काठमाडौं । देवनरा ग्रुपले स्थापना गरेको बाब भेजिटेबल आयल इन्डष्ट्रिजको व्यापार ३८ प्रतिशत बढेको छ। सन् २०२२ मा कम्पनीले ७ अर्ब ५९ करोड २० लाख रूपैयाँको खाने तेल व्यापार गरेको छ।
कुल आम्दानीको ८० प्रतिशत रकम भारत निर्यात गरेर कमाएको उद्योगले जनाएको छ। एक वर्षमा उद्योगको आम्दानी २ अर्ब रूपैयाँ बढेको छ। सन २०२१ मा उद्योगको सञ्चालन आम्दानी ५ अर्ब ५१ करोड ९० लाख रूपैयाँ थियो।
यस्तै सन् २०२० मा ३ अर्ब ९ करोड रूपैयाँ सञ्चालन आम्दानी गरेको उद्योगले सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ। पाम आयालको निर्यात बढेपछि उद्योगको सञ्चालन आम्दानीमा सुधार आएको हो।
कुल उत्पादनको ८० प्रतिशत भारतमा निर्यात गर्दै आएको छ। सञ्चालन आम्दानी बढे पनि उद्योगको मार्जिन भने घटेर १०.५६ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष मार्जिन १२.६० प्रतिशत थियो। उद्योगले २ अर्ब ६ करोड रूपैयाँ ऋणको रेटिङ गराएको छ।
उद्योग नेपाल–भारत सिमाना १५ किलोमिटर दुरीमा रहेकाले ढुवानी लागत सस्तो पर्छ। यसबाट उद्योगले लाभ उठाउँदै आएको छ। उद्योगले कच्चा वस्तु भारतलगायत तेस्रो मुलुकहरूबाट आयात गर्दै आएको छ।
बाबाले सनफ्लावर, पामोलिन र भटमासको तेल प्रशोधनका लागि विदेशबाट कच्चा पदार्थ आयात गर्दै आएको छ। कुल सञ्चालन आम्दानीमा कच्चा वस्तुमा ८७ प्रतिशत रहेको छ।
ग्रुपले बाबा भेजिटेबल आयलको स्थापना सन् १९९३ मा स्थापना गरेको हो। बाबाले खाने तेलको प्रशोधन, उत्पादन तथा निर्यातसमेत गर्दै आएको छ। उद्योग मोरङको कटहरीमा छ।
उद्योगको सनफ्लावर, पामोलिन र भटमासको तेल उत्पादन क्षमता वार्षिक ४५ हजार टन रहेको छ। उद्योगले नेपालमा सिद्धबाबा ब्रान्डमा खाद्य तेल उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।
उद्योगको विराटनगर, काठमाडौं र पोखरामा डिपोका साथै भारतमा निर्यात हुने गर्छ। उद्योग २५ वर्षदेखि खाद्य तेल बजारमा बलियो उपस्थिती देखाएका छन्।
उद्योगको सञ्चालकमा प्रकाशकुमार मुन्दडा र सुरेशकुमार राठी छन्। उद्योगको अध्यक्षमा प्रकाश छन्। ग्रुपले कृषि, साबुन, केमिकल र उत्पादनमुलक क्षेत्रमा लगानी छ।