काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रोशनकुमार न्यौपाने दोहोरिएका छन्। कात्तिक १६ गते बसेको बैंक सञ्चालक समितिको ५७३ औं बैठकले न्यौपालाई दोहाेर्याउने निर्णय गरेको हो।
समितिले मंसिर १५ गतेदेखि लागू हुने गरी थप ४ वर्षको अवधिको लागि पुनः सीईओ बनाउने निर्णय गरेको हो।
सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एसिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत बनेका थिए।
सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचांकमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेपछि न्यौपानेलाई बैंक सञ्चालक समितिको २०७५ मंसिर १६ को ३७९ औं बैठकले ४ वर्षको लागि सीईओ बनाएको थियो।
३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको सीईओ नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रूपमा समेत परिचित बनेका थिए ।
रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानीलकन्ठ बस्ने ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल सीईओको रूपमा बैंकिङ क्षेत्रमा स्थापित गराउन सफल बनेका छन्।
न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछि आफ्नो प्रथम कार्यकाल पूर्णरूपमा सफल बनाउँदै बैंकले अधिकांश सूचकहरूमा अग्रणी स्थान हासिल गर्न सफल भएको जनाएको छ।
बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा, ग्राहक संख्या, स्व–पूँजीमा प्रतिफल, प्रतिसेयर आम्दानी, शाखा कार्यालयहरू, एटिएम, विस्तारित काउन्टर लगायतका सूचकमा नम्बर एक स्थान हासिल गर्न सफल भएको छ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७५ करोड रूपैयाँ खुद नाफा गर्दै सबैभन्दा धेरै खुद नाफा आर्जन गर्ने वाणिज्य बैंक बन्न सफल भएको छ। जुन नाफा वार्षिक बिन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो।
त्यसैगरी स्व–पुँजीमा प्रतिफल २६.५५ प्रतिशत र वार्षिक प्रति सेयर आम्दानी ५९.६२ रूपैयाँ आर्जन गर्न बैंक सफल भएको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो ।
चालू आार्थिक वर्षको प्रथम त्रैमाससम्ममा २ खर्ब ७३ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी तथा ३ खर्ब ८ अर्ब १८ करोड रुपैयाँ निक्षेप परिचालन गरेको बैंकले जनाएको छ ।