काठमाडौं। अमेरिकी सहयोगको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसिसी) ले नेपालमा बनाउन लागेको विद्युतीय प्रशारणलाइन निर्माण सन् २०२३ अगस्टबाट सुरु हुने भएको छ।
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए) का सूचना अधिकारी राजिव दाहालका अनुसार २०२३ अगस्ट (२०८० साउन) अन्तिमबाट निर्माण सुरु गर्ने योजना छ।
२०२२ अन्त्यसम्ममा विद्युतीय प्रशारणलाइन र सबस्टेसन निर्माण गर्न विश्वव्यापी बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गर्ने जनाएको छ।
नेपालको संसदले उक्त परियोजना २०७८ फागुन २५ मा स्वीर्कत गरेको थियो। सोही दिनबाट गणना हुने गरी १८ महिनामा जग्गा अधिग्रहणको काम सम्पन्न गर्ने योजना एमसिए नेपालको छ।
त्यसपछि पाँच वर्षभित्र विद्युतीय प्रशारणलाइन निर्माण सम्पन्न गरी सक्नुपर्ने कानुनी बाध्यता छ। यदि काम सम्पन्न गर्न नसके अमेरिकाले गरेको सहयोग रकम फिर्ता हुनेछ। अमेरिकाको ५० करोड डलर (करिब ५५ अर्ब रुपैयाँ) र नेपालको १३ करोड डलर (करिब १५ अर्ब रुपैयाँ) उक्त परियोजनामा लगानी गर्ने तयारी छ।
हाल ‘¥याप कन्सलेटन्ट’ ले प्रशारणलाइन पुग्ने क्षेत्रमा आवश्यक पर्ने जग्गा र त्यहाँ क्षति हुने बोटविरुवा तथा अन्य विषयमा अध्ययन गरिरहेको छ। उक्त प्रतिवेदन प्राप्त भएपछि मात्रै जग्गा अधिग्रहणको काम अगाडि बढ्ने सूचना अधिकारी दाहाल बताउँछन्।
‘अहिले कन्सलटेन्टले जग्गा अधिग्रहणका विषयमा अध्ययन गरिरहेको छ। त्यसको रिपोर्टका आधारमा २०२३ अगस्टसम्म १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को अध्यक्षतामा बैठक राखेर मुआब्जाको मूल्य निर्धारण गर्छौं। त्यसपछि मात्रै वितरण सुरु हुन्छ,’ उनले भने।
अगस्टपछि निर्माण व्यवसायीले काम सुरु गर्नेछन्। त्यसअघि अधिग्रहण गरिएको जग्गा हेर्न पाउने कानुनी व्यवस्था छ। त्यसबेला निर्माण व्यवसायीले केही जग्गा थपघट गर्न सक्ने भएकाले परियोजना निर्माण कार्यसँगै मुआब्जा वितरणको काम पनि सुरु हुनेछ।
नुवाकोट बेलकोटगढी नगरपालिकामा रातमाटे सबस्टेसन, तनहुँमा नयाँ दमौली सबस्टेसन र नवलपरासी पश्चिमको भुमहीमा नयाँ बुटवल सबस्टेसन गरी तीन सबस्टेसन निर्माण हुनेछन्। त्यस्तै १० जिल्लामा उक्त परियोजनाको काम हुनेछ।
नुवाकोट रातमाटेमा ४ सय केभी प्रशारणलाइन निर्माण हुनेछ। जसका लागि ८ सय ५६ वटा टावर आवश्यक पर्ने एमसिए नेपालले जनाएको छ।
नुवाकोटको जग्गा मंसिरपछि खाली गर्ने
एमसिए नेपालले २०७८ चैत ३ गते ३५ दिने सूचना निकाल्दै नुवाकोटमा अधिग्रहण गरिएको जग्गा खाली गर्न आग्रह गरेको थियो। तर, उक्त स्थानमा अधिग्रहण गरिएको ४ सय रोपनी जग्गा हालसम्म पनि खाली भएको छैन।
नुवाकोटमा काम तत्काल नहुने भएपछि यसअघिको सूचनामा स्थानीयले जग्गा नछाडेका हुन्। तर, २०२२ अन्त्यसम्ममा बोलपत्र आह्वान हुने भएकाले मंसिरको बाली भित्र्याएर जग्गा खाली गर्न आग्रह गरेको सूचना अधिकारी दाहालको भनाइ छ।
‘हाम्रो पूर्वनिर्धारित योजनाअनुसार काम हुन नसकेपछि सूचना जारी भए पनि जग्गा खाली गर्न ताकेता गरेका छैनौं,’ दाहालले क्यापिटल नेपालसँग भने, ‘तर, मंसिरको बाली भित्र्याएपछि भने हाम्रो काम सुरु हुन्छ।’
नुवाकोटमा यसअघि नै १ अर्ब ४२ करोड रुपैयाँ मुआब्जासमेत वितरण भइसकेको छ।
प्रशारणलाइन काठमाडौं लप्सीफेदीबाट नुवाकोट रातमाटे पुग्ने छ। त्यहाँबाट एउटा लाइन धादिङ हुँदै हेटौंडा पुग्ने छ। यस्तै रातमाटेबाट अर्को लाइन गोरखा, तनहुँ, नवलपरासी हुँदै बुटवल पुग्ने छ। बुटवल–गोरखपुर ४ सय केभी प्रशारणलाइनमा जोडिने छ। प्रशारणलाइनको लम्बाइ ३ सय १४ किलोमिटर हुनेछ।