काठमाडौं। भाइटीका लगाउने चलन परापूर्वकालमा मृत्युका राजा यमराजलाई उनकी बहिनी यमुनाले टिका लगाएपछि सुरु भएको मानिन्छ।
यमराज यमलोकमा बस्ने र बहिनी यमुना पृथ्वी लोकमा बस्ने गरेको विश्वास गरिन्छ। यमपञ्चकको समयमा यमुनाले दाइलाई भेट्न बोलाएको र भाइटीकाको दिन दाइलाई टिका लगाएर पूजा गरी उपहार दिएको पौराणिक कथामा उल्लेख छ। साथै, दाइ यमराजले पनि बहिनी यमुनालाई टिका लगाएर उपहार तथा आशिर्वाद दिएको पौराणिक कथन छ।
यमपञ्चकमा पाँच दिन पर्ने गर्दछ। पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन गाई तिहार तथा लक्ष्मी पूजा गरिन्छ। त्यस्तै चौथो दिन गोवद्र्धन, गोरु एवं म्ह पूजा र पाँचौं दिन भाइटीका पर्ने गर्छ।
तिहारको तयारीमा दिदीबहिनी भाइटीकाको केही दिन अगाडिबाटै लाग्ने गर्छन्। त्यतिमात्र नभई धार्मिक शास्त्रमा पनि भाइटीकाको दिन कुनै परिकार बनाउने तथा माला उन्न नहुने उल्लेख छ। सोही कारण दाजुभाइलाई दिने उपहार र माला अघिल्लो दिनमै तयार गर्ने गरिन्छ।
त्यस्तै भाइटीकाको दिन टिका नलगाइ केही खान नहुने र दिदीबहिनीले नुहाएको चिसो कपालले दाजुभाइलाई दुबो तथा मखमलीमा तोरीको तेल लगाएर घेरा बनाइ छेक्नुपर्ने धार्मिक मान्यता छ।
भाइटीकाका लागि ओखर, तोरीको तेल, बिमिरो, मसला (ल्वाङ, सुकुमेल, दालचिनी), मखमली, दुबो र सयपत्रीको माला चाहिन्छ। साथै, सेलरोटीलगायत परिकार पनि आवश्यक हुन्छ।
सबैभन्दा पहिले दियो, कलश र गणेशको पूजा गरी बिमिरो पूजा गर्नुपर्छ। त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै घरको ढोकामा ओखरको तथा यमराजको पूजा गरी मृत्युको बाटो छेक्नुपर्ने मान्यता छ।
फूल, अक्षता, चन्दन र लाभाले पूजा गरी दाजुभाइको शीरमा तेल लगाइदिनुपर्छ। सगुनका रूपमा दही दिनुपर्छ। भाइटीकाको दिन दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दुबोको मालाको छुट्टै महत्व छ। मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ उडेर जाँदैन भने दुबो सधैं हरियो रहन्छ।
तिहारमा सप्तरङ्गी टिका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टिकाको रङ रातो, सेतो, पहेँलो, हरियो र निलो गरी पाँचवटा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
तिहारमा के–के दिन्छन् उपहार?
तिहारमा दिने उपहार भनेपछि विशेषगरी खानेकुरालाई नै बुझिन्छ। नेपाली समुदायमा ठाउँअनुसार फरक–फरक परिकार बनाउने परम्परा र सीप छ।
त्यति हुँदाहुँदै नेपालका हरेक क्षेत्रमा प्रचलित एउटै परिकार हो सेल। सायद, सेलबिना तिहार मनाउन सकिँदैन। त्यस्तै अनरसा, फिनिरोटी र सातपत्रे जस्ता केही परिकार धेरै ठाउँमा बन्ने गर्छ। साथै लड्डु, पेँडा, लालमोहन पनि उपहारमा दिने गरिन्छ।
त्यसबाहेक ठाउँअनुसार आ–आफ्नै तरिकारले तिहारका लागि मिठाइ तथा खानेकुरा बनाउने चलन छ। केही मिठाइका परिकार बनाउने तरिका र लक्ष्मी पूजा गर्दा ध्यान दिनुपर्ने कुरा यस्ता छन्।
सेल रोटी
सेल रोटी बनाउन भिजाएका चामल पिठो, थोरै घ्यू, चिनी, सोडा वा बेकिङ पाउडर, ल्वाङ, सुकुमेलको धुलो, सुजीको पिठो र पानी चाहिन्छ। यी सबै कुरा आवश्यकताअनुसार मिसाएर पिठो केही गिलो अर्थात हातमा लिन मिल्ने गिलो बनाएर मुछ्नुपर्छ। मुछेको पिठोलाई बोतल वा हातले नै तातो तेलमा गोलो बनाएर पकाउनुपर्छ। गोलो बनाउन कराई (प्यान) मा दियो वा कचौरा राख्नुपर्ने हुन्छ।
अनरसा
चामललाई राम्रोसँग पखालेर भिजाइ पानी तारेर पिठो बनाउनुपर्छ। अनरसाका लागि पिठो भने धेरै मसिनो हुनुपर्छ। लगभग पिठो जति नै चिनी राखेर मज्जाले मुछ्नुपर्छ। तर, पानीको प्रयोग भने नगर्दा राम्रो हुन्छ, यदि गर्नैपरे थोरै मात्रामा पानी राखेर पिठो मुछ्न सक्नुहुन्छ।
तपाईंले जति धेरै समय पिठो माडेर मुछ्नुहुन्छ, त्यति नै अनरसा राम्रो बन्छ। बिस्तारै पिठो हल्का गिलो भएपछि स–साना डल्ला बनाउनुपर्छ।
सेतो प्लास्टिक वा नाङ्लोमा थोरै तील र चामलको खस्रो पिठो राख्नुपर्छ। जसका कारण तपाईंले बनाउनुभएको अनरसा उक्किन सजिलो र हेर्दा आकर्षक पनि हुन्छ। तीलमाथि पिठोको सानो डल्लो राखेर औंलाको सहायताले बिस्तारै गोलो आकारमा फिजार्दै जानुहोस्। सामान्यतयाः आफनो हत्केला जत्रो अनरसा बनाउँदा राम्रो देखिन्छ।
उक्त फिजारिएको पिठोलाई तातो तेलमा तीलको दाना माथितिर पर्ने गरी हाल्नु होला र हल्का रातो भएपछि निकाल्नुहोस्, यसरी अनरसा तयार हुन्छ।
जेरी कसरी बनाउने?
जेरी बनाउन मैदा, दही, घ्यू, चिनी, सुकुमेल, बेकिङ पाउडर, अरेन्ज फुड कलर र पानी आवश्यकता पर्छ। आफ्नो आवश्यकताअनुसार तपाईंले एउटा भाँडोमा माथि भनिएकोमा चिनीबाहेक सबै सामान हाल्नुहोस्।
त्यसलाई राम्रोसँग मुछेर (मिक्स गरेर) खुला ठाउँमा राख्नुस्। ख्याल गर्नुहोला मुछेको पिठो धेरै गिलो वा सारो भने बनाउनु हुँदैन। त्यसपछि तपाईंले चिनीपानी पकाएर चास्नी बनाउन सक्नुहुन्छ। ८÷१० घन्टापछि मुछेको पिठो तातो तेलमा पकाएर अर्को भाँडामा रहेको चास्नीमा डुबाएपछि जेरी तयार हुन्छ।
रसबरी
रसबरी बनाउन तताएको दूधमा कागतीको रस वा भिनेगर हालेर फटाउनुपर्छ। सँगै अर्को भाँडामा चिनी पानी पकाउन भने नबिर्सिनु होला। फाटेको दूधलाई सफा कपडा वा जालीले छान्नुपर्छ, दूध फटाएर निस्केको छोक्रालाई छिना भनिन्छ। उक्त छिनामा थोरै मैदा मिसाइ मुछेर स–साना गोला बनाउनु होला र अर्को भाँडामा चिनी पगालेर तयार गरिएको चास्नीमा केही समय पकाएपछि रसबरी तयार हुन्छ।
लक्ष्मीपूजा
लक्ष्मीपूजा गर्न तामाको पात्र (अम्खरा) मा कलश बनाउनुपर्छ। लक्ष्मीलाई रातो रङ मनपर्ने भएकाले रातो रुमालले कलशको मुखमा बाँध्ने तथा अबीर र केशरी (पहेँलो) ले रङ्ग्याउनुपर्छ। त्यस्तै पानीमा काँचो बेसारको टुक्रा, सुपारी, दुबो, कमलको फूल, अक्षता, एउटा कौडा र गोमती चक्र, सिक्का, आँप पात र जटासहित नरिवल राख्नुपर्छ।
अर्को कुरा, फोटो किन्दा र पूजा गर्दा लक्ष्मीसँगै अनिवार्य गणेश भएको मात्रै किन्ने र पूजा गर्नुपर्छ साथै लक्ष्मीको पूजा गरेको दिन विष्णु भगवानलाई छुटाउनु हुँदैन। लक्ष्मीको दाहिनेतिर कलश र देब्रेतर्फ दियो बाल्नुपर्छ भने पूजा गर्दा आफू पूर्वतर्फ फर्किनुपर्ने हुन्छ।
कलशमा बेलपत्र, पानसुपारी, ल्वाङ÷सुकुमेल, मौसम अनुसारका पाँचप्रकारका पूmल र शृङ्गारका सामान तथा गहना राखेर पूजा गर्नुपर्छ।
रंगोली
रंगोली धार्मिक, सांस्कृतिक आस्थाको प्रतीक मानिन्छ। घरमा कलात्मक चित्र र आकृति बनाउँदा धन ऐश्वर्यले परिपूर्ण हुने विश्वासले रंगोली बनाउने गरिन्छ। रंगोली घरको पूर्वी दिशामा बनाउनु उपयुक्त हुन्छ। पूर्वी दिशामा नमिले तपाईंको घरको उपयुक्त ठाउँ छनोट गर्नुहोला।
तिहारमा स्वस्तिक वा गणेशको चित्रमा रंगोली बनाउनु राम्रो हुन्छ। रंगोली बनाउनु पहिले चकले नक्सा कोर्ने गर्नुहोस्। यसो गरे रंगोली बिग्रिन पाउँदैन। तपाईंले आफ्नो इच्छाअनुसार चकको मद्दतले बनाएको चित्रमा क्रमशः रङ भर्दै जानुहोस्।
आकर्षक देखिने गरी रङ छनोट र प्रयोग गर्न भने बिर्सनु हुँदैन। रङ भर्दा पत्रिका, पुराना कपडा वा प्लास्टिकको मद्दत लिने गर्नुपर्छ किनभने रङ छरिन पाउँदैन र तपाईंले बनाएको रंगोली राम्रो देखिन्छ।
रंगोली बनाउन बढीमात्रामा रङ प्रयोग गर्ने चलन रहेको छ तर, विकल्पमा फूल, चामल तथा तीलको प्रयोगबाट पनि बनाउन सकिन्छ। रंगोली बनाएपछि दियो वा मैनबत्ती बालेर सजाउनुपर्छ।