मस्को (रुस) । रुसले युक्रेनसँगको अन्न निर्यात सम्झौता स्थगित गरेको छ । क्रिमियाको सिभास्तोपोल बन्दरगाहमा रहेका रुसी जहाजहरुमाथि युक्रेनले ड्रोन आक्रमण गरेपछि रुसले सो सम्झौता निलम्बन गरेको हो । युक्रेनमा भएको अन्न कृष्ण सागर बन्दरगाहहरुबाट निर्यात गर्न अनुमति दिने गरी रुस र युक्रेनबीच सो सम्झौता भएको थियो ।
रुसले फेब्रुअरीको अन्त्यतिर युक्रेनमा आक्रमण गरेपछि विश्वभर खाद्यान्न आपूर्ति प्रभावित भएर गहुँ, मकैलगायत अन्नहरुको भाउ अकासिएपछि संयुक्त राष्ट्रसंघ (यूएन) र टर्कीको पहलमा जुलाई २२ मा सो सम्झौता भएको थियो । सम्झौता १२० दिनसम्मका लागि लागू भएको थियो ।
यो सहमतिअनुसार एशिया र अफ्रिकासहित संसारभरी रुस र युक्रेनका अन्न पुग्न थालेपछि विश्वमा खाद्य महँगी विस्तारै कम हुँदै गएको थियो । सम्झौतामा हस्ताक्षर भएको भोलिपल्टै रुसले युक्रेनी बन्दरगाहमा आक्रमण गरेपछि सम्झौता लागू हुन्छ कि हुँदैन भन्ने धरमरबीच सम्झौता कार्यान्वयनमा आएको थियो ।
तर, फेरि अन्न निर्यात रोकिँदा अब महँगी बढ्न सक्ने अनुमान गर्न थालिएको छ । युक्रेनले उक्त आक्रमणको जिम्मा लिएको छैन । रुसको पछिल्लो कदमलाई युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेनस्कीले अनुमान गरेअनुरुप भनेका छन् । नागरिक जहाजहरुमा समेत आक्रमण भएको आरोप रुसको छ ।
प्रमाण नै नदेखाइकन रुसले हमलामा बेलायतको समेत संलग्नता रहेको आरोप लगाएको छ । गएको महीना ग्यास पाइपलाइनमा भएको आक्रमणको दोष पनि उसले बेलायतमाथि लगाएको छ । शनिबारको आक्रमणमा अन्न निर्यात सम्झौतामा संलग्न जहाजहरुमाथि लक्षित भएको रुसको रक्षा मन्त्रालयको भनाइ छ ।
यस घटनामा आफूले १६ वटा हवाई र समुद्री ड्रोन नष्ट गरेको दाबी रुसले गरेको छ । यस मामिलामा आरोप प्रत्यारोप बढिरहँदा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भने रुसले खाद्यान्नलाई शस्त्रको रुपमा प्रयोग गरेको आरोप लगाएको छ ।
आफ्नो निर्यातमा अवरोध भइरहेको भन्दै रुसले यस अघि नै सम्झौताको अवधि सकिएपछि यसको नवीकरण नगर्ने बताएको थियो । हालैका महीनामा जानी जानी जहाजहरुको आवागमनलाई सुस्त बनाएर कृष्ण सागरमा १७० ओटा भन्दा धेरै वटा जहाजको लाम बनाएको भन्दै युक्रेनले रुसमाथि आरोप लगाएको थियो ।