काठमाडौं । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा गैर आवासीय नेपाली संघका पूर्वउपाध्यक्ष सोनाम लामाको ६ करोड रूपैयाँ लगानीमा अन्तर्राष्ट्रियस्तरको बुटिक रिसोर्ट 'लो मुस्ताङ हिमालय' रिसोर्ट निर्माण भएको छ।
सोनामले धार्मिक तथा अन्य पर्यटकसमेतलाई लक्षित गरी सुविधा सम्पन्न 'लो मुस्ताङ हिमालय' रिसोर्ट निर्माण गरेका हुन्। ‘कालिगण्डकी करिडोरमा सडक तथा अन्य पूर्वाधार पुगेसँगै पर्यटक आगमन पनि बढ्दो छ। स्तरीय होटल संरचनाको अभाव रहेकाले त्यहाँ स्तरीय होटल बनाइएको हो,’ लामाले भने । रिसोर्टमा १०० वटा कोठाहरू छन्।
बुटिक अवधारणामा बनेको होटल करिब १ सय रोपनी क्षेत्रफलमा फैलिएको छ। चारै दिशामा हिमाल अवलोकन गर्न सकिने रानीपौवा हाइटमा रहेको होटल क्षेत्रमै करिब ५ सय बोटको स्याउ फार्म पनि छ।
निलगिरी धौलागिरी जस्ता मनमोहक हिमालको घेराभित्र रहे जस्तै देखिने सो होटलमा पर्यटकको सेवाका लागि साउना स्पादेखि घोडा चढी सुविधा उपलब्ध हुने लामाले जानकारी दिए। स्थानीय समुदायसँग भाडामा जग्गा लिएर रिसोर्ट निर्माण गरिएको बताउँदै लामाले निश्चित अवधिपछि उक्त रिसोर्ट समुदायलाई नै हस्तान्तरण गरिने जानकारी दिए।
लामाको लगानीमा मन्दिर परिसरमा ३५ फिट अग्लो गौतम बुद्धको मूर्ति तयार भएको छ। सोही आकारकै भगवान विष्णुको मूर्ति पनि राख्न लागिएको छ। गौतम बुद्धको मूर्ति र रिसोर्टको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी शुक्रबार उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
त्यस्तै नयाँ बन्ने भगवान विष्णुको मूर्ति निर्माणको शिलान्यास पनि राष्ट्रपति भण्डारीले सोही दिन नै गर्ने कार्यक्रम तय भएको लामाले जानकारी दिए।
हिन्दु र बौद्धमार्गीको साझा तीर्थस्तल रहेको मुक्तिनाथ क्षेत्रमा विभिन्न गुम्बाहरू पनि छन्। मुक्तिनाथ क्षेत्रको समुचित विकासका लागि तय गरिएको गुरू योजनाको एक अंशका रूपमा ३५ फिट अग्लो पत्थरको मूर्ति बनाइएको हो।
पाटन औद्योगिक क्षेत्रमा तयार गरिएको मूर्ति मुक्तिनाथमा स्थापना गरिएको लामाले बताए। मूर्ति आसपास क्षेत्रमा ध्यान योग तथा दृश्यावलोकनका लागि उपयुक्त हुने गरी पार्क तथा अन्य संरचना पनि बनाइएको लामाले बताए। पाँच स्तुप र ११ ढुंगेधारा पनि त्यहाँ बनेका छन्।
सन् २०१३ देखि यो परियोजनामा जुटेका लामाले आफ्ना श्रीमती र छोरा छोरी समेतको ६ करोड रूपैयाँ लगानीमा पूर्वाधार निर्माण गरको बताए। मुक्तिनाथ मन्दिर नजिकैको रानी पौवामा यी संरचना बनेका छन्। समुद्र सतहबाट करिब ३ हजार सात सय मिटरको उचाँइमा बनेका संरचना आसपासबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दृश्यावलोकन गर्न सकिन्छ।
गुरूयोजना अनुरूप भगवान विष्णुको पनि ढुंगाकै ठूलो मूर्ति बनाउन लागिएको छ। यो मूर्ति स्थापनाका लागि गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले पनि ५० लाख रूपैयाँ सहायता गर्ने लामाले जानकारी दिए।
३५ फिट अग्लो विष्णु मूर्ति र सम्बन्धित अन्य संरचना निर्माणका लागि करिब ९ करोड रूपैयाँ लाग्ने अनुमान छ। विष्णु्को मूर्ति पनि पाटन औद्योगिक क्षेत्रमै निर्माण गरी त्यहाँ पुर्याइने लामाले जानकारी दिए। अमेरिकामा २७ वर्ष विभिन्न व्यवसाय गरेका लामा गैरआवासीय नेपाली संघमा १३ वर्ष आबद्ध भएका थिए।