काठमाडौं। स्वदेशी लगानीमा निर्माण गर्न लागिएको सिद्धबाबा सुरुङमार्गको डिजाइन डिसेम्बर अन्तिममा तयार हुने भएको छ। गत मार्च (फागुन)मा ठेक्का सम्झौता भएपछि सुरुङमार्ग डिजाइनको काम सुरु भएको थियो।
सम्झौताअनुसार ९ महिनामा निर्माण कम्पनीले डिजाइनको काम सम्पन्न गर्नुपर्ने हुन्छ। डिजाइन तयार र सोको स्वीकृति भएपछि मात्रै सुरुङ निर्माण कार्य सुुरु हुने सडक डिभिजन बुटवलले जनाएको छ।
सडक भिडिजन बुटवलका प्रमुख होमबहादुर एसीका अनुसार गत मार्चमा भएको सम्झौता भएकै आधारमा निर्माण कम्पनीले डिजाइन तयारी गरिरहेको छ। सोही कारण डिजाइनको तयारी पूरा नहुँदासम्म अहिले नै निर्माण कार्य सुरु हुने समय भन्न नसकिने उनको भनाइ छ।
क्यापिटल नेपालसँग कुरा गर्दै एसीले भने, ‘डिजाइनको म्याद अझै एक महिना बढी बाँकी नै छ, त्यो आएर स्वीकृत हुनुपर्छ अनि सुरुङ खन्न सुरु हुने हो। त्यसैले २ महिनामा सुरुङ खन्ने काम सुरु हुनसक्छ तर, पहिला डिजाइन तयार हुनु पर्यो ।’
सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीसँग सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ठेक्का सम्झौता गरेको हो। सुरुङ खन्न ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँ खर्च हुने अनुमान छ।
विकास केन्द्रले २०७८ जेठमा आह्वान गरेको बोलपत्रमा ४ कम्पनीले सुरुङ बनाउन आवेदन दिएका थिए। जसमध्ये सबैभन्दा कम लागत प्रस्ताव गर्ने चाइना स्टेट कन्स्ट्रक्सन छनोटमा परेको हो।
डिजाइनको ९ महिनासहित समग्रमा ५ वर्षभित्र सुरुङ तयार हुनेछ। इन्जिनियरिङ प्रोक्युमेन्ट कन्ट्रयाक्ट (इपीसी) मोडेलमा निर्माण गर्न लागिएको सो सुरुङमार्गका लागि आवश्यक पर्ने मेसिन आयात, डिजाइन, पहुँचमार्ग निर्माण, कामदारलगायत सम्पूर्ण कामको जिम्मेवारी निर्माण कम्पनीकै भएको केन्द्रले जनाएको छ।
त्यस्तै निर्माण सकेको ५ वर्षसम्म सञ्चालन र मर्मतको जिम्मा पनि निर्माण कम्पनीले लिनुपर्ने गुणस्तर अनुसन्धान विकास केन्द्रले जनाएको छ।
सिद्धार्थ राजमार्गमा पर्ने उक्त स्थानमा पहिरो बढी गएपछि त्यसबाट हुने जनधनको क्षति कम गर्न सुरुङमार्ग निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ। बुटबलबाट पाल्पा जाने सो सडकमा पहिरो नियन्त्रणका लागि अन्य विकल्प नभएपछि सुरुङमार्ग निर्माण गर्न लागिएको विभागले जनाएको हो।
नेपालमा पहिलो पटक बन्न लागेको ‘रकसेड’ले पहिरोको व्यवस्थापन गरी क्षति कम गराउने अपेक्षा गरिएको छ। कुल लम्बाइ ११ सय २६ मिटर सुरुङ दुई लेनको हुनेछ।
यहाँ चल्ने गाडीमध्ये मुख्य सवारीसाधनलाई सुरुङबाट पठाइने र साना र कम क्षमताका सवारीसाधनलाई ‘रकसेड’बाट पठाउँने योजना रहेको केन्द्रले जनाएको छ। ठेला गाडा, साना टेम्पो कम लोडको रकसेडबाट पठाइने र अरु अधिकांश सवारीसाधन सुरुङबाट आवत जावत गर्ने बताइएको छ।
हाल नेपालमा निर्माणाधीन नागढुंगा सुरुङमार्ग सडक सञ्जालको क्षेत्रमा नेपालकै पहिलो सुरुङमार्ग हो। त्यसपछि निर्माण गर्न लागिएको शिद्धबाबा दोस्रो सुरुङमार्गको हो। नागढुंगा जापान सरकारको ऋण सहयोगमा निर्माण भइरहेको छ भने शिद्धबाबाको निर्माणमा सरकारले आफ्नै रकम खर्च गर्न लागेको हो।
सरकारले एक दर्जन बढी सुरुङमार्ग निर्माणको योजना अघि बढाएको छ ।