काठमाडौं। आर्थिक अवस्था नाजुक भएका बेला बाहलवाला मन्त्रीदेखि नेतासम्मले चन्दा मागेर उद्योगी/व्यवसायीलाई हैरान बनाइरहेका छन्।
मुलुकको अर्थतन्त्र ठिकठाक अवस्थामा रहेको जस्तै गरी मन्त्रीदेखि नेतासम्मले चन्दा माग्न थालेपछि अधिकांश व्यवसायी मोबाइल नम्बर परिवर्तन गर्ने अवस्थासम्म पुगेका छन्।
पुरानो नम्बर हरेक नेता तथा मन्त्रीसँग हुने र सिधै रकम तोकेर चन्दा माग्न थालेपछि बाध्य भएर नम्बर नै परिवर्तन गर्नपर्ने अवस्था आएको व्यवासायीको गुनासो छ।
व्यवसायीका अनुसार अहिले बाहलवाला मन्त्रीहरूको चन्दा ‘डिमान्ड’ बढी छ। सत्तामा बस्ने, त्यहाँबाट आर्थिक लाभ लिने र अहिले चुनाव आयो भन्दै पुनः सहयोग माग्ने प्रवृत्ति व्यापक बढेको छ।
‘मन्त्री नभएका तर चुनावमा होमिएका नेताहरूले माग्नु त ठिकै हो,’ एक व्यवसायीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा क्यापिटल नेपालसँग भने, ‘तर, आर्थिक अवस्था मजबुत बनाएका मन्त्री पनि सहयोग चाहियो भन्दै फोन गरिरहेका छन्।’
एक वर्षदेखि मुलुकको अर्थतन्त्र दिन प्रतिदिन बिग्रिँदो अवस्थामा छ। वर्तमान आर्थिक अवस्था सुधार्न कुनै पहलकदमी नलिएका नेताहरू अहिले धमाधम चन्दा असुलीमा लागेपछि व्यवसायीहरू तनावमा छन्।
मुलुकभित्र आर्थिक वातावरण बनाउन नीतिगत सुधार नगर्दा देश गम्भीर आर्थिक संकटमा फस्न लागेको छ। त्यसबारे एकरति चासो नलिने नेता तथा मन्त्रीलाई चन्दा भने चाहिएको देखेर आफूहरूलाई ताज्जुब लागेको व्यवसायी बताउँछन्।
सरकारले गत वैशाख १४ देखि भदौसम्म १० प्रकारका वस्तु आयातमा पूर्णप्रतिबन्ध लगायो। भदौयता अझै मोबाइल, मदिरा र गाडी आयात प्रतिबन्ध जारी छ। विदेशी मुद्रा सञ्चितिमा दबाब नपरोस् भनेर सरकारले आयात प्रतिबन्ध लम्ब्याएको लम्ब्याइ छ। जसले गर्दा अर्थतन्त्र नै थप समस्यामा परेका बेला नेता तथा मन्त्रीका फोनले व्यवसायी मानसिक दबाब खेपिरहेका छन्।
असोज मसान्तमा धेरै व्यवसायीले बैंकको साँवा–ब्याज बुझाउन सकेका छैनन्। अहिले उद्योगहरू २० प्रतिशत क्षमतामा चलेका छन्। २० प्रतिशत क्षमतामा चलेका उद्योगका ६० प्रतिशत उत्पादन गोदाममै थन्किएको अवस्था छ।
‘अर्थतन्त्रको चित्रबारे राम्रोसँग जानकार नेता पनि चन्दा चाहियो भन्दै फोन गरेर दिक्क बनाइरहेका छन्,’ आक्रोशित मुद्रामा ती व्यवसायी भन्छन्, ‘यति हदसम्म त नगरे हुन्थ्यो नि!’
हाल ८० प्रतिशतसम्म बैंक ब्याज बढेको छ। कात्तिक १ देखि लागू भएको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनले अर्थतन्त्रलाई थप पीडातिर धकेल्ने देखिएको छ।
नेपालमा वाह्य र आन्तरिक कारणले धेरै समस्या देखापरेका छन्। यस्तो बेला केन्द्रीय बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याएको छ। यी कारणले अर्थतन्त्रलाई निराशातर्फ धकेलिरहेको बेलामा नेताको चन्दा आतंकले थप पीडा दिएको उद्योगीहरू बताउँछन्।
अहिले निर्माण उद्योग (जसलाई मदर इन्डस्ट्रिज पनि भनिन्छ) को व्यापार ६० प्रतिशतसम्म गिरावट आएको छ। यसलाई सबै उद्योगी–व्यवसायीले अस्वाभाविक लिएका छन्। यो क्षेत्र ठप्प हुने बित्तिकै यसको असर चौतर्फी पर्छ।
तयारी पोसाक तथा जुत्ताचप्पल उद्योगको हालत पनि दयनीय छ। यिनको व्यापार ७० प्रतिशतसम्म गिरावट आएको अध्ययनबाट देखिएको छ। जुत्ता उद्योग गम्भीर आर्थिक संकटबाट अघि बढेको छ। थोक बजारमा पनि अप्रत्यासित गिरावट आएको छ।
त्यसैगरी ‘एफएमसिजी’ भित्रका खाद्यान्न र बेभरेज (पेय पदार्थ) छाड्ने हो भने अन्य सबै क्षेत्रमा असर परेको छ। अटोमोटिभ र इलेक्ट्रोनिक्स बजार व्यापार डामाडोल बनेको अवस्था छ। विद्यमान अर्थचित्र देख्दा देख्दै मन्त्रीदेखि नेतासम्मले चन्दा माग्न थाल्नु दुःखद रहेको उनीहरूको टिप्पणी छ।