाइनिज रूमको रूपमा सञ्चालनमा ल्याइएको हो। सन् २०१४ मा घरधनीले घरभाडाको कन्ट्र्याकको अवधि बढाउन नमान्दा रेष्टुरेन्ट बन्द भएको थियो।