काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई त्रिभुवन विमानस्थलमा सेल्फ र गौतम बुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड ह्याण्डलिङको अनुमति दिने आश्वासन दिएको छ।
कात्तिक १७ गतेदेखि चार्टर उडानको तयारी थालेको हिमालयले एक विज्ञप्ति जारी गर्दै दुई विमानस्थलमा ग्राउन्ड ह्याण्डलिङको अनुमति पाउने आश्वासनपछि आफू गौतमबुद्धमा जान तयार भएको उल्लेख गरेको छ।
सञ्चालन योजनालाई सम्बोधन गर्दै प्रशासनका उपाध्यक्ष विजय श्रेष्ठले भैरहवाबाट नियमित उडानहरू सञ्चालन गर्न निरन्तर रूपमा लागिरहेको बताए। हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान सञ्चालनले यात्रुको सुविधासँगै अन्तर्राष्ट्रिय गन्तव्यहरुसँग नेपालका विभिन्न क्षेत्रहरूको अझ राम्रो कनेक्टिभिटी हुने कुरामा आशावादी रहेको उनको भनाइ छ।
’गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो देशको साझा राष्ट्रिय गौरव हो र यस विमानस्थलले धार्मिक पर्यटनको बढोत्तरीमा विशेष योगदान पुर्याउने सम्भावना भएकाले यस दिशामा हामी सबैले हातेमालो गर्नुपर्छ,' उपाध्यक्ष श्रेष्ठले भने।
हिमालय एअरलाइन्स्ले आफ्नो सञ्जालमा नयाँ थपिएको क्षेत्र भैरहवासँगै गुणस्तरीय नियमित उडान र ग्राउन्ड सर्भिस उपलब्ध गराउन पनि प्रतिबद्ध रहेको कुरा उनको भनाइ छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा क्वालालम्पुर नियमित चार्टर उडान गर्नेछ।
नेपाल र मलेसियाको नागरिक उड्डयन प्राधिकरण र अन्य सान्दर्भिक ओभर फ्लाईङ इजाजतपत्र प्राप्त भए पश्चात ०३ नोभेम्बर २०२२, बिहीबारदेखि उडान सञ्चालन हुने अपेक्षा गरिएको जनाएको छ।
प्रारम्भिक चरणका लागि एयरलाइन्स्ले भैरहवा–क्वालालम्पुर–भैरहवा सेक्टरमा उडान भर्ने छ भने भविष्यमा गौतमबुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड ह्याण्डलिङ अनुमति प्राप्त भए पछि अन्य क्षेत्रमा पनि उडान विस्तार गरिने विज्ञप्तीमा उल्लेख छ।
अहिले एक्लौटि रूपमा नेपाल वायुसेवा निगमले मात्र त्रिभुवन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको काम गर्दै आएको छ।