फुङ्लिङ । ताप्लेजुङका किसानलाई अलैंची थन्क्याउन भ्याइनभ्याइ छ । तिहार र छठ पर्व सकिएसँगै अलैंची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् ।
असोजदेखि मङ्सिर महिना अलैंची थक्याउने मुख्य समय हो । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गर्दै आएको छ । बेंसी क्षेत्रमा साउन महिनादेखि लेकाली क्षेत्रमा मंसिर तेस्रो सातासम्म अलैंची टिपाइ हुन्छ ।
अहिले अलैंची थन्क्याउन मुख्य मौसम भएकाले किसानलाई चटारो हुने गरेको हो । अलैंची संकलन गर्ने समय भएपछि केही समय मात्र ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका–१ थेचम्बुका अलैंची किसान ज्ञानबहादुर गुरुङले बताए ।
अलैंची सिजनका कारण दसैं, तिहारजस्ता चाडपर्व सहज गरी मनाउन नै नपाएको गुरुङले बताए। मुख्य सिजन भएकाले चाडपर्वमा पनि अलैंची बारी (बगान)मै बिताउनुपरेको फक्ताङलुङ गाउँपालिका–६ मादिबुङका अलैंची किसान बसन्त लिम्बूले बताए । उनले दसैं घरमै मनाए पनि तिहारमा भने अलैंची बगानमै बिताउनुभएको थियो ।
फुङ्लिङ नगरपालिका–६ बिहिवारेका किसान खाङ्डु शेर्पाले पनि अलैंची टिप्न, छोडाउन र सुकाउनमै तिहार बितेको बताए। घरमा बसेर चाडपर्व मनाउन थाल्दा जंगली जीवजन्तुले धेरै क्षति गर्ने भएकाले चाडपर्व नभनी अलैंची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको शेर्पाले बताए। यी त केही प्रतिनिधि मात्र हो ।
अलैंची खेतीमा सङ्लग्न जिल्लाभरका किसानलाई अहिले अलैंची घर भित्र्याउन भ्याइनभ्याइ भएका छन् । जिल्लाका नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैंची खेती हुन्छ ।
जिल्लामा करिब ४ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिँदै आएको छ । प्रमुख नगदेबाली भएकाले धान, मकैजस्ता खाद्यान्न बाली उत्पादन हुने जग्गा नै मासेर किसानले अलैंची खेती गर्दै आएका छन् ।