काठमाडौं। नेपाल वायुसेवा निगम (नेवानि) ले आइतबार दिउँसो १ः४५ बजे नयाँदिल्ली उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति नै नलिएको खुलासा भएको छ।
प्राधिकरणबाट हरेक उडानका लागि तालिका स्वीकृत गर्नुपर्छ। तर, निगमले आइतबार गर्न खोजेको दिल्ली उडानका लागि प्राधिकरणबाट अनुमति लिएको थिएन। बिनाअनुमति दिल्ली उडान गर्न यात्रुहरुलाई बोर्डिङ पाससमेत दिएपछि उडानमा रोक लगाइएको थियो।
अनुमति नै नलिई दिल्ली उडान गर्न लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनले निगमको उक्त उडान रोकेको थियो। जसका कारण दिल्ली जान लागेका २ सय ५६ यात्रु अलपत्र परे।
प्राधिकरण र निगमबीचको लफडाका कारण यात्रुले दुःखमात्र पाएनन्, निगमलाई ठूलो आर्थिक घाटासमेत बेहोर्नुपरेको छ। अहिले ती यात्रुलाई निगमकै खर्चमा विभिन्न होटलमा राखिएको छ।
उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार निगमले आइतबार दिल्ली उडान गर्न अनुमति नै पाएको थिएन। प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न भन्दै उडान तालिका कटौती गरेको थियो।
सोही कटौती तालिकाअनुसार प्राधिकरणले आइतबारको दिल्ली उडान रोकेको हो। तर, निगमले भने जबर्जस्ती त्रिभुवन विमानस्थलबाटै दिल्ली उडान गर्न यात्रुलाई बोर्डिङ पास समेत बाँडेको थियो।
निगमका प्रवक्ता अर्चना खड्काले आइतबारका लागि उडान अनुमति मागिए पनि प्राधिकरणले स्वीकृत नगरेको बताइन्। आइतबारको दिल्ली उडानका लागि अनुमति लिन बिहानैदेखि प्रयास गरे पनि अन्तिममा असफल भएका कारण यात्रुले दुःख पाएको उनको भनाइ छ।
‘सुरुमा प्राधिकरणले पनि आइतबार दिल्ली उडान अनुमति दिन लचकता देखाएको थियो। त्यही भएर हामीले यात्रुलाई बोर्डिङ पास दिएका थियौं,’ प्रवक्ता खड्काले क्यापिटल नेपालसँग भनिन्, ‘अन्तिममा अनुमति पनि दिइएन। यात्रुहरु अलपत्र परे। उनीहरुलाई सोमबार बिहानको उडानमा दिल्ली पठाउने छौं।’
नेवानीले दिल्लीका लागि साताको १४ उडान गर्न अनुमति मागेको थियो। तर, प्राधिकरणले त्यसमा चारवटा कटौती गरी १० मात्र सञ्चालन गर्न स्वीकृति दिएको थियो।
सोही चार उडान कटौती हुँदा आज आइतबारको दिल्ली उडान रोकिएको हो। नेवानिले आफ्नो आधिकारिक वेबसाइटमा भने कात्तिक १२ (शनिबार) सम्मको मात्र उडान तालिका प्रकाशित गरेको छ। तर, उसले आन्तरिक तालिकामा भने आजको दिल्ली उडान राखेको छ। दिल्ली उडान गर्न क्याप्टेन महेश्वरमान डंगोल र कोपाइलट प्रशान्त श्रेष्ठ तयार थिए।
‘हामीले दिल्लीका लागि पुरानै तालिका (सातामा १४ उडान) लाई निरन्तरता दिन प्राधिकरणलाई आग्रह गरेका थियौं,’ प्रवक्ता खड्काले भनिन्, ‘त्यहीअनुसार टिकट बिक्री गरिएको थियो। तर, अन्तिममा आएर प्राधिकरणले अनुमति दिएन।’
खड्काका अनुसार दिल्ली जान रोकिएका २ सय ५६ यात्रुमध्ये ४० जनालाई आइतबारै ‘रि–रुट’ गरी विभिन्न वायुसेवाबाट पठाइसकिएको छ।
यता, नगारिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राख्दै निगमका चार उडान कटौती गरिएको बताए।
प्राधिकरण मुलुकको उड्डयन क्षेत्रको नियामक तथा मुलुकभरिका सबै विमानस्थल सञ्चालन गर्ने प्रमुख निकाय हो।
‘कुन विमानस्थलबाट कुन वायुसेवालाई कति संख्यामा उडान गर्न दिने भन्ने अधिकार प्राधिकरणको हो,’ महानिर्देशक अधिकारीले क्यापिटल नेपालसँग भने, ‘यसमा निगममा होइन, कुनै पनि वायुसेवा कम्पनीले जबर्जस्ती उडान गर्न पाउँदैनन्। बिनाअनुमति उडान गर्नु भनेको उड्डयन नियम उल्लंघन गर्नु हो। त्यही भएर हामीले निगमलाई २४ घन्टे स्पष्टीकरण सोधेका हौं।’
नेवानिलाई २४ घन्टे स्पष्टीकरण
प्राधिकरणबाट उडान तालिका स्वीकृत नै नगराइ यात्रुलाई बोर्डिङ पास दिएको विषयमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई २४ घन्टे स्पष्टीकरण सोधिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले आइतबारको दिल्ली उडान रद्द भएको विषयमा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधिएको जानकारी दिए।
‘यात्रुहरुलाई बिनाअनुमति बोर्डिङ पास दिएर अलपत्र पार्ने निगमका कर्मचारीलाई २४ घन्टाभित्र कारबाही गरी जानकारी गराउन र के कारणले उडान गर्न खोजिएको हो भन्ने विषयमा स्पष्टीकरण सोधेका छौं,’ महाप्रबन्धक ठाकुरले भने।