काठमाडौं । झापाको दमकमा चिनियाँ लगानीमा औद्योगिक पार्क बन्ने भएको छ । दमक तथा आसपासका गौरादह नगरपालिका र कमल गाउँपालिकाका एकीकृत जग्गामा नेपाल–चाइना फ्रेन्डसीप इन्डस्ट्रियल पार्क बन्ने भएको हो ।
पार्क प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्रमा पर्छ । पार्क निर्माण गर्ने विषयमा लगानी बोर्ड र चिनियाँ कम्पनीबीच समझदारीपत्र (एओयू) मा हस्ताक्षर हुँदै छ ।
औद्योगिक पार्क बनाउन लगानी बोर्डले ६४ अर्ब रुपैयाँ लगानी स्वीकृत गरिसकेको छ । दमक क्लिन इन्डस्ट्रियल पार्कलाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन दिने निर्णय गरिसकेको छ ।
दमक नगरपालिकाको दक्षिणमा वार्ड नं १०, कमल गाउँपालिका वार्ड नं ७ तथा गौरादह नगरपालिका वार्ड नं ५ को केही भाग जोडेर प्रस्तावित पार्क बन्न लागेको हो ।
पार्क निर्माण गर्नका लागि करिब २ हजार १०० बिघा चाहिनेमा अन्य जग्गाको व्यवस्था गर्ने काम भइरहेको छ । सन २०१७ मा चीनबाट एउटा टोली आएर उक्त जग्गा अवलोकन गरेको थियो।
पार्क निर्माणका लागि चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभेलपमेन्ट जोन जिङपिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभेलप्मेन्ट कम्पनी लिमिटेडलाई लगानी गर्न स्वीकृति दिइएको छ ।
पहिलो चरणको काम यही असोज महिनादेखि थालिने बताइएको छ । पहिलो चरणको कामपछि थप जग्गामा अरू कामका लागि ३ खर्ब रुपैयाँ लगानी रहने अनुमान गरिएको बोर्डले जानकारी दिएको छ ।
औद्योगिक पार्क निर्माणपछि चीनमा स्थापित बहुराष्ट्रिय कम्पनीहरू नेपाल आउने छन । चीनमा भएका सवारीसाधन, मोबाइल फोन तथा अन्य विद्युतीय सामग्री उत्पादन गर्ने कम्पनीहरू नेपाल आउने छन।
एक किलोमिटर चौडाइ र लम्बाइ नौ किलोमिटर भएको क्षेत्रमा पार्क बनाउन प्रस्ताव गरिएको छ । पार्क बनाउन एक दशक लाग्ने छ । ४० वर्ष चिनियाँले नै पार्क सञ्चालन गर्ने र त्यसपछि नेपाललाई हस्तान्तरण गर्ने सहमति भएको बोर्डले जानकारी दिएको छ ।