एजेन्सी। सन् २०२१ मा २ अर्ब ७० करोड टन ‘बिलेट’ को कच्चा वस्तु (आइरन ओर) उत्खन्न भएको छ। विश्वका ५० देशले आइरन ओर उत्खनन गर्दै आएका छन्। तीमध्ये सात देशको हिस्सा ८२ प्रतिशत छ।
जसमध्ये सबैभन्दा बढी आइरन ओर उत्पादन गर्ने देश अस्ट्रेलिया हो। अस्ट्रेलिया एक्लैले ९० करोड टन आइरन ओर उत्पादन गरेको छ। त्यसपछि दोस्रोमा दक्षिण अमेरिकाको ब्राजिल छ।
एक वर्षमा ब्राजिलले ३८ करोड टन उत्पादन गरेको छ। तेस्रोमा रहेको चीनले ३६ करोड टन उत्खन्न गरेको छ। चौथोमा रहेको भारतले एक वर्षमा २४ करोड टन र रुसले १० करोड टन आइरन ओर उत्पादन गरेका छन्।
त्यसैगरी युक्रेन, क्यानडा, दक्षिण अफ्रिका, इरान र अमेरिकाले पनि आइरन ओर उत्पादन गर्दै आएका छन्। १६ देशबाहेक अन्यले ९ करोड टन आइरन ओरको उत्पादन गरेका छन्।
आइरन ओर प्रशोधन गरेपछि स्टिलको कच्चा वस्तु बिलेट बन्छ र त्यसपछि रडलगायत फाइनल प्रडक्ट बन्ने गरेको छ।
अस्ट्रेलिया र ब्राजिलको विश्व बिलेट बजारमा ठूलो हिस्सा छ। यी दुई देश विश्वका मुख्य आइरन ओर निर्यातकर्ता हुन्। यो मुख्यतया ९८ प्रतिशत इस्पात बनाउन प्रयोग गरिन्छ। बाँकी दुई प्रतिशत चुम्बक, अटो पार्ट्समा प्रयोग हुने गरेको छ।
अक्सिजन, सिलिकन र एुलुमिनियमपछि पृथ्वीमा फलाम चौथो सबैभन्दा प्रचुर तत्व हो। अस्ट्रेलियाले गत वर्ष खनिएको फलामको ३५ प्रतिशत उत्पादन गरेको थियो। देशमा पहिचान गरिएका फलाम स्रोतको लगभग ९० प्रतिशत पश्चिमी अस्ट्रेलियाको पिलबारा क्षेत्रमा छ।
अस्ट्रेलियाको यो ठूलो र सुक्खा क्षेत्र हो। त्यहाँ आदिवासीको बसोबास छ। तीन प्रमुख पिलबारा फलाम ओरक उत्पादक बिएचपी समूह, रियो टिन्टो लिमिटेड, र फोर्टेस्क्यु मेटल कम्पनी हुन्।
ब्राजिलको सबैभन्दा ठूलो सार्वजनिक कम्पनी भेल, विश्वको सबैभन्दा ठूलो फलाम र निकल उत्पादक हो। कम्पनीले संसारको सबैभन्दा ठूलो फलाम खानी ‘काराजस’ चलाउँछ। देशको उत्तरी भेगस्थित पारा राज्यमा रहेको यो खानी खुला खाडल खानीका रूपमा सञ्चालन गरिन्छ र यसमा लगभग ७.२ अर्ब टन फलाम रहेको अनुमान छ।
सँगै, अस्ट्रेलिया र ब्राजिलले विश्व फलाम निर्यातमा प्रभूत्व जमाउँछन्। दुवैले कूल निर्यातको लगभग एक तिहाइ हिस्सा ओगटेका छन्। चीन फलामको सबैभन्दा ठूलो उपभोक्ता हो। यसको इस्पात उद्योगमा बढी खपत हुन्छ।
तेस्रो ठूलो उत्पादक भए पनि चीनले अझै हरेक वर्ष प्रयोग गर्ने फलामको लगभग ८० प्रतिशत आयात गर्छ। गत वर्ष चीनले १ अर्ब १२ करोड टन वस्तु भित्र्याएको थियो।
हरित अर्थतन्त्रमा फलाम ओर महत्वपूर्ण वस्तु हो। ऊर्जा उत्पादन र वितरणमा फलामबाट बन्ने इस्पातले महत्वपूर्ण भूमिका खेल्ने भएकाले आगामी वर्ष फलामको माग बढ्ने अपेक्षा छ। कृषि, सौर्य र वायु उर्जा तथा जलविद्युत पूर्वाधारमा पनि इस्पातको व्यापक प्रयोग हुन्छ।
यसबाहेक जहाज, ट्रक र रेलसँगै ट्रान्सफर्मर, जेनेरेटर र विद्युतीय मोटर उत्पादन गर्न स्टिल प्रयोग गरिन्छ।