भक्तपुर । फूलखेतीका लागि प्रसिद्ध भक्तपुर सूर्यविनायक–७ गुण्डुका किसानले तिहारमा फूल र माला बिक्री गरी ३ करोड रूपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।
यहाँका किसानले व्यावसायीक रुपमा पाँच रोपनी क्षेत्रफलसम्म फूल खेती गरिरहेका छन् । प्रत्येक किसानले वार्षिक रुपमा न्यूनतम पाँच सयदेखि १० हजार वटासम्म माला बिक्री गर्दै आएका छन् । वडा अध्यक्ष रबीन्द्र सापकोटाले तिहारअघि मात्रै ३ करोड रूपैयाँबराबरको माला बिक्री भइसकेको जानकारी दिए ।
गतवर्ष मात्रै ३ हजार माला बिक्री गर्नुभएकी पार्वती नगरकोटीले यसवर्ष भने पाँच हजार माला बिक्री गर्ने बताए। नगरकोटीले एक रोपनीमा फूलखेती गरिरहेका छन् । किसानले माला प्रतिगोटा २५ देखि ३५ रूपैयाँमा बिक्री गर्छन् ।
अर्का किसान पवित्रा बस्नेतले यसवर्ष पनि फूल र मालाको माग गत वर्षको तुलनामा धेरै भएको बताइन्। एक रोपनी जग्गामा फूलखेती गरेकी उनी यसवर्ष करिब १२ सय वटासम्म माला बिक्री गर्ने योजनामा छन् ।
गुण्डुका किसानहरुले प्रत्येक वर्षको फागुनमा नर्सरी राखेर चैतको अन्तिममा मकै र भट्माससँगै मखमली फूलको रोप्दै आएका छन् । “मकै र भट्माससँगै चैतको अन्तिममा लगाएको फूल साउनको पहिलो साताबाट टिप्न सुरु हुन्छ”, किसान मेनुका नगरकोटीले भने।
स्थानीय बासिन्दाले मात्रै नभई जग्गा भाडामा लिएर फूलखेती गर्नेहरु पनि थपिएपछि यहाँ फूल उत्पादन बढेको छ । सूर्यविनायक नगरपालिकाले वडा कार्यालयमार्फत् यहाँका फूलखेती गर्ने किसानलाई यसवर्ष ६० हजार फूलको बेर्ना वितरण गरेपछि सयपत्री फूलतर्फ पनि यहाँका बासिन्दा आकर्षित भएका हुन् ।
चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई पनि माला गाँस्न र बजारमा लैजान भ्याइनभ्याइ छ । फूल खेतीको पुख्याैली पेसा अङ्गाल्नु भएका किसान श्याम बनमालाले फूलखेतीबाट चित्त बुझ्दो कमाइ भइरहेको बताए।
विगत १० वर्षदेखि मखमली फूलको खेती गर्दै आएकी स्थानीय शोभा बालाले यहाँ दुईआना जग्गामा फूल खेती गर्नेले पनि एउटा मौसममा ३० हजार कमाउने गरेको बताइन् । राम्रोसँग फूल खेती गर्न सके एक रोपनी जग्गामा ७० हजार रूपैयाँदेखि एक लाखसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ ।