एजेन्सी। अमेरिकी जहाज निर्माता कम्पनी बोइङले उत्पादन गरेको ‘बोइङ७१७’ संसारकै सबैभन्दा सुरक्षित जहाजमा परेको छ।
बोइङले संसारका ठूला जहाज निर्माता कम्पनीद्वारा उत्पादित सबै सिरिजका जहाजमा यात्रुको मृत्यु नहुने वा जहाजमा क्षति नहुने गरी भएका दुर्घटनालाई आधार मानेर तयार पारेको प्रतिवेदनअनुसार बोइङ७१७ सिरिजको जहाज सबैभन्दा सुरक्षितमा परेको हो।
बोइङले गएका ६२ वर्ष (सन् १९५९ देखि २०२१) अवधिमा नियमित यात्रुवाहक उडान गरेका जहाजका दुर्घटनालाई आधार मानी उक्त प्रतिवेदन तयार गरेको हो। उक्त प्रतिवेदनमा स्वयं बोइङ, युरोपेली जहाज निर्माता कम्पनी एयरबस र क्यानडाको जहाज निर्माता ‘क्यानेडियन रिजनल जेट’ (सिआरजे) का जहाजका उडान तथ्यांक समावेश छन्।
बोइङले प्रत्येक सिरिजका जहाजको १० लाख उडानलाई मात्र उक्त प्रतिवेदनमा समावेश गरेको छ। उसले यस्तो प्रतिवेदन दशकौंदेखि सार्वजनिक गर्दै आएको छ।
प्रतिवेदनअनुसार दोस्रो सुरक्षित जहाजमा बोइङकै ‘बोइङ७७७–३००ईआर’/‘२००एलआर’ सिरिजका जहाज परेको छ। तेस्रो स्थानमा युरोपेली एयरबसको ‘ए३८०’ सिरिजको जहाज परेको छ। यो जहाज एकैपटक सबैभन्दा धेरै यात्रु बोक्ने संसारकै ठूलो जहाज हो।
त्ययसपछि क्रमशः ‘बोइङ७८७’, एयरबस ‘ए३५०’, ‘बोइङ७४७–८’, ‘ए३२०/३२१निओ’, ‘ए२२०’, ‘सिआरजे७००/७००/१०००’ र ‘ए३४०’ सिरिजका जहाज सुरक्षित जहाजका रूपमा परेका छन्।
संसारमा हवाईजहाज उत्पादन गर्ने ठूला कम्पनीमा बोइङ र एयरबस हुन्। अन्य कम्पनी पनि छन्। अमेरिकाको बोइङ १ सय ६ वर्षअघि सन् १९१६ मा विलियम बोइङले स्थापना गरेका थिए। बोइङले २०२१ मा साढे ६२ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो। यसमा ३५ हजार ९ सय २६ कर्मचारी काम गर्छन्।
बोइङले हालसम्म १० हजारथान भन्दा बढी जहाज उत्पादन गरिसकेको छ। यो संख्या विश्वभरि सञ्चालनमा रहेका कूल जहाजको लगभग आधा हो। कम्पनीले २०१९ मा ३ सय ८० थान जहाज उत्पादन गरेको थियो।
बोइङको प्रतिस्पर्धी युरोपको एयरबस ५१ वर्षअघि १९७० मा स्थापना भएको थियो। गत वर्ष एयरबसले ५२ अर्ब १५ करोड युरोबराबर आम्दानी गरेको थियो। यसमा १ लाख २६ हजार ४ सय ९५ कर्मचारी कार्यरत छन्।
एयरबसले हालसम्म १२ हजारथान भन्दा बढी जहाज उत्पादन गरिसकेको छ। यो संसारमा रहेका जहाजको कूल संख्याको आधा हो। एयरबसले २०१८ मा ८ सयथान जहा उत्पादन गरेको थियो।