काठमाडौं । उद्योगी व्यवसायीहरूले बैंकले ब्याजदर बढाएको भन्दै विरोधमा उत्रिए छन् । नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएको विरोधमा राजधानीको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
महासंघका उपाध्यक्षहरू अन्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघइको अगुवाइमा नेपाल तयारी पोशाक उद्योग संघ, भक्तपुर उद्योग वाणिज्य संघलगायत विभिन्न व्यावसायिक संस्थाहरुले बैंकहरुले चर्को ब्याजदर लिएको भन्दै विरोध गरेका हुन् ।
संघइ एनआईसी एसिया बैंक र बैंकरहरू सडकमा देखिएका छन् । संघइ महासंघका एसोसियट उपाध्यक्ष हुन् ।
उद्योगी व्यवसायीले ब्याज दरमा स्थिरता, प्रिमियम दरमा भएको वृद्धि घटाउन माग गरेका छन । यस्तै नेपाल राष्ट्र बैंकले ल्याएको चालू पुँजी कर्जा स्थगनको माग पनि गरेका छन् ।
बैंकको ब्याजदर चर्को भयो, गरिखान देउ र ब्याजदर वृद्धिले व्यवसाय गर्न गाह्रो भयो, घटाएर एकल अंकमा झार्नु पर्यो नारा लेखिएका प्लेकार्डसहित उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
उद्योग वाणिज्य संघहरूको अगुवाइमा ब्याजदर वृद्धिको विरोधमा प्रायः सबै जिल्लामामा विरोध प्रदर्शनहरू भइरहेका छन । बैंकहरुले कर्जाको ब्याजदर बढाएर औसत १३ प्रतिशत माथि पुर्याएका छन् ।
बजारमा लगानीयोग्य पुँजी(तरलता) संकट बढेपछि बैंकहरूले ब्याजदरका साथै प्रिमियम पनि बढाएका छन् । बढ्दो ब्याजदरले उत्पादन लागत बढेको व्यवसायीको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघले ब्याज वृद्धिबाट व्यवसाय गर्न गाह्रो भएको भन्दै गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर घटाउन माग गरिसकेका छन् । ब्याजदर वृद्धिको विरोध प्रदेश नम्बर १ बाट सुरु भएको थियो। होटल संघ नेपाल (हान) ले ब्याज वृद्धिको विरोध गर्दै गभर्नरलाई ज्ञापनपत्र बुझाइसकेको छ ।