काठमाडौं। साझा यातायातका ३७ वटा विद्युतीय बस यो साता नेपाल भित्रिने भएका छन्। साझाले चीनबाट ४० वटा विद्युतीय बस ल्याउने सम्झौता गरेको छ । जसमध्ये ३ वटा बस २०७८ चैत ३० गते तातोपानी नाकाबाट नेपाल भित्रिएर हाल काठमाडौं उपत्यकामा गुडिरहेका छन्।
प्राविधिक परीक्षण अर्थात् अर्डर अनुसारका विद्युतीय बस हुन् वा हैनन् ? भन्ने जाँच गर्नका लागि ल्याइएको उक्त ३ वटा बसमा कुनै खराबी नदेखिएपछि बाँकी रहेका ३७ वटा बस २०७९ असोज १४ गतेबाट नेपाल भित्रिन थालेका हुन्।
असोज १४ पछि हालसम्म करिब २० वटा विद्युतीय बस नेपाल भित्रिएको दिगो ग्रुपले जनाएको छ। उक्त बस चीनको सीएचटीसी कम्पनीमा निर्माण भएका हुन्। साझा यातायातले सन् २०२५ सम्म डिजेल गाडी विस्थापन गरी विद्युतीय प्रयोग गर्ने लक्ष्य स्वरूप एकैपटक चीनबाट ४० वटा बस नेपाल ल्याउन लागेको हो।
यसअघि नेपाल भित्रिएका ३ वटा विद्युतीय बस नेपालको सडकमा उपयुक्त भएपछि ३७ वटा बस नेपाल ल्याउन लागिएको साझाले जनाएको छ । सब खरिदको खर्च साझाले गरे पनि नेपालमा बस भित्र्याउने जिम्मेवारी भने ‘दिगो क्लिन इनर्जी कम्पनी’ले लिएको छ।
दिगोका अध्यक्ष राजन रायमाझीका अनुसार यो साता बाँकी रहेका ३७ वटै विद्युतीय बस नेपाल आइपुग्ने र अर्को सातसम्म साझालाई हस्तान्तरण गर्ने योजना दिगो ग्रुपको छ।
क्यापिटल नेपालसँग अध्यक्ष रायमाझी भन्छन्, ‘चाडबाड सुरु भएसँगै बस ल्याउन लागेकाले केही ढिलाइ भएको थियो अब २÷३ दिनमा सबै बस नेपालमा आइपुग्छन् ।’ दिगो क्लिन इनर्जीले विद्युतीय बसलाई नेपाल भित्र्याउने छ । त्यसपछि प्राविधिक परीक्षण गर्ने काम साझ यातायातले नै गर्नेछ।
२०७८ चैतमा नेपाल भित्रिएका ३ वटा विद्युतीय बसको प्राविधिक परीक्षण भने दिगो क्लिन इनर्जी, साझा यातायात र यातायात व्यवस्था कार्यालय एकान्तकुनाले संयुक्त रूपमा गरेका थिए। जसको नेतृत्व दिगोले गरेको थियो। तर, अहिले ल्याइएका ३७ वटा बसको परीक्षण कस्ले र कसरी गर्ने ? भन्ने विषयमा आफूलाई जानकारी नभएको दिगोका अध्यक्ष रायमाझी बताउँछन्।
जसकारण यो साता ३७ वटै बस नेपाल भित्र्याएर अर्को साता दिगोलाई हस्तान्तरण गर्ने योजना रहेको उनको भनाइ छ। ‘पहिला ३ वटा निकाय मिलेर परीक्षण गरेका थियौं त्यसको सहजिकरण दिगोले गरेको थियो। अर्डर अनुसारकै बस नेपाल आएको देखिएको छ, अहिले आउने बसको विषयमा केही छलफल भएको छैन तर, पहिलाको जस्तो धेरै परीक्षण हुँदैन होला छिट्टै सडकमा गुड्छ’ उनले क्यापिटल नेपालसँग भने।
साझाले विद्युतीय बस खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्रमार्फत चीनको सीएचटीसी कम्पनीसँग सम्झौता गरेको थियो। सम्झौतामा बससँगै आवश्यक चार्जरहरु खरिद गरी ५ वर्षसम्मको मर्मत सम्भारसमेत कम्पनीले नै गर्ने उल्लेख छ।
४० वटा विद्युतीय बस र तिनलाई आवश्यक पर्ने २० वटा चार्जिङ स्टेसनका लागि करिब ४४ करोड ८६ लाख २६ हजार र बस सञ्चालनका लागि आवश्यक तालिम तथा ५ वर्षको मर्मतसम्भार एवं स्पेयर पार्टस्का लागि ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ साझाले सीएचटीसीलाई बुझाउनु पर्र्नेछ।
नेपाल भित्रिएका उक्त बस २६ सिट क्षमतासहित अपांगमैत्री छन्। सीएचटीसी कम्पनीले एकपटक फूलचार्ज गरेपछि ४२ भन्दा बढी यात्रु लिएर विद्युतीय बस २०० किलोमिटर गुड्ने जनाएको छ। कम्पनीको सो भनाइअनुसार नै हाल काठमाडौं उपत्यका भित्र गुड्दै आएका ३ वटा विद्युतीय बसले सेवा प्रवाह गरिरहेकाे साझाले जनाएको छ।