काठमाडौं। नेपाल विद्युत प्राधिकरणले पोल प्रयोग गरी अव्यवस्थित तरिकाले टाँगिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर केबलको–एक्साइल केबल व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै पोलमा टाँगिएका तार व्यवस्थापन गर्न इन्टरनेट तथा केवल टिभी सेवा प्रदायकलाई निर्देशन दिएको हो।
पोलमा झुन्ड्याइएका उपकरणले आगलागी लगायतका विद्युतीय दुर्घटनाहरू बढ्दै गएको, शहरलाई कुरूप बनाएको जस्ता समस्याप्रति ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार अब इन्टरनेट तथा केवल टिभी सेवा प्रदायकले केबल जडान गर्दा पोलमा केबल टाङ्दा आफूले टाङ्ने केबल र विद्युतीय लाइनबीचको दूरी मापन गर्नुपर्ने र दोस्रो फाइबर केबल र जमिनबीचको दूरी मापन गर्नुपर्ने भएको छ।
त्यस्तै ४०० भोल्ट लाइन अर्थात् नाङ्गो तार भएको विद्युतीय पोलमा फाइबर केबल र तारबीचको दूरी ८० सेन्टिमिटर हुनुपर्नेछ भने ४०० भोल्ट लाइन (इन्सुलेटेड तार) भएको पोलमा फाइबर र तार बीचको दूरी ३० सेन्टिमिटर हुनुपर्नेछ। ११ केभि देखी ३३ केभि लाइन भएको पोलमा भने केबल र लाइन बीचको दूरी २.० मिटर हुनुपर्ने छ।
प्राधिकरणले निकालेको सूचनाअनुसार पोलमा राउटर, रिपिटर, फाइबर वितरण बक्स जस्ता उपकरण राख्दा पोलको एकै साइडमा क्रमसँगै मिलाएर नझर्ने र नहल्लिने गरी राख्नुपर्ने छ। सेवा प्रदायकले अब देखि आफ्नो केबल पहिचानमा सहजताका लागि अप्टिकल फाइबरमा ट्याग लगाउनुपर्ने पनि प्राधिकरणले उल्लेख गरेको छ।
फाइबर विस्तार गर्दा धरै कोर भएको फाइबर विस्तार गर्न र प्रयोगमा नभएका अप्टिकल फाइबर तथा उपकरण तत्कालै हटाउन समेत प्राधिकरणले निर्देशन दिएको छ।