काठमाडौं। विदेशीले चलाएका पुरानालाई नयाँ भन्दै भित्र्याउन लागिएका र भित्रिएका ल्यापटप जफत गर्ने तयारी भन्सार कार्यालयले गरेको छ। यस्ता ल्यापटप १ हजार ५ सयथान हाराहारी छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जाँचका क्रममा नयाँ ल्यापटपसँग मिसाएर पुराना ल्यापटप तथा कम्प्युटर नयाँ भन्दै भित्र्याउने र बेच्ने गरेको फेला पारेको छ।
सोही ल्यापटप जफत गर्ने तयारी भन्सार कार्यालयले गरेको हो। कार्यालयले जाँच गर्दा करिब ६ सयहाराहारी अयोग्य ल्यापटप फेला पारेको छ। विभिन्न ६ कम्पनीले भित्र्याउन लागेका ६ सय ल्यापटप तथा ‘डिक्लियर’ नभएका ९ सयदेखि १ हजार जति ल्यापटप गरी १ हजार ५ सयथान जफत गर्न लागिएको भन्सार कार्यालय स्रोतले जानकारी दियो।
भन्सार कार्यालयले सुरुमा ल्यापटपका बनोट र यसका प्रविधि जाँच गरेको थियो। यसरी जाँच गर्दा कतिपयका किबोर्डमा दाग बसेको तथा धुलो लागेको, अक्षर तथा शब्द मेटिएको भेटिएको थियो। यस्तो कम्प्युटर र ल्यापटप दुवैमा देखिएको थियो।
नेपाल भित्रिएका ल्यापटप तथा कम्प्युटरमा यो खालको अवस्था देखिएपछि भन्सार कार्यालयले उपसचिवहरू अम्बिका खनाल र मुक्ति श्रेष्ठ राखेर छानबिन समिति बनाएको थियो। छानबिन समितिले सबै ल्यापटप तथा कम्प्युर एक–एक हेरेर जाँचपास गर्न योग्य र अयोग्य भनेर छुट्ट्यायो। जसमा ६ सयहाराहारीमा अयोग्य भेटिएका थिए।
कार्यालयका अनुसार जाँचपास गर्न अयोग्य ल्यापटपमा पहिल्यै ‘वारेन्टी’ सकिएका पनि धेरै थिए।
‘जाँचपास गर्न अयोग्य ल्यापटपका सन् २०१७ मै वारेन्टी सकिएको तर नयाँ भनेर बेच्न ल्याउने गरिएको पाइयो,’ स्रोतले क्यापिटल नेपालसँग भन्यो ‘वारेन्टी सकिएको ल्यापटपका साथमा रहेका किबोर्डहरूमा दाग बसेको तथा धुलो लागेको, अक्षर तथा शब्द मेटिएको पनि बढी भेटिएका छन्।’
उताबाट ल्याइएका पुराना ल्यापटपलाई नयाँसँगै मिसाएर ल्याइने गरेको र पुरानोलाई पनि नयाँ भनेर नयाँसरह कर बुझाउने गरेको स्रोतको भनाइ छ।
‘उनीहरूले झुक्याउनलाई नयाँ र पुरानो ल्यापटप मिसाएर ल्याउने गरेको पाइयो। सबैको एक–एक परीक्षण गर्न र हेर्न कठिन हुने हुँदा मानिसलाई हेर्दा नयाँ देखिने तर शंका गर्ने ठाउँ नहुने गरी ल्याउँदा रहेछन्,’ स्रोतले भन्यो, ‘तर, उनीहरूले चलाखी के गरे भने पुराना ल्यापटपको मूल्य पनि नयाँसरह नै राखे। सरकारलाई कर बुझाउँदा पनि नयाँकै कर बुझाउने काम गरे।’
स्रोतका अनुसार उताबाट सेकेन्ड ह्यान्ड, थर्ड ह्यान्ड ल्याउने तर यहाँ हेर्दा सरकारलाई नयाँको कर बुझाउने तथा बाहिरबाट हेर्दा खोल पनि नयाँमा नै लिएर आउने गरेका छन्। नयाँ नै ल्यापटप आएको हो भन्ने भ्रम पार्ने काम गरिएको छ।
जफत कार्यमा सहजीकरण खोज्दै भन्सार
भन्सार ऐनअनुसार कैफियत (अरूले चलाइसकेका तथा पुराना) ल्यापटपका हकमा जफत गर्ने, जरिवाना गर्ने अथवा फिर्ता गर्ने भन्ने तीन विकल्प हुन्छन्।
‘अहिले तत्काल फिर्ता पठाउँदा उनीहरूको मनोबल बढ्छ। हदै भए फिर्ता हुने त हो नि भन्ने सोच्न सक्छन्। जफत गर्दा अदालत जान्छन् भन्ने भयो,’ स्रोतले भन्यो, ‘प्राविधिक रूपमा हामीलाई अप्ठेरो पर्ने र जनशक्ति पनि पर्याप्त नभएका कारण वातावरण मन्त्रालयबाट पुराना ल्यापटप हो भन्ने प्रमाणित गर्ने प्रक्रिया पूरा गर्न हामी लागेका छौं।’
स्रोतका अनुसार कार्यालयले वातावरण विभागलाई पत्र लेखिसकेको छ। वातावरण विभागको स्वीकृति प्राप्त भएपछि जफत गरिने छ। हाल अयोग्य देखिइसकेका ६ सयसहित १ हजार ५ सयहाराहारी ल्यापटप जफत हुनेछ।
त्यस्तै कार्यालयले बजार अनुगमन गर्ने निकायले यस विषयमा पनि ध्यान दिन आवश्यक रहेको जनाएको छ। प्राविधिक विषय अनुगमन नहुने भन्दै मोबाइल र ल्यापटपको बजार अनुगमन नगर्नाले यस्ता गतिविधि थप सहज बनाइदिएको कार्यालयको भनाइ छ।