काठमाडौं। पर्यटन गन्तव्य धुलिखेलमा पौने २ अर्ब लगानीमा पाँचतारे स्तरको रिसोर्ट निर्माण हुने भएको छ। थाइल्यान्डको हस्पिटालिटी ग्रुप ‘दुसित थानी’ को ब्रान्डमा रिसोर्ट व्यवस्थापन तथा सञ्चालन हुनेछ।
ओम्स्टोन एसिया क्यापिटल (नेपाल) प्रालि (ओएसिपिएल) ले उक्त रिसोर्टमा लगानी गर्न लागेको हो। ओएसिपिएसलका प्रमुख लगानीकर्ता विष्णु मोर हुन्। युनाइटेड अरब इमिरेट्स (युएई) बसेर व्यापार गरिरहेका भारतीय मूलका मोरको भारतको पाम तेल उद्योगमा ठूलो लगानी छ।
धुलिखेलमा रिसोर्ट निर्माण गर्न मोरले नेपालका रमेश हमाललाई साझेदार बनाएका छन्। हमाल नेपाली आतित्य सत्कार उद्योगसहित दक्षिण–पूर्वी एसिया र क्यारेबियन क्षेत्रका होटलमा काम गरेका अनुभवी व्यवसायी हुन्।
अन्तर्राष्ट्रिय होटल चेन दुसित थानीको फ्रान्चाइजका रूपमा आगामी सन् २०२३ बाट धुलिखेलमा उक्त रिसोर्ट सञ्चालनमा आउने छ। रिसोर्ट हाल निर्माणाधीन अवस्थामा छ।
रिसोर्टको व्यवस्थापन हेर्न ओएसिपिएलले दुसित थानीसँग १० वर्षको सम्झौता गरेको छ। यो सम्झौता अर्काे १० वर्षका लागि पनि नवीकरण हुने समझदारी दुईबीच छ।
बढी पैसा खर्च गर्न गुणस्तरीय पर्यटक लक्ष्य गरी २०१८ बाट रिसोर्ट निर्माण भइरहेको हो। २०२१ जुलाईमा रिसोर्ट सञ्चालनमा आउने गरी परियोजना सुरु भए पनि कोरोना महामारी र रिसोर्टको डिजाइन परिवर्तन भएका कारण पछाडि धेकेलिएको थियो।
परियोजनाले २०२२ सेप्टेम्बरसम्ममा ७० प्रतिशत वित्तीय सुधार हासिल गरेको छ। परियोजना लागत विगतको दाँजोमा ३६ प्रतिशतले बढेको छ। परियोजना सम्पन्न हुने समय नजिकिए पनि जोखिम र लागत बढ्ने सम्भावना भने अझै देखिएको छ।
दुसित थानी ब्रान्डमा सञ्चालन हुने उक्त रिसोर्टमा दुसितको ‘ग्लोबल रिजर्भेसन सिस्टम’ प्रयोग गरिने छ। जसले गर्दा रुम अकुपेन्सी र आम्दानीमा सकारात्मक प्रभाव पर्ने देखिन्छ।
दुई कम्पनीबीचको सम्झौताअनुसार दुसित थानीले रिसोर्ट सञ्चालनका लागि सम्पूर्ण व्यवस्थापन पनि सम्हाल्ने छ। होटल क्षेत्रमा लगानीकर्ताको अनुभव कम भएका कारण दुसितले नै व्यवस्थापन हेर्न लागेको हो।
रिसोर्टका लगानीकर्ता ओएसिपिएलले १ अर्ब ४ करोड बैंक ऋणको रेटिङ गराएको छ भने ६९ करोड स्वपुँजी (इक्विटी) लगाएको छ। जसमा ६३ प्रतिशत बैंक ऋण र ३७ प्रतिशत इक्विटी हो। रिसोर्टमा प्रतिकोठा लागत ३ करोड रुपैयाँबराबर हुनेछ। परियोजना घोषणा हुँदा प्रतिकोठा लागत २ करोड ६० लाख अनुमान गरिएको थियो।