काठमाडौं। मुलुकको उड्डयन नियामकको चर्को दबाबपछि सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम अन्ततः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न तयार भएको छ।
उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमद्वारा पेस गरिएको जाडो याम (विन्टर सिजन) को उडान तालिका नै कटौती गरेपछि ध्वजावाहक गौतमबुद्ध विमानस्थलबाट उडान गर्न तयार भएको हो।
निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता अर्चना खड्काले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न आन्तरिक तयारी भइरहेको जानकारी दिइन्।
प्राधिकरणले नयाँ तालिका एक साताभित्र बुझाउन निर्देशन जारी गरेको र त्यहीअनुसार आवश्यक तयारी गरिरहेको खड्काले बताइन्।
‘हामी अहिले गौतमबुद्ध विमानस्थलबाट कुन–कुन क्षेत्रमा उडान गर्न सकिन्छ भनेर अध्ययन गरिरहेका छौं,’ प्रवक्ता अर्चना खड्काले क्यापिटल नेपालसँग भनिन्, ‘एक साता भित्र प्राधिकरणलाई उडान तालिका बुझाइ सक्छौं।’
आन्तरिक गृहकार्य भइरहेकाले अहिले नै भैरहवाबाट कुन–कुन गन्तव्यमा उडान हुन्छ भन्ने यकिन नभइसकेकोसमेत उनले जानकारी दिइन्।
प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले पनि निगमले एक साताभित्र भैरहवाबाट उडान गर्न नयाँ तालिका बुझाइसक्ने प्रतिबद्धता निगमबाट आएको बताए। ‘निगमले एक साताको समय माग गरेको छ,’ महानिर्देशक अधिकारीले भने, ‘त्यहीअनुसार समय दिएका छौं।’
प्राधिकरणले निगमसहित निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई पनि भैरहवाट उडान गर्न निर्देशन जारी गरिसकेको छ। उसको पनि विन्टर सिजनको उडान तालिका कटौती गरेर भैरहवाबाट उडान गर्ने तालिका सार्वजनिक गर्न निर्देशन दिइसकेको छ।
प्राधिकरणका अनुसार हिमालय एयरलाइन्स पनि भैरहवाबाट उडानका लागि तयार भइसकेको र केही समयभित्र नयाँ तालिका सार्वजनिक गर्ने सहमति गरेको जनाएको छ।
निगमको उडान तालिका कटौती भएसँगै आइतबार र सोमबार हुने नयाँदिल्ली उडानसमेत कटौती भएको छ। जसका कारण यो रुटका दुईतर्फी उडानमा रहेका ४ सयहाराहारी यात्रु अलपत्र परेका थिए। निगम र प्राधिकरणबीचको लफडाका कारण यात्रुले दुःख पाएको भन्दै चौतर्फी विरोध भएको थियो।
हाल गौतबुद्ध विमानस्थलबाट कुवेतको जजिरा एयरले मात्र उडान गरिरहेको छ। उसले पनि त्यहाँबाट उडान हटाउने चेतावनी दिइरहेको बेला प्राधिकरणले सरकारी स्वामित्वमा रहेको निगमलाई ‘जबर्जस्ती’ भैरहवाबाट उडान गराउन खोजेको हो।
सरकारी स्वामित्वमा रहेको निगमले नै सरकारी नियम नमान्ने अवस्था हुँदा अन्य निजी वायुसेवालाई निर्देशन दिन समस्या हुने देखिएपछि प्राधिकरणले निगमलाई पहिला उडान गर्न अनुरोध गरिएको महानिर्देशक अधिकारीको भनाइ छ।
प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने हरेक वायुसेवालाई एउटा भए पनि गौतमबुद्धबाट उडान गर्नुपर्ने बाध्यकारी नियम ल्याएको छ।
हाल गौतमबुद्ध विमानस्थलमा ‘ग्राउन्ड ह्यान्डलिङ’ को जिम्मा निगमले नै पाएको छ। तर, हिमालयले भने ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ गर्न पाउनुपर्ने सर्त अगाडि सारेको छ।
यसबारे प्राधिकरण सकरात्मक भए पनि निर्णय भने भइसकेको छैन। प्राधिकरणका महानिर्देशक अधिकारी भने मापदण्ड पुगेका वायुसेवालाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिने तयारीमा छन्। यस विषयमा पनि निगमले प्राधिकरणसँग असन्तुष्टि जनाउँदै आएको छ।