काठमाडौं। भैरहवामा सञ्चालित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारिका लागि जाने श्रमिकलाई दोहोरो आर्थिक भार पर्ने भएको छ।
विशेषगरी मलेसिया र साउदी अरब जाने श्रमिकले मेडिकल जाँचपासका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्न सकेको छैन। जसका कारण यात्रु दोहोरो आर्थिक भारमा परेका छन्।
भैरहवाबाटै विदेश जान सकिने व्यवस्था भए पनि मेडिकल जाँच तथा अन्तर्वार्ताका लागि समेत काठमाडौं धाउनुपर्ने बाध्यता छ। मेडिकल जाँच तथा अन्तर्वार्ताका लागि काठमाडौं आएर फेरि बस वा प्लेनमा भैरहवा जानुपर्ने बाध्यता श्रमिकसँग रहेको वैदेशिक रोजगार विभागले जनाएको छ।
विभागका महानिर्देशक (डिजी) उमाकान्त आचार्यका अनुसार सबैभन्दा बढी आर्थिक भारमा मलेसिया र साउदी अरब जाने यात्रु पर्ने छन्। उक्त दुई देश जाने यात्रुले सम्बन्धित देशले तोकेका मेडिकलबाट मात्रै स्वास्थ्य परीक्षण गर्नुपर्ने बाध्यता छ।
नेपालका मेडिकल वा अस्पतालले गरेका चेकजाँचलाई मलेसिया र साउदी सरकारले मान्यता दिँदैनन्। उनीहरूले तोकेका मेडिकल काठमाडौंमा मात्रै रहेका र हालसम्म भैरहवामा सञ्चालन नहुँदा यात्रुले दोहोरो दुःख पाएको डिजी आचार्य बताउँछन्।
‘अन्य सबै सुविधा काठमाडौंबाट विकेन्द्रीकरण भयो तर स्वास्थ्यको विषयमा सकिएको छैन। साउदी र मलेसियाले निश्चित मेडिकलवालाले जाँच गर्नुपर्ने व्यवस्था पहिला नै गरेकाे छ। त्यसैले ती देश नै तयार भएर भैरहवामा मेडिकल खोलि दिए भने हुन्छ तर, अहिलेसम्म मेडिकल खोलिएको छैन’ डिजी आचार्यले भने।
उनका अनुसार स्वास्थ्य परीक्षणको समस्या समाधान गर्न विभागले १५ दिन पहिला दुवै देशका नेपालमा रहेका मेडिकललाई आग्रह गरेको छ। सरकारी सुविधा र अन्य कुरा विकेन्द्रीकरण गरे पनि निजी क्षेत्र अझ अर्काे देशसँग जोडिएको स्वास्थ्य जाँचको समस्या समाधान गर्न सहज नभएको उनले बताए।
उता नेपाल नागरिक उड्यान प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुल प्राधिकरणले गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गरेको बताउँछन्। ‘हामीले श्रमको विषयमा काम गर्दैनौं, सुरूवाती श्रम स्वीकृति, पूर्व श्रम स्वीकृति, मेडिकल, मेनपावर सबै कुरा श्रम मन्त्रालयले गर्छ। उहाँहरूले १५ दिनभित्र समस्या समाधान गर्छौं भनेर प्रतिबद्धता गर्नु भएको छ,’ भुलले भने।
नेपालका मेडिकल वा हस्पिटलले गर्ने स्वास्थ्य परीक्षणलाई मान्यता दिने व्यवस्था गर्नुपर्ने विभागका डिजी आचार्य बताउँछन्। ‘उनीहरूको देशले तोकेको मेडिकललाई मात्रै मान्यता दिने विषयमा सम्झौता गर्नु नै गलत हो, त्यसलाई सचयउनसमेत हामीले पहल गरिरहेका छौ,’ आचार्यले भने। अहिले समस्या नेपालका विषयमा नभइ विदेशको नितिले गर्दा भएको उनको भनाइ छ।
क्यापिटल नेपालसँग डिजी आचार्य भन्छन्, ‘हाम्रो देशको कुरामा समस्या छैन, विदेशको कुरामा समस्या भएको सत्य हो, त्यसलाई मिलाउने प्रक्रियामा छौं। यात्रुले भैरहवाबाट विदेश जानका लागि काठमाडौंमा मेडिकल जाँच गरेर आउनुपर्ने बाधयता छ।’
दुई महिना पहिला मेनपावरलाई भैरहवामा शाखा खोल्न अनुमति दिइएको थियो भने ओरेन्टेसन ट्रेनिङ पनि भैरहवाबाट सञ्चालन हुँदै आएको छ।