काठमाडौं। विनोद चौधरी, नेपालमा मात्र होइन विश्व ‘कर्पाेरेट’ जगतमा पनि चिनिँदै आएको नाम हो। विश्वका विभिन्न मुलुकमा विभिन्न व्यवसाय विस्तार गरिसकेका चौधरी नेपालबाट चिनिने व्यवसायीमा अन्तर्राष्ट्रिय नाम हो। व्यापारिक तथा औद्योगिक क्षेत्रमा दसकौंदेखि सुनिँदै, चिनिँदै र देखिँदै आएको यो नाम पछिल्लो समय मुलुकको सक्रिय राजनीतिमा पनि त्यसैगरी उदाएको छ।
झन्डै २ खर्बबराबर सम्पत्तिका मालिक चौधरीले व्यावसायिक ‘लिगेसी’ उचाइमा पुर्याएपछि सक्रिय राजनीतिमा आफ्नो समय खर्चिन थालेका हुन्। नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट संघीय सांसदका उम्मेदवार बनेका चौधरी यतिबेला खेतबारीका गह्रा पुगेर मत मागिरहेका छन्, मोटरसाइकलको पछाडि बसेर घरदैलो गरिरहेका छन्, मतदातासँग सँगै बसेर खाना खाइरहेका छन्। धेरैले चौधरीका यी क्रियाकलापलाई चुनावी ‘स्टन्ट’ भनेर आलोचना गरिरहे पनि खासमा उनी यस्तै पृष्ठभूमिबाट आएर व्यावसायिक साम्राज्य खडा गरेका व्यक्ति हुन्।
चौधरीले आफ्नो पुस्तक ‘समृद्धिका लागि राजनीति’ मा लेखेका छन्- ‘म सामान्य परिवारबाट आएको व्यक्ति हुँ। मेरो शिक्षादीक्षा पनि सामान्यरूपमै भयो, कसैलाई भ्रम नपरोस्, म सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको व्यक्ति हुँ भन्ने। सरकारी स्कुल पढेर आएको सामान्य नागरिक हुँ। रत्नपार्कबाट सार्वजनिक बस चढेर भक्तपुरको सरकारी स्कुलबाट स्कुले शिक्षा हासिल गरेको हुँ र सरस्वती क्याम्पसबाट उच्चशिक्षा लिएको हुँ।'
‘चौधरी आफ्नो बुबाले साढे पाँच दशक पहिले बसन्तपुरमा सुरु गरेको ‘अरुण इम्पोरियम’ पसलबाट साडी र मोजासमेत बिक्री गर्न डुलेका छन्,’ चौधरीसँग तीन दशक बढी संगत गरेका व्यवसायी शशिकान्त अग्रवाल क्यापिटल नेपालसँग भन्छन्, ‘चुनावका बेलामात्र होइन, अघिपछि पनि उनी सबैसँग घुलमिल हुन्छन्, सामान्य तरिकाले रेस्टुरेन्टमा खान र बस्न रुचाउँछन्।’
विश्वका सर्वाधिक धनाढ्यहरूको सूचीमा परे पनि सबैसँग मिलनसार रूपमा प्रस्तुत हुनु चौधरीको आकर्षक पक्ष रहेको अग्रवाल बताउँछन्।
‘बिजनेसमा ग्लाम र लाइमलाइट हुनुपर्छ। विश्वका विभिन्न मुलुकमा व्यवसाय भएपछि विगतजस्तो हुँदैन, तर उनी ‘डाउन टु अर्थ पर्सनालिटी’ भएका व्यक्ति हुन्,' अग्रवाल थप्छन्।
अर्बपति छवि र चुनावी घरदैलोले गर्दा अहिले चौधरीको चर्चा चुलिएको छ। उनी व्यवसायसँगै राजनीतिमा पनि पहिलेदेखि नै चासो राख्थे।
२०६४ सालको आमनिर्वाचनमा नेकपा (एमाले) बाट समानुपातिक सांसद बनेका चौधरी २०७४ सालको चुनावसम्म आइपुग्दा कांग्रेसबाट सांसद बने। एमालेबाट कांग्रेस प्रवेश गर्दा उनको त्यो प्रवेश देखेर मतदाता, राजनीतिक र व्यापारिक क्षेत्रमा ठूलै चर्चा हुन पुग्यो। त्यसबेला कांग्रेस सभापति शेरबहादुर देउवाले चाैधरीलाई पत्रै लेखेर कांग्रेसमा आमन्त्रण गरेका थिए।
पाँच वर्षअघिको चुनावमा पनि कांग्रेसबाट समानुपातिक सांसद बनेका चौधरी यसपालि मंसिर ४ गतेलाई तय भएको आमनिर्वाचनमा कांग्रेसबाटै प्रत्यक्ष लड्दैछन्। यो उनले ‘ठूलै आँट’ गरेका हुन्। समानुपातिकबाट सांसद बनिसकेका उनले प्रत्यक्ष चुनाव लड्न त्यसै आँट गरेका भने होइनन्।
किनकि, उनी नवलपरासी क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव लड्दैछन्। उनले स्थापना गरेको चौधरी उद्योग ग्राम उनको क्षेत्रको पारि छ। यो ग्रामभित्र धेरै उद्योग सञ्चालनमा छन्, जहाँ हजारौंले रोजगारी पाएका छन्। अधिकांश स्थानीयले रोजगारी पाएका कारण चौधरीलाई मत माग्न धेरै नै सहज भएको छ।
तर, उनलाई हृदयेश त्रिपाठीसँग प्रतिस्पर्धा गर्न भने केही ‘कठिन’ हुनेछ। किनभने, त्रिपाठी तीन दशकदेखि राजनीतिमा धेरै नै ‘चर्चित’ नाम हो। धेरैपटक मन्त्री भइसकेका, धेरैपटक सांसद भइसकेका, सार्वजनिक लेखा समितिका सभापतिसमेत भइसकेका ‘चतुर’ त्रिपाठीलाई चौधरीकै पूर्वपार्टी नेकपा (एमाले) को पनि सहयोग रहेका कारण केही कठिन हुनु स्वाभाविक हो। एक जन्मजात राजनीतिज्ञसँग चुनावमा प्रतिस्पर्धा गर्नु चौधरीको ठूलो आँट हो।
आठपटक चुनावी मैदानमा रहेका त्रिपाठीलाई पहिलोपटक प्रत्यक्ष चुनाव लड्दै गरेका चौधरीको चुनौती पनि सानो भने होइन। ‘पटक-पटक सांसद र मन्त्री भएर पनि स्थानीयसँग नभिजेका कारण त्रिपाठीलाई चौधरीसँगको प्रतिस्पर्धा यसपालि कठिन हुने देखिन्छ,’ नवलपरासी सरावल गाउँपालिका-५ का जितेन्द्र थारुले क्यापिटल नेपालसँग भने।
गत वैशाखमा भएको स्थानीय निर्वाचनको वडा तहमा खसेको मतका आधारमा पश्चिम नवलपरासी-१ मा कांग्रेस पहिलो र नेकपा (एमाले) दोस्रो भएका थिए।
सन् २०१३ देखि संसारका धनाढ्यहरूको सूचीमा नेपालबाट पर्दै आएका एकमात्र डलर अर्बपति चौधरीको चुनावी अजेन्डा ‘भौतिक पूर्वाधार विकास, रोजगारी वृद्धि र आर्थिक समृद्धि’ छ। उनी आफैं दजर्नौं उद्योग-कलकारखाना मात्र नभई नेपालदेखि संसारका धेरै देशमा ठूला होटल सञ्चालन गर्ने कहलिएका व्यवसायी हुन्।
‘नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको नेतृत्व सम्हालेका बेला आर्थिक रूपान्तरणको काम गरेँ, तर पनि मैले सोचेजति गर्न सकिनँ। म जे गर्न चाहन्थेँ, त्यहाँबाट मात्र सम्भव थिएन र भएन,’ सक्रिय राजनीतिमा आउनुको कारणबारे चौधरी भन्छन्, ‘के गर्दा सम्भव होला त? के कर्दा नेपालको आर्थिक समृद्धिको यात्रालाई एकोहोरो अगाडि बढाउन सकिएला? अन्ततः राजनीतिबाट मात्रै यो अभियानलाई सम्भव तुल्याउन सकिन्छ भन्नेमा म विश्वस्त भएँ।’
५४ वर्षअघि सन् १९६८ मा स्थापना भएको चौधरी ग्रुप (सिजी) का संस्थापक हुन् उनी। काठमाडौंमा मुख्यालय रहेको सिजीले खाद्यान्न, वित्त कम्पनी, होटल तथा रिसोर्ट, शिक्षा, पूर्वाधार, स्वास्थ्य, घरजग्गा, टेलिकम, अटोमोबाइल, ब्रुअरी, पेय पदार्थलगायत क्षेत्रमा अर्बौं लगानी गरेको छ भने हजारौं रोजगारी सिर्जना गरेको छ। सिजीले हाल पाँच महादेशका विभिन्न देशमा १ सय ३६ कम्पनी सञ्चालन गरिरहेको छ। वाइवाई चाउचाउ उनको एकमात्र यस्तो ‘ब्रान्ड’ हो जुन अहिले संसारका धेरै देशमा उत्पादन हुने गर्छ।
रोजगारी सिर्जना, राज्यलाई तिर्ने कर अनि सामाजिक क्षेत्रमा गरेका सहयोगको सूची देखाएर मतदातासँग मत माग्न चौधरीलाई सहज भएको पक्कै छ। र, उनका लागि आर्थिक क्षेत्रमा पुर्याएको योगदान यसपालि प्रत्यक्ष चुनाव लड्न ‘प्लस प्वाइन्ट’ नै भएको छ।
मोटरसाइकलमा हुँइकिरहेका विनोद
मंसिर ४ को आमनिर्वाचनमा मत माग्न हप्तौंदेखि नवलपरासी क्षेत्र नम्बर १ मा घरदैलो अभियानमा छन् चौधरी। केही दिनअघि उनी एक सहयोगीको मोटरसाइकल पछाडि बसेर मत माग्न जाँदै गरेको तस्बिर ‘भाइरल’ हुन पुग्यो।
त्यो तस्बिर देखेर धेरैले ‘यो विनोद चौधरीको चुनावी स्टन्ट हो!’ भने। अधिकांशलाई के लाग्यो भने- ‘करोडौं मूल्यका गाडी भएका विनोद चौधरी भोट पाउन मोटरसाइकल चढेर जनताको सहानुभूति बटुलिरहेका छन्।’
तर, सत्य के हो भने विनोद चौधरी एकैचोटि संसारका धनाढ्यहरूको सूचीमा परेका होइनन्, अथक मिहिनेत, कडा परिश्रम, उत्कृष्ट व्यवस्थापन अनि लगानी विविधिकरणबाट डलर अर्बपति बन्न सफल भएका हुन्।
कुनै समय यस्तो थियो, जुन बेला उनको साथमा मोटरसाइकलमात्र थियो। व्यापार गर्न त्यही मोटरसाइकलमा कुद्थे पनि। चौधरीको अर्को घतलाग्दो कुरा के हो भने उनी आफैं व्यवसाय सुरु गर्दाताका काठमाडौं बसन्तपुरस्थित उनको अरुण इम्पोरियममा बसेर लत्ताकपडा बेच्थे।
उनले आत्मकथा ‘विनोद चौधरी’ मा लेखेका छन्- ‘नेपालमा हिन्दी चलचित्र ‘हरे रामा हरे कृष्ण’ छायांकन गर्न आएका बलिउड अभिनेता देवानन्द एक दिन अरुण इम्पोरियममा सामान किन्न आएका थिए। त्यसबेलाका सुपरस्टार देवानन्दले मोजा किन्न खोजे तर रङ मन नपरेपछि होटल सोल्टी फर्किए। तर, जाने बेला देवानन्दले मलाई सोल्टीमा मोजा ल्याउदिनू है भनेर गए। भोलिपल्ट म केही थान मोजा लिएर सोल्टी गएँ र देवानन्दलाई भेटेर मोजा दिएँ तर, मैले त्यति ठूलो कलाकारसँग मोजाको पैसा माग्न बिर्सिएँ र देवानन्दले पनि मोजा लिए तर पैसा दिने कुरा गरेनन्। अनि, म रित्तै हात फर्किएँ।’
विनोद चौधरी, खासमा ‘भुइँमान्छे’ हुन्, र त्यही भुइँमान्छेले अथक मिहिनेतबाट अहिलेको विशाल औद्योगिक तथा व्यापारिक ‘साम्राज्य’ खडा गरेको हो। त्यही भएर उनलाई अहिले मोटरसाइकलको पछाडि बसेर कुद्न, खेतका गह्रा-गह्रा, आली-आली हिँड्न, स्थानीयसँग भलाकुसारी गर्न लाज मान्नुपर्ने अवस्था नभएको उनका व्यावसायिक साझेदार तथा बालसखा उद्योगपति रविभक्त श्रेष्ठ बताउँछन्।
‘आमनागरिकको एउटै गुनासो छ, नवलपरासीमा विकास भएन। त्यही भएर म आमनागरिकको गुनासो सुन्न केही दिनदेखि नवलपरासीका मतदाताको घरका दैलो-दैलो पुगिरहेको छु,’ विनोद चौधरी भन्छन्, ‘अब नवलपरासीलाई तीव्र विकासमा समाहित गर्ने मेरो एउटैमात्र उद्देश्य छ। समृद्ध नवलपरासी निर्माण गर्नु मेरो प्राथमिकता हो।’
उनी चुनावी घरदैलो अभियानमा बारम्बार भनिरहेका छन्- ‘विनोद चौधरी भ्रष्टाचार गर्नलाई चुनाव जित्न यहाँ आएको हो वा पैसा नपुगेर चुनाव उठ्न आएको हो भनेर कसैले भन्न सक्दैन। जीवनका ४५ वर्ष औद्योगिक विकास, आर्थिक विकास, सामाजिक विकासका काम गरेर बिताएको म जस्तोलाई त्यो नालायक हो भनेर कसैले भन्न सक्दैन। म एउटा सिस्टम (प्रणाली) मा काम गर्ने र विश्वास गर्ने मान्छे हुँ। व्यवस्था बन्यो भने सिस्टम बन्यो भने, सिस्टम चलायमान भयो भने हामी निरन्तर समृद्धिको यात्रामा सधैं जोडिन सक्छौं।’
हो, उनले भनेजस्तै उनको सिजी साँच्चै सिस्टममा चलेको छ। त्यही भएर नै यति ठूलो व्यापारिक घराना बन्न सकेको हो।
अहिले जसरी उनी सिस्टममा चल्नुपर्छ भन्दैछन्, भोलि उनले चुनाव जितेर संसद प्रवेश गरेपछि मुलुकको तीव्र विकास गर्न, शिक्षा, स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट सेवा दिन, महँगी नियन्त्रण गर्न, उनको पार्टी नेपाली कांग्रेसले घोषणापत्रमा भने झैं लाखौं रोजगारी सिर्जना गर्न र निमुखा सर्वसाधारणलाई गरिबीको रेखाबाट माथि उकाल्न आवश्यक नीति निर्माणमा साँच्चै देखिने गरी आवाज उठाएर आर्थिक विकासको ‘आर्किटेक्ट’ बन्छन् भन्नेमा मतदाता ढुक्क हुन सक्लान्?