काठमाडौं। विदेशीले चलाएका पुराना (सेकेन्ड ह्यान्ड) ल्यापटप हवाईमार्गबाट ल्याउन कठिन भएपछि आयातकर्ताहरूले नयाँ ‘रुट’ का रूपमा स्थल नाका प्रयोग गर्न थालेका छन्।
नयाँ भन्दै बेच्न ल्याइएका सेकेन्ड ह्यान्ड ल्यापटप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बरामद गरी जफतको तयारी गरेपछि तिनका आयातकर्ता स्थल नाकातिर मोडिएका छन्।
भन्सार कार्यालयले एसआरपिसी ललिलतपुर, कौसिकी इन्फोसिस, पाकिजा कम्प्युटर, र सनसाइन टेक्नोलोजी गरी चार कम्पनीद्वारा आयातित सेकेन्ड ह्यान्ड ल्यापटप नयाँमा मिसाएर ल्याएको फेला पारेको थियो।
ती ल्यापटप जफत गर्ने र अनुगमन कार्य थप प्रभावकारी हुने देखेपछि त्यस्ता ल्यापटप भित्र्याउने कम्पनी स्थल नाकातिर लागेका हुन्। भन्सार कार्यालयले जाँच गर्दा लगभग ६ सयहाराहारी अयोग्य अर्थात सेकेन्ड ह्यान्ड ल्यापटप नयाँ भन्दै ल्याएको फेला पारेको थियो।
६ सयथान ल्यापटप अयोग्य भेटेको कार्यालयले ‘डिक्लियर’ नभएका ९ सयदेखि १ हजारजति ल्यापटप रहेको जनाउँदै लगभग १ हजार ५ सय ल्यापटप जफत गर्ने तयारी भइरहेको जनाएको थियो।
भन्सार कार्यालय स्रोतका अनुसार वीरगन्ज भन्सारमा आएर दुई–तीन कन्टेनर ल्यापटप थन्किएर बसेको छ।
‘वीरगन्ज भन्सारमा आएर यस्तै दुई–तीन कन्टेनर ल्यापटप थन्किएर बसेको जानकारीमा आएको छ,’ स्रोतले भन्यो, ‘हवाईमार्गबाट ल्याइएका सेकेन्ड ह्यान्ड ल्यापटप जफत हुने भएपछि आयातकर्ताहरूले स्थल नाकाबाट ल्याउने प्रयत्न गरेको देखिन्छ।’
तत्कालै अन्य नाकाबाट सेकेन्ड ह्यान्ड ल्यापटप नयाँ भन्दै बेच्न ल्याउने सम्भावना उच्च भएकाले सम्बन्धित निकाय सचेत हुनुपर्ने स्रोतको भनाइ छ।
दुई–तीन वर्ष अघि नै वारेन्टी म्याद सकिएका, विदेशीले लामो समय प्रयोग गरेर फालेका ल्यापटप तथा कम्प्युटर ल्याएर नयाँ भन्दै बेच्ने विभिन्न माध्यमबाट ल्याइने गरेको पुष्टि भइसकेको छ।
नेपाल भित्रिएका ल्यापटप तथा कम्प्युटरमा यो खालको समस्या देखिएपछि भन्सार कार्यालयले उपसचिवहरू अम्बिका खनाल र मुक्ति श्रेष्ठ सहभागी छानबिन समिति बनाएर यस्तो कार्य रोक्न सक्रियरूपमा लागेको छ। कार्यालयले आफूहरुसँग पर्याप्त जनशक्ति नभएको भन्दै बजार अनुगमन निकायदेखि सरकारलाई यस्तो अबैध कार्य रोक्न आग्रह गरेको छ।
‘जफत गर्दा ६ सयथान अयोग्य भेटियो। यस्ता ल्यापटप गोदाममा पनि राखेका छन्। त्यसलाई पनि जफत गर्छन् भनेर बाहिर नल्याउन सक्छन्,’ भन्सार कार्यालका एक अधिकारीले क्यापिटल नेपालसँग भने, ‘गोदामभित्र भएका सामान उनीहरूले भन्सार क्षेत्रमा नआएको भनी फेरि फिर्ता गर्न सक्छन्। यो पनि आए १ हजारभन्दा बढी हुने देखिन्छ।’
आफ्नै गोदाममा भएका यस्ता पुराना वस्तुलाई नयाँ भनेर बेच्न राखेका ल्यापटप लुकाउन, फिर्ता गर्न सक्ने भएकाले त्यसलाई पनि ध्यान दिँदै भन्सार कार्यालय अग्रसर भएको उनको भनाइ छ।
नयाँ र पुराना मिसाएर ल्याउने, पुरानालाई नयाँ खोलमा हालेर ल्याउने, पुरानाको पनि नयाँसरह भन्सार कर तिर्ने र मूल्य पनि नयाँहाराहारी लिने गरेको भेटिएपछि भन्सार कार्यालयले त्यस्ता ल्यापटप जफत गर्ने तयारी गरेको छ।
वातावरण मन्त्रालयबाट पुराना ल्यापटप हो भन्ने प्रमाणित गरी ती ल्यापटप जफत गर्ने तयारी गरेको कार्यालयले जानकारी दिएको छ। यस्ता पुराना ल्यापटप ल्याउने कम्पनीले ल्यापटप तथा कम्प्युटर खरिद गर्ने मुख्य स्थानमा गएर हेर्न र सबै ठाउँमा यस्तै पाउँछ भनेर भन्सार कार्यालयलाई भन्ने गरेका छन्।
यसरी हेर्दा बजारमा यस्ता ल्यापटप उल्लेख्य मात्रामा रहेको पुष्टि हुने ती अधिकारीको भनाइ छ। विभिन्न भन्सार नाकाबाट यस्तो सामग्री भित्र्याउने कोसिस गरिरहेकाले यसप्रति सचेत हुन सम्बन्धित निकायलाई उनले आग्रह गरे।