काठमाडौं। विश्वमा नयाँ प्रविधि विकास तीव्र गतिमा भइरहेको छ। सूचना प्रविधि विकाससँगै यसमा रमाउनेको संख्या पनि उच्च दरले बढिरहेको छ।
सूचना प्रविधि तथा सामाजिक सञ्जालसँग मानिसको सम्बन्ध झन् प्रगाढ बन्दै गएको छ। आधुनिक प्रविधिसँग मानिस प्रत्येक दिन अभ्यस्त बन्दै गएका छन्।
यसैबीच मुलुकमा आगामी मंसिर ४ गतेलाई तय भएको संघ र प्रदेशसभा निर्वाचन aनजिकिएसँगै उम्मेदवारका लागि मतदाताको नजिक पुग्ने महत्वपूर्ण हतियार (माध्यम) का रूपमा सूचना प्रविधि र सामाजिक सञ्जाल बनेको छ।
निर्वाचन मिति नजिकिँदै गएका बेला दल, तिनका नेता तथा उम्मेदवार सकेसम्म मतदाताको निकटतमका रूपमा प्रस्तुत हुने प्रयास गरिरहेका छन्। हरेक निर्वाचनका बेला नेताहरू प्रत्येक मतदाताका घर पुग्न प्रयासरत हुन्छन्। भौगोलिकलगायत कारण उनीहरू प्रत्येक घर पुग्न निकै कठिन हुने अवस्था छ।
तर, यस्तो अवस्थाको अन्त्य लगभग भएको छ। हाल उम्मेदवारहरू आधुनिक सूचना प्रविधिका माध्यमबाट मतदाताको घर–घर पुग्न थालेका छन्।
सूचना प्रविधिको प्रयोग गरेर नेताहरू सामाजिक सञ्जालमार्फत घर–घर तथा व्यक्ति–व्यक्तिमा पुग्ने होडबाजी नै चलेको छ। नेता/उम्मेदवारहरू आफूले विगतमा गरेका कामदेखि भविष्यमा गर्ने योजनालाई आकर्षक ढंगबाट प्रस्तुत गरेर मतदातालाई आफूतर्फ तान्न तल्लिन देखिन्छन्। कतिपय नेताले आफू सांसद बनेपछि सडक तथा अन्य विकासका काम व्यापक गरेको भन्दै ‘ड्रोन’ प्रयोग गरी भिडियो बनाएर अब बाँकी विकासका काम गर्न आफूलाई पुनः जिताएर पठाउन पनि आह्वान गरिरहेका छन्।
गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा पनि सामाजिक सञ्जाल प्रयोग गरेर थुप्रैले सफलता हात पारे। स्वतन्त्रबाट उम्मेदवारी दिएर काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित बालेन साह यसका एक उदाहरण हुन्। उनी काठमाडौंका सबै मतदाताका घरमा आफैं पुग्न सकेनन्। तर, सामाजिक सञ्जालका माध्यमबाट प्रत्येक व्यक्ति–व्यक्तिमा पुगे। मेयर साहले सामाजिक सञ्जालमा विभिन्न अभियान नै चलाउनेदेखि लिएर ‘रुटिन अफ नेपाल बन्द’ तथा विभिन्न माध्यम प्रयोग गरी मतदातालाई आकर्षित गरेका थिए। सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उनलाई ठूलो समर्थन गरे, जसका कारण उनी देशका प्रमुख पार्टीले आफ्नो प्रतिष्ठाको केन्द्र मान्ने संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरको प्रमुखमा विजयी भए।
एमाले नेताले प्राविधिलाई यसरी बनाइरहेका छन् निर्वाचनमुखी
नेकपा (एमाले) आगामी निर्वाचन घोषणापत्र सार्वजनिक गर्दा नै सूचना–प्रविधिको उच्चतम् प्रयोग गर्ने प्रयास ग¥यो। काठमाडौंको याक एन्ड यती होटलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘फिंगर स्क्यान’ गरेर डिजिटल्ली पार्टीको घोषणापत्र सार्वजनिक गरेका थिए।
एमालेले श्रव्यदृश्य सामग्रीका माध्यमबाट आफ्ना प्रमुख अजेन्डा प्रस्तुत गरेर आफू प्रविधि प्रयोगमा अरूभन्दा अब्बल रहेको सन्देश दियो।
निर्वाचन लक्ष्य गरी ओलीले आफ्नो आधिकारिक फेसबुक पेजबाट विभिन्न सामग्री पोस्ट र सेयर गरिरहेका छन्। उनले आफूहरूले गरेका काम र अब गर्ने योजना उल्लिखित भिडियो, लिखित सामग्री सेयर गर्दै मतदातासँग मत मागिरहेका छन्।
त्यस्तै आफ्नो कार्यकालमा बनेका विभिन्न पूर्वाधार विकासका कामलाई पार्टीको पेज तथा विभिन्न अन्य पेजमार्फत नागरिक सामु पठाउन अग्रसर भइरहेको एमाले देखिन्छ। त्यस्तै एमाले नेताहरू महेश बस्नेत, गोकुल बाँस्कोटा, योगेश भट्टराई, विशाल भट्टराईलगायतले एमाले र आफूलाई किन मतदान गर्ने, अरूलाई किन मतदान नगर्ने जस्ता विषय समेटेर सामाजिक सञ्जालमा प्रस्तुत गरी मतदाता आकर्षित गरिरहेका छन्।
त्यसैगरी पार्टीका तर्फबाट टिकट पाएका उम्मेदवार तथा नेता, कार्यकर्ता पनि सामाजिक सञ्जालका माध्यमबाट मतदाता आकर्षित गर्न क्रियाशील छन्।
सामाजिक सञ्जालबाटै मतदाता आकर्षित गर्दै कांग्रेस उम्मेदवार
नेपाली कांग्रेसले पनि आगामी निर्वाचन लक्ष्य गरी सामाजिक सञ्जालबाट मतदाता आकर्षित गर्ने काम गरिरहेको छ। विशेषगरी कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगनकुमार थापा आफूले गएको पाँच वर्ष सांसद रहँदा हासिल गरेका उपलब्धीलाई एउटा छुट्टै अभियानका रूपमा सञ्चालन गरिरहेका छन्।
उनले सामाजिक सञ्जालमार्फत आफूलाई पूर्वाधार, स्वास्थ्य, सडकलगायत विषयमा भिन्न–भिन्न पोस्ट गरी नागरिकलाई प्रश्न पठाउन लगाएर त्यसको उत्तर दिइरहेका छन्।
सडकका विषयमा नागरिकले पठाएको प्रश्नमा उनले ड्रोन प्रयोग गरेर आफ्नो क्षेत्रभित्रका सडकको अवस्थाबारे भिडियो बनाएर प्रस्तुत गरेका छन्। उनले स्वास्थ्य, खहरे, पहिरोलगायत विषयमा पनि आमनागरिकको प्रश्न माग्दै हासिल गरेका उपलब्धी उल्लेख गरेर भिडियो प्रस्तुत गरिरहेका छन्।
त्यस्तै कांग्रेसका अर्का महामन्त्री तथा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले पनि सामाजिक सञ्जालको प्रयोग व्यापक गरेका छन्।
केही दिनअघि उनले आफ्ना लागिमात्र नभएर गगन थापाका लागि पनि सामाजिक सञ्जाल प्रयोगबाटै भोट मागे। जुन सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो।
त्यस्तै कांग्रेसका प्रदिप पौडेल, सुजाता कोइराला, रामहरि खतिवडालगायत नेता पनि सामाजिक सञ्जाल प्रयोग गर्दै मतदाता आकर्षण गर्ने कार्यमा लागिपरेका छन्।
सामाजिक सञ्जालबाटै मत माग्दै माओवादी
अन्य पार्टीजस्तै नेकपा (माओवादी केन्द्र) ले पनि आगामी निर्वाचन लक्ष्य गरी सामाजिक सञ्जालमा व्यापक उपस्थिति देखाइरहेको छ। माओवादी अध्यक्ष पुष्ककमल दाहाल ‘प्रचण्ड’ पनि यसमा सक्रिय देखिन्छन्। माओवादी महासचिव देव गुरुङले निर्वाचन लक्षित पोस्ट बढाउँदै लगिरहेका छन्। केन्द्रीय सदस्य वर्षमान पुन र पम्फा भुसाललगायत नेता पनि सामाजिक सञ्जालमा निकै सक्रिय छन्।
साना दल पनि उत्तिकै सक्रिय
नेपालका प्रमुख दलबाहेक जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टीलगायतका नेता तथा उम्मेदवार पनि सामाजिक सञ्जालका माध्यमबाट निर्वाचनमुखी कार्यक्रम सञ्चालन गरिरहेका छन्।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि मतदाता आकर्षित गर्न सामाजिक सञ्जालमार्फत व्यापक लागेको छ। पार्टी सभापति लामिछानेदेखि देशभरिबाट बनाइएका उम्मेदवार सामाजिक सञ्जालमा राम्रो उपस्थिति जनाइरहेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सामाजिक सञ्जालबाट मतदातालाई आकर्षित गरिरहेको छ।
राप्रपाका उम्मदेवार रविन्द्र मिश्र, ज्ञानेन्द्र शाहीलगायतले सामाजिक सञ्जालमा आफ्ना सम्पूर्ण कुरा सेयर गरिरहेका छन्।
त्यस्तै विवेकशील साझा पार्टी अध्यक्ष रञ्जु दर्शनादेखि अन्य पार्टीका उम्मेदवार पनि सामाजिक सञ्जालमा सक्दो प्रभाव छाड्ने कोसिस गरिरहेका छन्।
फेसबुकबाट बढी प्रचार गर्नेमा स्वतन्त्र उम्मेदवार
विभिन्न दल, तिनका उम्मेदवार र नेताले निर्वाचनका लागि सामाजिक सञ्जालमार्फत निकै खर्च गरिरहेका छन्।
यसैबीच एक अध्ययनले चुनावी प्रचारका लागि सामाजिक सञ्जाल फेसबुकमा सबैभन्दा धेरै खर्च गर्नेमा स्वतन्त्र उम्मेदवार बढी रहेको देखाएको छ।
पत्रकार एवं शोधकर्ता उज्ज्वल आचार्यले गरेको एक अध्ययनका अनुसार चुनाव प्रचारका लागि फेसबुकमा सबैभन्दा बढी खर्च स्वतन्त्र उम्मेदवारले गरेका छन्।
आचार्यले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत सेप्टेम्बर र अक्टोबरमा प्रमसख सामाजिक सञ्जाल फेसबुकमा निर्वाचन केन्द्रित विज्ञापनमा १ सय अमेरिकी डलरभन्दा बढी खर्च गर्ने ५० उम्मेदवारले २० लाख रुपैयाँ खर्च गरेका छन्।
जसमध्ये स्वतन्त्र उम्मेदवारले फेसबुकमा धेरै विज्ञापन गरेका छन्। कूल विज्ञापनमध्ये ४३.८ प्रतिशत विज्ञापन स्वतन्त्र उम्मेदवारका छन्। फेसबुक विज्ञापनमार्फत चुनाव प्रचारमा खर्च गर्नेमा जनता समाजवादी पार्टी (जसपा) दोस्रो स्थानमा छ। कुल खर्चमध्ये जसपाको खर्च १४.१ प्रतिशत छ।
यसैगरी खर्च गर्ने सूचीमा ११.५ प्रतिशत र ७.७ प्रतिशतसहित नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी क्रमशः तेस्रो र चौथोमा स्थानमा छन्।
फेसबुक विज्ञापनमा खर्च गर्ने सूचीमा एमाले पाँचौं स्थानमा छ। एमालेले कूल विज्ञापन खर्चमध्ये ५.५ प्रतिशत हिस्सा ओगटेको छ भने छैठौं स्थानमा रहेको एकीकृत समाजवादीले ४.६ प्रतिशत खर्च गरेको छ। माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले क्रमशः ४.४ र ४.३ प्रतिशत खर्च फेसबुक विज्ञापनमा गरेका छन्।
त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीको २.१ प्रतिशत खर्च हिस्सा छ भने १.८ प्रतिशत निर्वाचन खर्चको स्रोत खुलेको छैन। निर्वाचन लक्षित गतिविधि गर्न दलले हाल सामाजिक सञ्जाललाई महत्वपूर्ण माध्यम बनाइरहेका छन्।