काठमाडौं । सञ्चालनमा आएको देशकै ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजना बन्द भएको छ । प्राविधिक निरीक्षण गर्न एक साताका लागि आयोजनाबाट बिजुली उत्पादन बन्द भएको हो ।
माथिल्लो तामाकोसी बन्द भएपछि प्रणालीमा ४५६ मेगावाट बिजुली आपूर्ति कम हुने छ । साथै भारतमा निर्यातसमेत बन्द भएको छ । नेपाल विद्युत प्राधिकरणले ४०० मेगावाटसम्म ऊर्जा भारतमा निर्यात गरिरहेको छ ।
आयोजनाले बिजुली खपत कम हुने समय तिहार र छठको अवसर पारेर निरीक्षणका लागि आयोजना बन्द गरेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानप्रसाद श्रेष्ठले बताए ।
मंगलबार मध्यरातबाट आयोजना बन्द भएको हो । सम्पूर्ण संरचनाहरुको सञ्चालन पश्चातको पहिलो पटक निरीक्षण कार्य सुरु हुँदै छ । करिब ८ देखि १० दिनभित्र सम्पूर्ण निरिक्षण कार्य पुरा हुने अपर तामाकोसीका सीईओ श्रेष्ठले जानकारी दिए ।
करीब दुई दिन लगाएर सुरुङको पानी खालीगरे पश्चात बाँध, डिस्यान्डर, सुरुङ, सिभिल संरचनासहित जेनेरेटर, टर्बाइन, ट्रान्समिटर, प्रसारणलाइन र सबस्टेशनको निरीक्षण हुने भएको छ ।
निरीक्षणपछि मर्मत सम्भार गर्ने योजना रहेको छ । निरीक्षणपछि सुरुङमा पानी भर्न करिब २ दिन लाग्ने छ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुने गरेको छ । बिजुली बेचेर कम्पनीले वार्षिक ९ अर्ब रुपैयाँ भन्दा बढी आम्दानी गर्ने छ ।