काठमाडौं। निर्माण सुरु भएको ३४ वर्षमा राष्ट्रिय गौरवको ‘बबई सिँचाइ आयोजना’ को भौतिक प्रगति ६२.३१ प्रतिशतमात्र भएको छ।
आर्थिक वर्ष २०४५/४६ मा निर्माण सुरु भएको बबईको काम २०७९ असोज मसान्तसम्म ६२.३१ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ।
आयोजनाले बर्दिया जिल्लाको ३६ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ पुर्याउने योजना बनाएको थियो। जसमध्ये हालसम्म बाह्रै महिना सिँचाइ भने २३ हजार ६ सय हेक्टरमा मात्र उपलब्ध रहेको आयोजनाका कम्प्युटर अपरेटर कमलराज रेग्मी बताउँछन्।
सिंचाइ आयोजनाका रूपमा मात्रै रहेको बबईलाई २०७१ सालमा सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको थियो।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) रामकृष्ण घोरासैनीका अनुसार राष्ट्रिय गौरवमा समावेश नगर्दासम्म आयोजनाका लागि पर्याप्त बजेट प्राप्त हुन्थेन। जसका कारण निर्माण सुरु भएको लामो समयसम्म कामले तीव्रता पाउन सकेको थिएन। तर, २०७१ पछि भने बजेटको समस्या छैन।
आयोजना पूरा गर्न १८ अर्ब ९६ करोड ४४ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको छ। हालसम्म ५९.५६ प्रतिशत रकम खर्च भएको छ। चालू आर्थिक वर्ष आयोजनालाई १ अर्ब ५२ करोड ८४ लाख रुपैयाँ बजेट प्राप्त भएको छ। आयोजना निर्माणको म्याद आर्थिक वर्ष २०८२/८३ सम्म छ।
सरकारले स्वदेशी लगानीमा निर्माण गरिरहेको बबई सिँचाइ आयोजनामा अर्को राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यी आयोजना पनि जोडिने छ। पूर्वी नहरले २१ हजार हेक्टर जमिन र पश्चिम नहरले १५ हजार हेक्टरमा सिँचाइ पुग्ने छ।
जसमध्ये पूर्वी नहरतर्फको ३४ किलोमिटर लामो मूल नहर निर्माण पूरा भइसकेको छ। तर, भेरी बबईको निर्माण पूरा नहुन्जेल बबई आयोजनाले पूर्वी नहरलाई बाह्रै महिना चलाउन नसक्ने कम्प्युटर अपरेटर रेग्मीको भनाइ छ। बबई नदीको पानीले मात्रै लक्ष्य पूरा गर्न सम्भव नभएपछि भेरी बबईको पानी बर्दियामा ल्याउन लागिएको हो।
‘पूर्वी नहर निर्माण सकिएको दुई वर्ष भइसक्यो तर भेरी बबईबाट पानी नआएसम्म यहाँको पानीले मात्रै चलाउन सकिँदैन,’ रेग्मीले क्यापिटल नेपालसँग भने, ‘पश्चिमतर्फको ४१.०८ किलोमिटर र जम्ती बर्गदातर्फको १५.९५ किलोमिटर मूलनहर निर्माणाधीन अवस्थामा छन्।’
त्यस्तै शाखा/प्रशाखा ३ सय १३ किलोमिटर निर्माण गर्नुपर्नेमा २०७९ असोज मनान्तसम्ममा २ सय ३५ दशमलव ६३ किलोमिटरमात्र निर्माण पूरा भएको छ।नहर पूर्णरूपले पानी बन्द गरेर निर्माण कार्य सञ्चालन गर्न नमिल्ने आयोजनाले जनाएको छ।
आयोजना निर्माण सुरु गर्ने बेला किसानलाई सिंचाइको आवश्यकता पर्ने समयमा नहरमा पानी छाड्ने सहमति भएको थियो। सोहीअनुसार त्यहाँका उपभोक्ता समितिले नहरमा पानी सञ्चालन तथा बन्द गर्ने निर्णय गर्दछन्।
उक्त निर्णयले आयोजना सञ्चालन र बन्द गर्ने समय निर्धारण गर्ने आयोजनाको भनाइ छ। सामान्यतयाः मंसिर १५ बाट जेठ १५ सम्म निर्माण कार्यले तीव्रता पाउने गर्छ।
वर्षा मौसम भर्खरै सकिएकाले चालू आर्थिक वर्ष निर्माणको काम अब सुरु हुने आयोजनाले जनाएको छ। जसका कारण प्राप्त बजेट पर्याप्त हुन्छ वा थप बजेट माग गर्नुपर्छ भन्ने अहिले नै भन्न नसक्ने रेग्मीको भनाइ छ। निर्माण कम्पनीले काम गरेअनुसार बजेट खर्च हुने उनले बताए।