फाक्दिङ (सोलुखुम्बु)। ठिक ६ वर्षअघि (२०७२) को कुरा हो। जब विनाशकारी भूकम्पले लाखौंलाई घरबारविहीन बनायो। त्यो बेला पर्यटन व्यवसायी फूर्वाग्याल्जे शेर्पा पनि आफूले सकेको सहयोेग लिएर गाउँबस्ती पसे। उनले अरूसँग सहयोग मागेनन्।
आफ्नो कम्पनी हिमालयन शेर्पा एडभेन्चर स्थापना (१८ वर्ष) अघिदेखि नै प्रतिविदेशी १० अमेरिकी डलर जम्मा गर्दै आएका थिए। जुन पैसा कुनै बेला मुलुकमा ठूलो विपत आइपरे मात्र चलाउने सोच बनाएका थिए।
व्यवसाय सुरु गरेदेखि नै जम्मा गरेर राखेको त्यो पैसा झन्डै १ करोड ९० लाखभन्दा बढी भइसकेको थियो। उनी त्यही पैसा झिकेर आवश्यक राहत सामग्री लिएर गाउँबस्ती पुगे। आफ्नो जन्मथलो सोलुखुम्बुमा पनि राहतसहित स्वास्थ्य उपचार लिएर पुगे। जब उनी गाउँ पुगे, धेरै गाउँले घाइते अवस्थामा थिए। त्यो बेला उपचारभन्दा उनीहरूको ठूलो भनेको घर बनाउने नै थियो।
तर, उनले उपचारमा सहयोग गर्न निःशुल्क क्लिनिक सञ्चालन गरे। जहाँ स्थानीयले सहज उपचार गर्न पाए। डेढ वर्षजति क्लिनिक सञ्चालन गरिसकेका शेर्पा जब गाउँ आए त्यो बेला सबै स्थानीय खादा र माला लिएर स्वागतमा बसेको देखे। त्यो बेला उनको मनमा आफूले सञ्चालन गरेको क्लिनिकमा लिएको सुविधाले गाउँले खुसी भएर स्वागत गर्न आएको होला भन्ने सोच बनाए।
जब उनीहरूले खादा लाइसकेपछि फरक किसिमको माग अघि सारे। ‘यहाँ १० हजारभन्दा बढी जनसंख्या रहेको बस्ती छ, तर सुविधासम्पन्न अस्पताल एउटा पनि नरहँदा धेरै समस्यामा परियो, त्यो पूरा गरिदिनुप¥यो,’ स्थानीयको त्यो अनुरोध उनले अस्विकार गर्ने कुनै ठाउँ नै देखेनन् र वाचा गरे, ‘म यहाँ एउटा अस्पताल बनाइदिन्छु।’
त्यसबेलासम्म उनले यसअघि जम्मा गरेको पैसामध्ये ८०/९० लाख खर्च गरिसकेका थिए। संयोग भन्नुपर्छ, उनका सहयोगी र कर्मचारीले सामाजिक सञ्जालमा राहत बाँडेका धेरै फोटो पोस्ट गरेपछि विशेष गरी जर्मनीमा रहेका साथीहरूले उनलाई इमेलमार्फत धन्यवाद दिँदै आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धतापत्र पठाउन थाले।
जर्मनीबाट मात्र त्यो बेला १ करोड ५० लाखभन्दा बढी रकम सहयोग पाए। त्यही पैसा बोकेर उनी अस्पताल बनाउने अभियानमा अघि बढे। अस्पताललाई आवश्यक जग्गासमेत आफैं दिए।
उनको रिसोर्टसँगै जोडिएको दुई रोपनी जग्गा हिमालयन शेर्पा फाउन्डेसनमार्फत अस्पताललाई छुट्टाएर सन् २०१७ मा शिल्यान्यास गराए। २०१९ मै पूरा गर्ने लक्ष्यसाथ निर्माण अगाडि बढाएको भए पनि कोभिडका कारण ढिलाइ भएको अस्पतालको आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्।
२० करोड लगानीमा १५ बेडको अस्पताल
स्थानीयसँग गरेको वाचाअनुसार करिब २० करोड रुपैयाँ लगानी गरेर खुम्बु पासाङल्हामु गाउँपालिकामा १५ बेडको अस्पताल सञ्चालनमा आएको छ। स्थानीयलाई निःशुल्क उपचार गराउने उद्देश्यसाथ सञ्चालनमा आएको उक्त अस्पतालमा चौबिसै घन्टा सुविधा पाइन्छ।
अस्पताल निर्माण गर्न जर्मन नागरिक डा. मथेस बाउमेनबाट ५ करोड र अन्य सहयोगीबाट २ करोड रुपैयाँ प्राप्त भएको र बाँकी शेर्पा आफैंले खोजेका थिए।
अस्पताल निर्माण भएपछि सामान्य उपचारका लागि चार घन्टा हिँडेर लुक्ला र ६ घन्टा हिँडेर नाम्चेसम्मको यात्रा गर्नुपर्ने बाध्यता हटेको छ। त्यतिमात्र नभई हिमाल आरोहण र ट्रेकिङ गर्न आउने पर्यटकलाई लेक लाग्ने (अल्टिच्युड सिक्नेस) भएकालाई समेत उपचारका लागि सहयोग पुग्ने अध्यक्ष शेर्पाको भनाइ छ।
अहिले अल्टिच्युड सिक्नेस भएका बिरामीलाई बीचबाटै काठमाडौं लैजानुपर्ने बाध्यता रहेको र उनीहरूको गन्तव्यसम्म पुग्ने लक्ष्यमा समेत रोक लाग्ने भएकाले हिमालयन शेर्पा अस्पतालमा उपचार सेवा सुरु गर्ने तयारी रहेको जनाइएको छ।
अल्टिच्युड, फुडपोइजन र चोटपटक लागेका विदेशीलाई समेत उपचारमा सहयोग पुग्ने अपेक्षा अस्पतालको छ। अस्पतालमा छिट्टै अक्सिजन प्लान्टसमेत राख्ने तयारी भइरहेको छ। हालसम्म १९ करोड खर्च भइसकेको र थप १ करोड लगानी गरेर सुविधासम्पन्न बनाउने घोषणा शेर्पाले गरिसकेका छन्। हालसम्म लुक्लामा अक्सिजन प्लान्ट छैन।
स्थानीयलाई निःशुल्क
फान्डेसनका उपाध्यक्ष कान्छीफुटी शेर्पाले अस्पताल सञ्चालन गरेर नाफा कमाउने कुनै सोच नरहेको बताइन्। स्थानीयलाई निःशुल्क उपचार गराउने र विदेशीलाई पनि सुलभ मूल्यमा उपचार गराउने उद्देश्य रहेको बताइन्। उपचारबाट आउने रकम फाउन्डेसनका नाममा रहने जनाएको छ। अस्पतालमा कार्यरत चिकित्सकहरूलाई समेत सेवा सुविधाको व्यवस्था फाउन्डेसनले नै गर्दै आएको छ। अस्पतालबाट ११ गाउँका स्थानीय लाभान्वित हुनेछन्।
पूरा भयो सपना
अस्पताल बनाएर स्थानीयलाई सहयोग गर्ने सपना फूर्वाले लामो समयदेखि देखेका थिए। सामान्य उपचारका लागि समेत घन्टौं हिँड्नुपर्ने र मौसम खराब हुँदा काठमाडौंसम्म लैजान समस्या भएको उनले प्रत्यक्ष देखेका थिए। त्यसैले पनि उनी यो ठाउँमा अस्पताल बनाउने सपना भने बुनिरहेका थिए। मात्र, संयोग जुरेको थिएन।
‘म उकालो ओरालो यात्रा गर्दा कैयौंपटक बाटोमा अलपत्र परेको बिरामी देखेको छु र बिरामी र तिनका आफन्तका आँखामा आँसु देख्दा मनमा एक किसिमको पीडाबोध हुन्थ्यो,’ शेर्पाले भने, ‘त्यो पीडामा आज थोरै भए पनि मल्हम लगाउन पाएको छु। अस्पताल बनाउने सपना पूरा भयो। स्थानीयको मुहारमा थोरै खुसी ल्याउन सफल भएजस्तो लाग्छ।’
एक बोरा सिमेन्टको ८ हजार
अस्पताल निर्माण गर्न एक बोरा सिमेन्टका लागि ८ हजार रुपैयाँ खर्च भएको छ। सडक पूर्वाधार नभएका कारण हेलिकोप्टर र जहाजमार्फत ल्याउनुपर्ने भएकाले ५ देखि ६ सय रुपैयाँमा पाउने सिमेन्ट फाक्दिङसम्म ल्याइपु¥याउँदा ८ हजार परेको अध्यक्ष शेर्पाको भनाइ छ।
अस्पताल निर्माण गर्न ३ हजार २ सय बोरा सिमेन्ट ल्याएको उनले बताए। योसँगै रडसहित अन्य आवश्यक सामाग्रीसमेत महँगो मूल्य तिर्नुपरेको उनले बताए।
खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले विकट क्षेत्रमा अस्पतालको आवश्यकता रहेका बेला हिमालयन शेर्पा फाउण्डेशनले स्थापना गरेको यस अस्पतालबाट नागरिकलाई ठूलो राहत पुगेको बताए। यसबाट गाउँपालिकाका ११ वटा गाउँका १० हजारभन्दा बढी नागरिकलाई उपचार गर्न सहज हुने बताए।
आर्थिक अवस्था कमजोर भएको गाउँपालिकामा बिरामी उपचार गर्न समस्या भएका बेला अस्पताल स्थापना हुँदा स्थानीयलाई राहत मिलेको उनले उल्लेख गरे। सबैभन्दा बढी फाइदा स्थानीयका साथै यहाँ घुम्न आउने पर्यटकलाई भएको उनको भनाइ थियो ।