काठमाडाैं। एमालेले अन्य दल भन्दा अलि फरक ढंगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ को लागि घाेषणा पत्र सार्वजनिक गर्याे।
प्रविधिलाई जाेड दिने एमालेले मंगलबार ‘फिंगर स्क्यान’ गरेर डिजिटली घोषणापत्र सार्वजनिक गरेकाे छ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीले घाेषणा पत्र सार्वजनिक गरे। सभामा श्रव्यदृश्यमार्फत विभिन्न सामग्री प्रस्तुत गरिएकाे थियाे।
साथै पार्टीका चार संकल्प र पाँच वर्षका लागि उल्लेखित २० ग्यारेन्टी पनि एमालेले श्रव्यदृश्य सामग्रीको माध्यमबाट आकर्षक ढंगले प्रस्तुत गर्याे। एमालले 'लाइभ डिबेट' गर्दै घोषणापत्रबारे संक्षिप्त जानकारी गराएकाे छ ।
विज्ञान र सूचना तथा प्रविधिकाे विकासमा जाेड दिने एमालेले घोषणापत्रमा पनि विज्ञान र सूचना–प्रविधिलाई भरपुर समेट्ने प्रयास गरेकाे छ।
एमालेले सार्वजनिक गरेको घोषणापत्रमा डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जनसहित कार्यान्वयन गर्ने, राज्य संयन्त्रको परिचालन, सेवा प्रवाहका कार्यहरू तथा उत्पादन र उत्पादकत्व अभिवृद्धिका क्षेत्रहरूमा डिजिटल प्रविधिको अधिक प्रयोग गरी आर्थिक सामाजिक विकास र रूपान्तरण गरिने प्रतिबद्धता छ।
इन्टरनेटलगायतका सूचना प्रविधिका अत्याधुनिक पूर्वाधारहरू तयार गर्ने पनि घोषणापत्रमा उल्लेख छ। सूचना प्रविधिलाई आम नागरिकको पहुँचमा पुर्याउने, हरेक क्षेत्रमा सूचना प्रविधिका माध्यमबाट सेवा प्रवाह गर्नेदेखि अस्पताल र विद्यालयमा इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ।
सबै स्थानिय तहका केन्द्र र तराई–मधेस तथा पहाडी जिल्लाका स्थानीय तहको वडा केन्द्रसम्म दुई वर्षभित्र ब्रोडब्यान्ड इन्टरनेट सुविधा पुर्याउने प्रतिबद्धता एमालेकाे छ।
अवाइटल स्टल प्रयोग गरी अन्तरीक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्ने, दूरसंचार सेवाको सहज र गुणस्तरीय विस्तार गर्ने पनि एमालेको घोषणापत्रमा उल्लेख छ।
त्यस्तै सूचना प्रविधिमा नवप्रवर्तन (इन्नोभेसन) लाई प्रोत्साहन गर्ने कुरा पनि एमालेले राखेको छ। ७५३ पालिकामा १ हजार ५०६ प्राविधिक विद्यालय सञ्चालन गर्ने ग्यारेन्टी गर्दै एमालेले प्रविधिलाई थप प्राथमिकतामा राखेको पुष्टि गरेको छ।