काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि काम सुरु गरेको छ। तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखानालाई भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय आविष्कार केन्द्रलाई पुनः सञ्चालन ल्याउन जिम्मा दिएको थियो।
त्यसपछि आविष्कार केन्द्रले कारखानामा रहेका मेसिनको अध्ययन गरेको थियो। सो अध्ययनबाट कारखानामा रहेका मेसिनमध्ये ५० प्रतिशत चालू अवस्थामा र बाँकी आधामध्ये २५ प्रतिशत मर्मत गरेर चलाउन सकिने तथा २५ प्रतिशत काम नलाग्ने अवस्थामा रहेको जनाएको थियो।
आविष्कार केन्द्रले सोही कारखानालाई सञ्चालनमा ल्याउन मंगलबारबाट काम सुरु गरेको छ। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सो कारखानाको काम मंगलबारबाटै सुरु गरेको जानकारी दिए।
‘हामीले कृषि औजार कारखानाको काम मंगलबारबाट सुरु गरेका छौं,’ अध्यक्ष पुनले क्यापिटल नेपालसँग भने ‘अहिले सरसफाइको काम सुरु गरेका छौं। सरसफाइको काम सकिएपछि हामीले मेसिन मर्मतको काम गर्ने छौं।’
सो कारखानाको सरसफाइ र मर्मतका लागि लगभग १० महिना समय लाग्ने अध्यक्ष पुनले जानकारी दिए। ‘हामीले मंगलबारबाट राष्ट्रिय आविष्कार केन्द्रका केही मानिस तथा श्रमदान गर्न आएका व्यक्तिको सहयोगमा सरसफाइको काम सुरु गरेका छौं,’ उनले भने, ‘कारखानाको सरसफाइ तथा मर्मतको काम सम्पन्न गर्न लगभग १० महिना लाग्ने देखिन्छ।
त्यसपछि कारखाना सञ्चालनको अन्य कार्य सुरु हुन्छ।’ उनका अनुसार लगभग १० महिनाको सरसफाइ तथा मर्मतको कामपछि कारखानामा उत्पादनको काम सुरु हुनेछ।
कारखानामा श्रमदान गर्न आउनेहरु कहिले ३०/४० जना हुने र कहिले थपघट हुने गरेको अध्यक्ष पुनले जानकारी दिए। हाल कारखानाको अवस्था गन्जागोल रहेको र श्रमदान गर्न आउनेहरु सधैं यसरी आउँछन् वा आउँदैनन् भन्ने विषयले कारखाना सरसफाइ वा मर्मतको काम कति समय लाग्छ भन्ने कुरा थप एकिन हुने उनको भनाइ छ।
अध्यक्ष पुनका अनुसार हाल कारखाना सञ्चालनका लागि पहिलो चरणमा सरसफाइ तथा काम गर्नसक्ने मेसिन अलग्याउने र छुट्याउने काम भइरहेको छ। त्यसपछि दोस्रो चरणमा मर्मत गरेर चलाउन सक्नेलाई छुट्याउने र तेस्रो चरणमा काम नलाग्ने मेसिनलाई हटाएर नयाँ राख्ने काम हुनेछ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७९/८० को बजेटमा बन्द तथा रुग्ण रहेका कारखाना पुनः सञ्चालनको घोषणा गरेका थिए। कारखाना पुनः सञ्चालनका लागि असोजमा अर्थमन्त्री शर्माको उपस्थितिमा मन्त्रालयका सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। सम्झौतापत्रमा हस्ताक्षर भएको लगभग एक महिनापछि आविष्कार केन्द्रले कारखानामा काम सुरु गरेको हो।
तत्कालीन सोभियत संघ (रुस) र सरकारको संयुक्त लगानीमा २०२१ सालमा स्थापना भएको यो कारखाना २०४८ सालमा निजीकरण भएपछि विभिन्न अवरोध पार गर्दै २०५९ सालदेखि पूर्णरूपमा बन्द भएको थियो। सरकारको पूर्णस्वामित्वमा रहेको यो कारखानाको अधिकृत पुँजी ३ करोड, जारी पुँजी २ करोड तथा चुक्ता पुँजी १ करोड ९५ लाख रुपैयाँ छ।
कृषि औजार कारखानाले आफ्नो सञ्चालन अवधिमा ट्याक्टरको ट्रेलर, विभिन्न पुर्जा, कृषिका लागि चाहिने सुधारिएको हलो, कृषिमा काम लाग्ने अन्य औजारबाहेक नहरका ढोका, भवनको ट्रस, झोलुङ्गे पुलजस्ता उपयोगी सामग्री बनाउँदै आएको थियो।
बन्द हुनु अगाडिसम्म यसले वार्षिक साढे ७ करोड रुपैयाँको सामान उत्पादन गर्ने गरेको कृषि विकास मन्त्रालयको तथ्यांकमा छ। मन्त्रालयका अनुसार कारखाना बन्द भएपछि वार्षिक ७ देखि ८ हजार ट्याक्टर, पुर्जा, २ हजार ५ मिनी टिलर, ५ हजार ५ सय पावर टिलर र करिब ३० हजार थान थ्रेसर आयात हुने गरेको छ ।