काठमाडौं। नेपाल धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्न दुई दर्जन व्यावसायिक समूह सहभागी हुने भएका छन्।
बोर्डले धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली, २०७९ अनुसार नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्न इच्छुक कम्पनीका लागि आवेदन खुला गरेको हो।
बोर्डले स्टक एक्सचेन्ज र वस्तु विनियम बजार व्यवसायका लागि ४५ दिनको समय दिएको छ। त्यस्तै धितोपत्र दलालका लागि ३० दिनको मात्र समय दिएको थियो। नयाँ स्टक एक्सचेन्जका लागि निवेदन दिने मंगलबार अन्तिम दिन हो।
नयाँ स्टक सञ्चालन गर्न शंकर ग्रुप, गोल्छा ग्रुप, खेतान ग्रुप, लक्की ग्रुप, केएल दुगड ग्रुप, विशाल ग्रुप, त्रिवेणी ग्रुप, आइएमई ग्रुप र प्रभु ग्रुप इच्छुक छन्।
यस्तै केएमजी ग्रुप, एमएस ग्रुप, चौधरी ग्रुप, केडिया अर्गनाइजेसन, एमसी ग्रुप, किरण सुज, भटभटेनी ग्रुप, कुमारी बैंक र सिद्धार्थ बैंकका संस्थापक सेयरधनीहरूको संस्थापक समूहले नयाँ स्टक एक्सचेन्जका लागि बोर्डमा आवेदन दिन लागेको हो।
नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय कारोबार गर्ने इच्छुक कम्पनीले आवेदन लिने म्याद कात्तिक १५ अन्तिम दिन रहेको धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए।
नयाँ स्टक एक्सचेन्ज, धितोपत्र दलाल व्यवसायी र वस्तु विनिमय बजार सञ्चालन प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश रहेको केसीले बताए।
‘अल्पकालीन अन्तरिम आदेशअनुसार कार्य यथास्थितिमा राख्न भनेको छ,’ केसीले क्यापिटल नेपालसँग भने, ‘सर्वोच्च अदालतले कात्तिक २२ गते बोलाएको छ। त्यस दिनको आदेशअनुसार थप काम अगाडि बढ्छ।’ बोर्डले नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार सञ्चालन गर्न इच्छुक कम्पनीको आवेदन दर्ता गरिरहेको केसीले बताए।
धितोपत्र बजार थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीमैत्री र अन्तर्राष्ट्रिय प्रविधिसहित क्षमतायुक्त बनाउन नयाँ स्टक एक्सचेन्ज खोल्न लागिएको बोर्डले जनाएको छ। अहिले सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मात्र सेयर कारोबार हुने गरेको छ।
नयाँ स्टक एक्सचेन्जका लागि तोकिएको समयभित्र निवेदन दिन बोर्डले लगानीकर्तालाई भनेको छ। संगठित संस्थाले निवेदनका साथ व्यावसायिक कार्ययोजना पनि पेस गर्नुपर्ने छ।
यस्तै स्टक एक्सचेन्ज स्थापना गर्न बोर्डबाट प्रदान गर्ने निर्देशिका २०७९ बमोजिम हुने भएको छ। बोर्डले परेका प्रस्तावमाथि अध्ययन गरेर नयाँ स्टक एक्सचेन्ज कम्पनी स्थापनाका लागि अनुमतिपत्र (लाइसेन्स) दिन सरकारलाई सिफारिस गर्ने छ।
नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका छन्। बोर्डमा एक स्टक डिलर, चार पूर्णकार्य र ४१ कम्पनीले सीमित कार्य गर्ने भन्दै आवेदन दिएका छन्। नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिन असोज ३१ अन्तिम दिन थियो।