कृष्णबहादुर कार्कीलेले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को नेतृत्व हाँकेको नौ महिना पुग्न लागेको छ। सरकारले २०७८ माघ २० मा कार्कीलाई नेप्सेको प्रमुख कार्यकारी अधिृकत (सिइओ) नियुक्त गरेको थियो। सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि चन्द्रसिंह साउदले कार्यकाल सकिनु एक महिनाअघि नै नेप्से सिइओबाट राजीनामा दिएका थिए। साउदको राजीनामा आएको केही महिनामा सरकारले कार्कीलाई नेप्सेको जिम्मेवारी दिएको थियो।
कार्कीले जिम्मेवारी लिएको करिब नौ महिनामा नेप्सेले ब्रोकरलाई नयाँ ‘टिएमएस’ दिनेदेखि नेपालमा सेक्युरिटिज बाहेकका ‘प्रडक्ट’ ल्याउने अध्ययन गरिरहेको छ।
सार्वजनिक प्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेका नेप्से सिइओ कार्कीसँग नयाँ स्टक एक्सचेन्जमा जारी विवाद, धितोपत्र बोर्डसँग चलिरहेको ‘द्वन्द्व’, सर्वसाधारण लगानीकर्ताका हित, नेप्से निजीरकरण, प्रतिस्पर्धा, नीतिगत समस्यालगायत विषयमा क्यापिटल नेपालका आकाश बोगटीले गरेको वार्ता:
तपाईंले नेप्सेको जिम्मेवारी सम्हालेको करिब नौ महिना पुग्न लाग्यो। अहिलेसम्म के–के काम भए?
हाम्रो धेरै समय दैनिक कार्यमा बितिरहेको छ। दैनिक कार्य निरन्तर भइरहेका छन्। नेप्सेमा दिनहुँ कम्पनी लिस्टिङ, कारोबार हुन्छ। शाखासम्बन्धी, प्रमोटर सेयरसम्बन्धी कारोबार हुन्छ। सभिर्लियन्स, अकाउन्टलगायत मानव संशाधनका काम निरन्तर भइरहेका छन्। चुनौतीका रूपमा देखिएको सिस्टम हो। सिस्टम पाँच वर्षको हुन्छ। २०७५ सालमा जोडिएको सिस्टम करिब पाँच वर्ष पुग्न लाग्यो। म आइसकेपछि सिस्टममा आउने समस्या अपग्रेड गर्ने काम प्राथमिकतामा राखेर गरेको छु।
सिस्टम अपग्रेड गर्ने काम करिब ९७ प्रतिशत पूरा भइसकेको अवस्था थियो। त्यसलाई मध्यनजर गर्दै अध्ययन अघि बढाउन टेन्डर गरेर अहिले हामी अपग्रेडेसनमा लागिरहेका छौं। अपग्रेडेसनको काम अन्तिम चरणमा पुगेको छ।
म आइसकेपछि नेपाल धितोपत्र बोर्डबाट कारोबार व्यवस्थापन विनियमावली संशोधन गरी टिएमएस दिने गरी काम भइरहेको छ। ब्रोकरलाई सृदृढ, निष्पक्ष बनाउन नयाँ टिएमएस प्रणाली अगाडि बढाएका हौं। ब्रोकरलाई छुट्टै नयाँ टिएमएस दिने कामका मध्यतिर पुगेका छौं।
ब्रोकर साथीहरूले काम सम्पन्न गरिसक्यांै भनेर नेप्सेमा विदेदन दिएका छन्। हाम्रो प्राविधिक टोलीले निरिक्षण गरी सुपरीवेक्षण भइसकेपछि नयाँ टिएमएसको काम सम्पन्न हुन्छ।
नेपालको क्यापिटल मार्केटमा सेक्युरिटिजको मात्र काम भइरहेको अवस्था छ। हामीले सेक्युरिटिजमात्र नभएर अन्य डेरिभेटिभ प्रडक्ट कारोबार कसरी गर्न सकिन्छ भनेर अध्ययन सुरु गरेका छौं। गत असारमा हामी भारतको बम्बे स्टक एक्सचेन्ज पनि गयौं। बम्बे स्टक एक्सचेन्जमा अन्य प्रडक्ट कारोबार कसरी भइरहेको छ भन्ने विषयमा छलफल पनि गर्यौं।
त्यसपछि बम्बे स्टक एक्सचेन्जका विज्ञ बोलाएर दुई दिने गोष्ठी पनि गरेका थियौं। डेरिभेटिभ प्रडक्ट कारोबार गर्न मिल्ने गरी काम अगाडि बढाइरहेका छौं।
विगतमा मार्जिन लेन्डिङलगायत कामका नीतिगत स्वीकृति भए पनि कार्यान्वयन हुन सकेको थिएन। अहिले ब्रोकर साथीहरूलाई तत्काल मार्जिन कारोबार कार्यान्वयन गर्न पत्राचार गरेका छौं। ब्रोकर साथीहरू पनि त्यसका लागि अग्रसर भएको अवस्था छ। तर, अप्रेसनमा आइसकेको अवस्था छैन। अप्रेसनमा छिट्टै आउँछ भन्ने आसा गरेका छौं।
अहिले नेप्सेको मुख्य प्राथमिकता सिस्टममा फड्को मार्नुपर्छ भन्ने हो। हाम्रो सिस्टमलाई सुदृढ गर्दै जानुपर्छ र त्यहीअनुसार काम भइरहेको छ।
हाम्रो सादा बजारी आइटी सिस्टमलाई रिप्लेस पनि गर्नुपर्छ भन्ने लागेको छ। त्यसको अध्ययन गरिरहेका छौं। साथै कार्य प्रणालीलाई छिटो छरितो पार्न हामी उन्मुख छौं। नयाँ टिएमएस कहिलेबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ?
नयाँ टिएमएसका लागि हामीले मात्र छिटो गर्न खोजेर हुँदैन। ब्रोकरका सिस्टम पनि तयार हुनुपर्छ। हाम्रो प्राविधिक टोलीलाई निरिक्षण गर्न पठाउँछौं। ब्रोकर साथीहरूले सिस्टम तयार पारेको देखिएपछि नयाँ टिएमएस दिन्छौं।
नेपाल धितोपत्र बोर्ड र नेप्सेबीचको ‘टसल’ (द्वन्द्व) कहिलेसम्म चलिरहन्छ? बोर्ड र नेप्सेको टसलका कारण लगानीकर्ता कहिलेसम्म चेपुवामा पर्नुपर्ने हो?
सबैभन्दा पहिलो कुरा, धितोपत्र बोर्ड र नेप्नेबीच कुनै लफडा छैन। बोर्ड र नेप्सेको कार्यक्षेत्र स्पष्ट छ। नेप्से बजार सञ्चालक हो। धितोपत्र बोर्ड बजारको पनि र नेप्सेको पनि नियामक निकाय (रेगुलेटर) हो। जसका कारण बोर्ड र नेप्से प्रतिस्पर्धी हुँदै होइन। हामी नियामकले बनाएका नीति र निर्देशनमा रहेर बजार सञ्चालन गर्छौं। यसमा लफडा गर्नुपर्ने र हुनुपर्ने कारण नै छैन।
ब्रोकर लाइसेन्स रोक्न तपाईं खुलेरै लाग्नुभयो, निर्णय गर्न हिचकिचाउनुभयो भन्ने आरोप छ। अर्थमन्त्रीले निर्देशन दिँदा पनि तपाईंले बेवास्ता गर्नुभयो भन्ने छ। वास्तविकता के हो?
विगतका अभ्यास हेरेर यो बुझाइ आएको हुनुपर्छ। तर, अहिले त्यस्तो छैन। बोर्ड अध्ययक्षमा रमेश हमालजी आइसकेपछि व्याक्तिगतरूपमा हामीबीच राम्रो सम्बन्ध छ। कार्यगतरूपमा पनि अत्यन्त राम्रो सम्बन्ध छ। बोर्ड र नेप्सेको लफडा छ भन्ने बुझाइ गलत हो। बजारमा गलत हल्ला फैलियो।
यसमा कुनै सत्यता छैन। नेप्से सरकारी संस्था हो। हामीले सरकारको निर्णयलाई कार्यान्वयन गर्ने हो। सरकारले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) पाँचौ संशोधन नियमावली, २०७९ संशोधन) मा आएका कुरा कार्यान्वयन गर्नुपर्छ भन्नेमा म स्वयं अडिग छु।
नेप्सेमा आएका सबै निवेदनका काम तुरुन्तै गरेका छौं। हामी हिचकिचाउने र बेवास्ता गरेको भन्ने कुरामा कुनै सत्यता छैन।
नयाँ स्टक एक्चेन्ज आउँदा प्रतिस्पर्धा बढ्छ भनेर डराउनुभएको त छैन?
नयाँ स्टक एक्सचेन्ज आउन लाग्यो भनेर हामी डराएका छैनौं। किन डराउनुपर्यो? प्रतिस्पर्धा बढ्नु त राम्रो हो। हामीले त प्रतिस्पर्धामा जान सक्नुपर्छ। हामीले पनि प्रतिस्पर्धामा जान क्षमता बढाउनुपर्छ। टेक्नोलोजीमा सुधार गर्नुपर्छ। कार्यप्रणालीमा सुधार ल्याउनुपर्छ। हामी प्रतिस्पर्धा गर्न तयार छौं। नयाँ स्टकसँग डराउने कुरा छैन। हामी सहजै प्रतिस्पर्धा गर्न सक्छौं।
प्रतिस्पर्धी बन्नुपर्छ भन्नुहुन्छ। नयाँ आउने स्टकको पुँजी ३ अर्ब र नेप्सेको पुँजी १ अर्ब छ। प्रतिस्पर्धा गर्न सकिन्छ?
अन्य देशमा सञ्चालन भइरहेको सिस्टम हामीले पनि ल्याउनुपर्छ र ल्याउने तयारी पनि भइरहेको छ। साथै नयाँ प्रडक्ट ल्याउने गरी छलफल गरिरहेका छौं। व्यवहारगतरूपमा पनि हामीले सुधारिनुपर्छ भन्ने बुझाइ छ। यी सबै कुरामा सुधार आइसकेपछि हामीलाई प्रतिस्पर्धामा जान सहज हुनेछ। हामी सरकारी स्वामित्वको संस्था भएकाले हामीलाई सहजै हुन्छ।
हामीसंँग इन्फ्रास्ट्रक्चर छ। हामीसँग लगानी गर्ने पैसा छ। अनि हामीले डराउनुपर्ने किन? हामी नयाँ स्टक एक्चेन्ज आउँछ भनेर डराउने होइन, प्रतिस्पर्धा गर्न तयार छौं।
नेप्से निजीकरणको बहस २०६४ सालदेखिको हो, तर हालसम्म निजीकरण हुन सकेको छैन। अहिले तपाईंहरू निजीकरणको हल्ला देखाएर नयाँ स्टक ल्याउन हुन्न भन्नेमा लागिरहेको छ भनिन्छ नि?
नेप्से पूर्णसरकारी स्वामित्वको संस्था हो। यहाँको सिइओ, अन्य कर्मचारी अर्को स्टक एक्सचेन्ज ल्याउनु हुन्न भनेर किन लाग्ने? ल्याउनु हुँदैन भनेर लाग्ने कुनै कारण पनि छैन।
हामी नयाँ स्टक ल्याउन हुन्न भन्नेमा छैनौं। सरकारले चाह्यो भने केही सेयर अरू क्षेत्रलाई दिन सकिन्छ भन्ने केही अध्ययनले देखाएका छन्। अध्ययन तयार भएको छ र सरकारलाई बुझाउँछौं। त्यसपछि सरकारले के निर्णय गर्छ, हेरौं।
नयाँ स्टक एक्सचेन्ज आएपछि उसले ३० प्रतिशत सेयर सर्वसाधारण लगानीकर्तालाई जारी गर्ने कुरा छ। नेप्सेले पनि सर्वसाधारण सेयर जारी गर्ने सम्भावना छ र?
प्रतिवेदनले सेयर जारी गर्ने कुरा देखाएको छ। अहिले नै सेयर सर्वसाधारणलाई जारी गर्ने वा नगर्ने त्यो सरकारले निर्णय गर्ला। प्रतिवेदन हामीले सेयर जारी गर्नुपर्ने गरी तयार भएको छ।
संसारका अन्य देशमा पनि दुई–तीनवटा स्टक छन्। नेपालमा दोस्रो स्टक नहुनुपर्ने कुनै कारण देख्नुहुन्छ?
नेपालमा दोस्रो स्टक ल्याउनु हुँदैन भनेकै छैनौं। हामीले नयाँ स्टकसँग प्रतिपर्धा गर्न सक्छौं। हामीले नेपालमा दोस्रो स्टक हुनु हुँदैन भन्न पनि मिल्दैन।
हामीकहाँ सेयर साक्षरता कम हुँदा ठूलाले सानालाई ‘मुर्गा’ बनाउने प्रवृत्ति छ। सेयर साक्षरताका लागि नेप्सेले के कस्ता कार्यक्रम गरिहेको छ?
हामीले सेयर साक्षरताका लागि ग्लोबल मनि विक, फिल्ड बेस कार्यक्रम गरेर पनि काम गरिरहेका छौं। मिडियामार्फत पनि सेयर साक्षरताका कार्यक्रम गरिरहेका छौं। सेयर साक्षरता बिस्तारै बढ्दै गइरहेको छ।
नेप्सेमाथि गलत कार्य गर्ने कम्पनीलाई कारबाही गर्न सक्दैन भन्ने आरोपबारे के भन्नुहुन्छ?
हामीलाई धेरै कारबाही गर्ने अधिकार नै हुँदैन। हामीले गलत कार्य गरिरहेको कम्पनीलाई कारबाही गर्न बोर्डलाई सिफारिस पठाउँछौं। कतिपय सिफारिस पठाएका पनि छौं। हामीले कुनै कम्पनीले गलत गरेको भेट्टाएपछि त्यसको अध्ययन गरेर बोर्डलाई सिफारिस गर्ने हो। हामीलाई कम्पनी र ब्रोकरलाई कारबाही गर्ने अधिकार हुँदैन।
सेयर बजार लामो समयदेखि निरन्तर घटदै गइरहेको छ। यस्तो अवस्थामा लगानीकर्ताले लगानी गर्दा के–के कुरामा ध्यान दिएर लगानी गर्दा उपयुक्त हुन्छ?
अहिले लगानीकर्ता आफैंमा जानकार छन्। अहिले सबैले अध्ययन विश्लेषण गरेर लगानी गरिरहेका छन्। लगानीकर्ताले लगानी गर्दा अर्थतन्त्रको अवस्था कस्तो छ? अर्थतन्त्र कता गइरहेको छ? तरलताको उपलब्धता कस्तो छ? ब्याजदर कसरी गएको छ? लगानीकर्ताको मनोविज्ञान के छ? यी कुरा गहन र सूक्ष्मरूपमा अध्ययन विश्लेषण गरेर लगानी गर्नुपर्ने हुन्छ।
यी कुरा नै निर्णायक हुन्छन्। अहिले विश्वको सेयरबजार घटिरहेको नै छ। यसबीचमा रुस–युक्रेन युद्ध, कोभिडको असरले प्रायः सबै देशको अर्थतन्त्रमा असर पर्नासाथ सेयरबजारमा पनि प¥यो।
हामी पनि त्यसबाट अछुतो रहन सकेनांै। यी सबै कुरा सुध्रिँदै जाँदा सेयरबजार पनि सुध्रिँदै जाने हो। अहिले धैर्य गर्ने बेला पनि हो। सेयर बजारमा लगानी गर्दा हल्लाका भरमा चाहिँ लगानी गर्नु हुँदैन। सम्पूर्ण कुरा मनन गरी लगानी गर्न सकिन्छ।