काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष ०७८/०७९ मा सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट सेयरधनीलाई बोनश सेयर ३ प्रतिशत र नगद १०.६ प्रतिशत करसहितको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैँयाको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैँया बराबरको बोनश सेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैँया बराबरको नगद लाभाशं शेयरधनीहरुलाई वितरण गर्ने ग्लोबलले जनाएको छ ।
बैंकले आर्थिक वर्ष ०७८/०७९ मा ४ अर्ब ९६ करोड रुपैयाँ खुदनाफा आर्जन गरेको छ । ३ प्रतिशत बोनश सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।
कूल २ खर्ब ८९ अर्ब निक्षेप तथा २ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा लगानी रहेको बैंकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले २९० शाखा, २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।
अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।