म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–२ मोरेनीमा नयाँ प्रजातिको वनस्पति भेटिएको छ। वनस्पतिविद् भक्तबहादुर रास्कोटीले तिउरीको नयाँ प्रजातिको विरुवा पहिचान गरेका हुन्। यसको वैज्ञानिक नाम ‘इम्पेसियन्स निम्सपुर्जेए’ राखिएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका कीर्तिमानी पर्वातारोही निर्मल पूर्जाले पर्वातारोहण र संरक्षणका लागि गरेको कामको मूल्याँकन गर्दै वनस्पतिलाई उनको नाम दिइएको रास्कोटीले बताए। रास्कोटीले हालै नयाँ प्रजातिको वनस्पतिका बारेमा ५७ पृष्ठ लामो अनुसन्धान प्रतिवेदनसहितको लेख सार्वजनिक गरेका थिए।
सन् २०११ को अगस्त २५ मा समुद्री सतहदेखि २ हजार ८ सयदेखि २ हजार ९ सय मिटरको उचाइमा रास्कोटीले फेला पारेकाे उक्त प्रजातिको वनस्पतिको नमूना संकलन गरेर अध्ययनका लागि राष्ट्रिय हर्बेरियम प्रयोगशाला र त्रिभुवन विश्वविद्यालयको हर्बेरियम विभागमा अभिलेखका लागि राखेका थिए।
'यो रूवाको विश्वमै पहिलोपटक अभिलेख भएकाले अन्य अवस्थाबारे विस्तृत अध्ययन भएको छैन,' रास्कोटीले भने, 'मोलिक्युलर अध्ययन तथा अन्य विस्तृत विवरणसहितको अध्ययन गर्दा प्रजातिको अभिलेखमा धेरै वर्ष लाग्यो। यो प्रजाति इम्पेसियन्स हारी, इम्पेसियन्स रेडियटा, इम्पेटियन्स वालिचीसँग नजिक देखिए पनि भिन्न छ।'
रास्कोटीले नेपालका लागि थप पाँच तिउरी प्रजातिको अभिलेख गरेका छन्। यससँगै नेपालमा तिउरीका अब ५७ प्रजाति नेपालमा अभिलेख भएका छन्। यस्तै तीमध्ये आठ प्रजाति नेपालमा मात्रै पाइने उक्त अनुसन्धानबाट खुलेको छ। इम्पेसियन्स ब्राचीसेन्ट्रा, एम्पेसियन्स इन्फन्डिबुलरिस, इम्पेसियन्स सिक्किमेन्सिस, इम्पेसियन्स काटकर्ठी, इम्पेसियन्स ज्ञामिई प्रजाति नेपालका लागि नयाँ अभिलेख भएका हुन्।
नयाँ प्रजातिको तिउरीको डाँठबाट आउने फूलको सङ्ख्या तीनवटा मात्रै हुने, फराकिलो स्पर र फूलको पात (पेटल) रहेका जस्ता गुणबाट अन्यभन्दा फरक रहेका रास्कोटीले बताए। यस्तै यसको आनुवांशिक (फाइलोजेनी) अध्ययनमा न्यूक्लियर जिन र क्लोरोपास्टका दुइटा जिनको विश्लेषण गर्दा फरक पाइएको थियो।
अनुसन्धानकर्ताका अनुसार विज्ञानका लागि नयाँ प्रजाति हुनका लागि वनस्पतिको फूलको बनावटमा कम्तीमा दुई वा सोभन्दा बढी भिन्न र मोलुक्युलर विवरण पनि फरक हुनुपर्छ।
फूल, डिएनए र बाहिरी आवरणलाई आधार मानेर वनस्पतिको वर्गीकरण र पहिचान गरिन्छ। विद्यावारिधि पूरा गरेका अनुसन्धानकर्ता रास्कोटी फ्लोरा अफ नेपाल लेखनको अर्किडेसी समूह लेखनको योगदानकर्ता पनि हुन्।
वनस्पति जगत्को बाल्सामिनेसी परिवारभित्र इम्पेसियन्स जेनस (तिउरी) पर्छ। यो परिवारका दुईवटा जेनस भए पनि नेपालमा तिउरी प्रजातिमात्रै पाइन्छन्। तिउरीलाई फूलको रूपमा रोप्ने तथा जडीबुटीको रूपमा पनि प्रयोग गर्ने गरिन्छ।
नेपालको ८ सय मिटरदेखि माथि ४ हजार ५ सय मिटर उचाइसम्म यो प्रजातिको अभिलेख भएको छ। घाँसेमैदानको ओसिलो ठाउँमा पाइने तिउरीलाई स्थानीयवासीले बर्खामा हिलोले बनाएको घाउँमा लगाउने गर्छन्।