काठमाडौं। विदेशीले चलाएका पुराना (सेकेन्ड ह्यान्ड) ल्यापटप नयाँ भन्दै नेपाल ल्याएर बेच्ने कार्यमा चार कम्पनी संलग्न रहेको फेला परेको छ। केहि दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जाँचका क्रममा नयाँ ल्यापटपसँग मिसाएर पुराना ल्यापटप तथा कम्प्युटर भित्र्याउने र नयाँ भन्दै बेच्ने गरेको फेला पारेको थियो।
कार्यालयले जाँच गर्दा लगभग ६ सयथान हाराहारी अयोग्य ल्यापटप फेला परेको थियो। यसरी ल्यापटप ल्याउन चार कम्पनी संलग्न रहेको भन्सार कार्यालय स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार एसआरपिसी ललितपुर, कौसिकी इन्फोसिस, पाकिजा कम्प्युटर र सनसाइन टेक्नोलोजी गरी चार कम्पनीले ल्याएका ल्यापटमा कैफियत भेटिएको हो। जसमा लगभग ५ सयथान अयोग्य ल्यापटप एसआरपिसी ललिलतपुर एक्लैले ल्याएको छ।
भन्सार कार्यालयले यसरी केही थान ल्यापटप फेला पारेको भए पनि लामो समयदेखि सेकेन्ड ह्यान्ड ल्यापटकलाई नयाँ भन्दै बिक्री हुने गरेको र गोदाममा ठूलो परिमाणमा रहेको जनाएको छ।
‘अहिले कति ल्यापटप पारवहन तथा गोदामभित्र छ भन्ने उनीहरूले फारम नभरेसम्म हामीलाई थाहा हुँदैन,’ स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘यो कति छ भन्ने थाहा हुँदैन तर केही परिमाणमा गोदामभित्र छ भन्ने हामीलाई जानकारी आएको छ।
अहिले डिक्लियर गरेर फारम भरेको लगभग १ हजार ५ सयथान ल्यापटप विभिन्न चार कम्नीले भित्र्याएको थाहा भएको छ।’ यसरी फेला परेका सबै ल्यापटप तथा कम्प्युटर ‘डेल’ कम्पनीका भएको स्रोतले जनाएको छ।
केही दिनअघि भन्सार कार्यालयले ल्यापटपका बनोट र यसका प्राविधिक जाँच गरेको थियो। जाँच गर्दा कतिपय ल्यापटपका किबोर्डमा दाग बसेको तथा धुलो लागेको, अक्षर तथा शब्द मेटिएको देखिएको थियो। यस विषयलाई मध्यनजर गर्दै भन्सार कार्यालयले उपसचिवहरू अम्बिका खनाल र मुक्ति श्रेष्ठ सम्मिलित छानबिन समिति बनाएको थियो।
समितिले जाँचपास गर्न योग्य र अयोग्य भनेर ल्यापटप तथा कम्प्युटर छुट्ट्याएको थियो। जसमा लगभग ६ सयहाराहारी अयोग्य र बाँकी योग्य ल्यापटप फेला परेको थियो। अयोग्य ल्यापटपका सन् २०१७ मै वारेन्टी सकिएका, पहिले धेरै प्रयोग भएका तर नयाँ भनेर नयाँ सरह भन्सार मूल्य तिर्ने गरेको पाइएको छ।
झुक्याउनलाई नयाँ र पुरानो मिसाएर ल्याउने, पुरानोलाई नयाँ खोलमा हालेर ल्याउने, पुरानाका पनि नयाँसरह भन्सार कर तिर्ने र मूल्य पनि नयाँको बराबरी राख्ने गरेको पाइएपछि भन्सार कार्यालयले त्यस्ता ल्यापटप जफत गर्ने तयारी गरेको छ।
वातावरण मन्त्रालयबाट पुराना ल्यापटप हो भन्ने प्रमाणित गरी ती ल्यापटप जफत गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ। यस्ता ल्यापटप जाँचबुझ कार्य थप प्रभावकारी बनाउँदै लैजाने तथा बजार अनुगमन निकायलाई बजारमा यस्ता विद्युतीय सामग्री अध्ययन गर्न आग्रह गर्ने भन्सार कार्यालयले जनाएको छ।
‘बजार अनुगमन गर्ने निकायले खाली दाल–तरकारीमात्र हेर्ने होइन। ल्यापटपजस्तो महँगो सामानमा ठूलो ठगीधन्दा चलिरहेको छ। यसको पनि अनुगमन गर्नुपर्छ,’ भन्सार कार्यालयका एक अधिकारीले क्यापिटल नेपालसँग भने, ‘जसको सामान जफत हुनेवाला छ, उनीहरू के भन्छन् भने हामीले त यो केही होइन। पुतलीसडक गएर हेर्नु सबै यस्तै हुन्छ, कुनै ठाउँमा नयाँ हुन्न भन्छन्।’