काठमाडौं । सरकारी स्वामित्वको नेपाल एयरलाइन्स (एनएसी) र निजी लगानीमा सञ्चालित हिमालय एयरलाइन्सको उडान तालिका कटौती भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पटक पटकको ताकेता गर्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नगरेपछि आइतबारबाट लागू हुने गरी दुबै वायुसेवाकाे उडान तालिकामा कटौती गरेको हो ।
नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स दुबैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न लिएको तालिकामा ३ वटा बराबरको १ उडान कटौती गरेको प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कटौती भएको उडान तालिका अब गौतमबुद्धबाट गर्नुपर्छ । तर, अहिलेसम्म नेपाल एयरलाइन्स र हिमालयले गौतमबुद्धबाट उडानका लागि कुनै सुरसारसमेत गरेको छैन ।
प्राधिकरणले कटौती भएको उडानहरु गौतमबुद्धबाट गर्नका लागि समेत निर्देशन जारी गरिसकेको छ । नेपाल बेस भएर उडान गर्ने एयरलाइन्सहरुलाई आइतबारबाट २५ मार्च २०२३ सम्मका लागि तय गरिने नयाँ तालिकामा कटौती गरेको हो ।
योसँगै नेपाल उडान गर्ने अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सलाई पनि फेब्रुअरी १५,२०२३ सम्मका लागि ३ वटा उडान गर्नेहरुको २ वटा दिएको २०२२ डिसेम्बर १५ सम्मका लागि १ वटा उडानका लागि अनुमति दिएको र १६ डिसेम्बरपछि अनिवार्य रुपमा गौतमबुद्धबाट उडान गर्नुपर्ने जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे विस्तारका कामसँगै भैरहवाको विमानस्थलमा पनि उडान बढाउनु पर्ने भएकोले बाध्यकारी नियम ल्याएको सूचना अधिकारी भूलले जानकारी दिए ।
स्वदेशी एयरलाइन्सले नै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नलाई आनाकानी गर्दा विदेशीलाई दबाब दिन समस्या भएकोले नेपाल एयरलाइन्स र हिमालयलाई सुरुमा बाध्यकारी बनाएको र पछि अन्य एयरलाइन्सलाई पनि भैरहवामा जानुपर्ने बाध्यकारी बनाउने तयारी प्राधिकरणको छ ।
प्राधिकरणले केहि दिन अघि नेपाल एयरलाइन्स र हिमालयलाई पत्रचार गर्दै गौतमबुद्धबाट उडान गर्न निर्देशन दिइसकेको थियो । दुवै एयरलाइन्सले कहाँ कहाँको उडान कटौती गरेको हो भन्ने तालिका भने सार्वजनिक गरेको छैन ।
प्राधिकरणले हाल भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजको ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिएको छ। विमानस्थल सञ्चालनमा आएको एक वर्षसम्मका लागि ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षा लगायत शुल्कमा एक वर्षसम्म छुट दिइएको हो।
हाल जजिरा एयरलाइन्सले मात्र गौतमबुद्ध विमानस्थलबाट उडान गरिरहेको छ ।