काठमाडौं । पहिलो पटक लक्ष्मी पूजाको दिन साँझ खपत घट्दा बिजुली खेर गएको छ । सोमबार साँझ २०० मेगावाट बिजुली खपत नभएर खेर गएको हो ।
सोमबार साँझ ६ बजेर १० मिनेट जाँदा देशभरी बिजुलीको माग १ हजार ३०५ मेगावाट मात्र भएको नेपाल विद्युत प्राधिकरणल जनाएको छ । सोमबार साँझ विद्युत प्राधिकरणले ३८० मेगावाट बिजुली भारतमा निर्यात गरेको छ ।
निर्यातसमेत गर्दा १ हजार ६८५ मेगावाट बिजुली खपत भएको छ । यसअघि लक्ष्मी पूजाको दिन बढी बिजुलीको माग हुन गरेको थियो । नेपालमा बिजुली बढी भए पनि भारतले आयात बढाएको छैन । भारतले ४०० मेगावाटसम्म बिजुली नेपालबाट किन्दै आएको छ ।
प्राधिकरणका अनुसार निजी आयोजनाबाट ७६७.५, विद्युत प्राधिकरणका सहायक कम्पनीहरु माथिल्लो तामाकोसी र चिलिमे आयोजनाबाट ४८२.२ मेगावाट आपूर्ति भएको छ ।
यस्तै प्राधिकरणका आयोजनाहरुबाट ४३५.२ मेगावाट आपूर्ति भएको छ । सोमबार विद्युत प्राधिकरणले आफ्ना आयोजनाबाट बिजुली उत्पादन घटाएको छ ।
तिहारमा उद्योग व्यवसाय बन्द हुने गर्छ । ग्राहस्थ मात्र बिजुली खपत हुन भएकाले माग घट्ने गरेको छ । अहिले प्रणालीमा २ हजार मेगावाट बिजुली उपलब्ध रहेको छ । जडित क्षमता बढेर २ हजार २०० मेगावाट पुगिसकेको छ ।
विसं २०७३ को लक्ष्मी पूजाको दिनदेखि काठमाडौँ उपत्यका र २०७५ साल वैशाख ३१ ग्तेदेखि देशभर नै विद्युत कटौती अन्त्य गरेको प्राधिकरणले पछिल्ला दिनमा गुणस्तरीय बिजुली उपलब्ध गराउने प्रयास गरिरहेको छ ।
बिजुलीको खपत बढाउने अभियान पनि निरन्तर जारी छ । यद्यपि अपेक्षित रुपमा बिजुलीको माग भने बढ्न नसकेको गुनासो पनि उत्तिकै आउने गरेको छ ।
सोमबार साँझ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोली स्युचाटारस्थित भार प्रेषण केन्द्रबाट लक्ष्मी पूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि खटिएको थियो ।