नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको आज दोस्रो दिन अर्थात लक्ष्मीपूजा। यो दिन देवी लक्ष्मीको पूजा आराधना गरी घर–कार्यालयमा लक्ष्मी भित्र्याउने चलन छ। धनधान्यकी देवी लक्ष्मीको पूजा गरे घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ। आजको दिन महिलाहरूले घर–घर गएर भैली खेल्ने परम्परा पनि छ। लक्ष्मीपूजा गर्नुअघि आँगनमा विभिन्न रङ प्रयोग गरी रंगोली बनाउने गरिन्छ। त्यसपछि दियो बालेर फलफूल, पूजा सामग्री, फूलमाला, पैसा, गरगहना अगाडि राखेर देवी लक्ष्मीको पूजा गरिन्छ। सबै व्यस्त हुने आजको दिन महिला व्यवसायीहरू कसरी लक्ष्मीपूजा गर्छन्? हामीले दुई व्यस्ता व्यवसायी महिलासँग कुराकानी गरेका छौं :
लक्ष्मीपूजाका लागि व्रत बस्छु: भवानी राणा
धर्म, संस्कृतिका लागि नेपाल विश्वकै धनी मुलुकभित्र पर्छ। यहाँ मनाइने हरेक चाडपर्वका आ–आफ्नै विशेषता छन्। नेपालमा मनाइने अधिकांश चाडपर्व सबै जाति र धर्म मान्नेले मनाउने गर्छन्। त्यसैले पनि दसैं र तिहारलाई नेपालीको महानचाडका रूपमा ब्याख्या गरिन्छ।
दसैंपछि सबैभन्दा ठूलो चाडका रूपमा तिहारलाई लिइन्छ। त्यसमा पनि लक्ष्मीपूजालाई विशेष महत्वसाथ हेरिन्छ। अझ उद्योगी–व्यवसायीका लागि खास दिनका रूपमा लिने गरिन्छ अर्थात विशेष महत्व दिएर लक्ष्मीमाताको पूजा–आराधना गरिन्छ।
अन्य चाडभन्दा तिहारलाई विशेष महत्व दिँदै लक्ष्मीपूजाका दिन व्रत बस्ने गरेको छु। घरमा लक्ष्मीमाताको पूजा म आफैं गर्ने भएका कारण विशेष ध्यान दिने गरेको छ। चोखोनिधो भएर पूजा गर्नुपर्छ भन्ने मान्यतासाथ म दिनभरि व्रत बस्छु र साँझ लक्ष्मीमाताको पूजा गरिसकेपछि मात्र व्रत तोड्ने गरेकी छु।
लक्ष्मीपूजाका दिन घर र आफ्नो व्यवसाय भएको ठाउँलाई विशेष सिँगारिन्छ। फूलमालासहित बत्तीले झिलिमिली बनाएर लक्ष्मीमातालाई खुसी बनाउन खटिन्छौं। लक्ष्मी भित्र्याउन पाइलाहरू बनाउने गरिन्छ। साँझपख लक्ष्मीमाताको पूजा गर्ने गरिएको छ। पूजा पहिलेदेखि नै मैले नै गर्ने गरेकी छु।
मेरो माइतीमा पनि पहिलेदेखि नै आमाले पूजा गर्नुहुन्थ्यो भने विवाह गरेर आएपछि पनि घरमा सासुआमाले नै पूजा गरेको देखेकी थिएँ। बेलुका भने पण्डित पनि पूजाका लागि आउनुहुन्छ र आरती गर्ने गरिएको छ। घरका सबै परिवार जम्मा भएर लक्ष्मी माताको पूजा गर्ने गरेका छौं। परिवारसँगै आफन्तसमेत जम्मा भएर केही समय रमाइलो गर्ने, लक्ष्मीमाताको भजनकीर्तन गाउने गरिएको छ।
यसबाट मनमा समेत आनन्द मिल्छ। उद्योगी–व्यवसायीको सबैभन्दा ठूलो भगवान नै लक्ष्मीमाता भएकाले विशेष महत्व दिँदै आएकी छु। लक्ष्मीमाताकै आशिर्वादका कारण अहिलेसम्म यो अवस्थामा आइपुगेको र अन्य कामको सफलताका लागि पनि लक्ष्मीमाता सधैं दाहिना हुन् भन्ने कामना सबैले गर्ने गर्छन्। लक्ष्मी भनेको महिला नै भएकाले महिलाले नै पूजा गर्दै आएका हुन्।
(राणा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन्।)
लक्ष्मीपूजाको महत्व सन्तानलाई पनि सिकाउँदै छु: सिर्जना राणा
बढ्दो आधुनिकतासँगै संस्कार र संस्कृति पनि बिस्तारै लोप हुँदै जान थालेको छ। हाम्रा पुर्खाले गर्दै आएको संस्कार र मान्दै आएको संस्कृतिलाई सहीरूपमा पालना गर्ने दायित्व हामी सबैको हो। तर, पछिल्लो पुस्ताले त्यसलाई बिस्तारै भुल्दै जान थालेको हो कि भन्ने भान हुन थालेको छ।
दसैंपछि तिहारलाई उति नै प्राथमिकता दिँदै आएका छौं। दसैंमा ठूलाबडा र मान्यजनका हातबाट टीकासँगै आशिर्वाद लिने गरिन्छ भने तिहारका बेला दिदीभाइको आत्मीयतासँगै लक्ष्मीमाताको विशेषरूपमा पूजा गरिन्छ। अझ उद्योगी–व्यवसायीले त वर्षभरि गरेको आम्दानीका लागि लक्ष्मीमातालाई धन्यवाद दिन विशेष पूजाआजा नै गर्ने गरेका छन्।
उद्योगी–व्यवसायीले सधैं पूज्ने र पूजा गर्ने भनेकै लक्ष्मीमाताको हो। त्यसले लक्ष्मीपूजालाई एक उत्सवका रूपमा मनाउँदै आएका छौं। सानैदेखि हजुरआमाले घरमा पूजा गर्नुभएको देखेकीले अहिले मेरो काँधमा त्यो जिम्मेवारी आएको र पूरा पनि गरिरहेकी छु। पूजाआजा गर्न मलाई निकै रमाइलो लाग्छ।
भगवानलाई धन्यवाद दिने र आगामी दिनमा अझ राम्रो गर्न उत्प्रेरणा जगाउनका लागि बाटो खुला होस् भन्ने कामना लक्ष्मीमातासँग गरिन्छ।
लक्ष्मीपुजा पहिलेदेखि मनाउँदै आएको हो। अहिले पनि उत्तिकै महत्व दिने गरिएको छ। उद्योगी–व्यवसायीका लागि यो दसैंभन्दा पनि महत्वपूर्ण मानिन्छ। भगवानप्रति धन्यवाद दिने गरिन्छ। यो निकै महत्वपूर्ण पर्वकारूपमा लिइन्छ।
यो हामीले मात्र होइन, पछि आउने पुस्तालाई पनि तिहार र त्यसमा पनि लक्ष्मीपुजाको महत्वबारे जानकारी गराउने गरेकी छु। हामीपछि आउने पुस्ताले पनि यसलाई निरन्तरता दिँदै जाउन् भन्ने उद्देश्य राखिएको हुन्छ।
म सानैदेखि हजुरआमासँग नजिक भएकाले पनि उहाँले गर्नुभएको पूजालाई नियाल्थेँ। अहिले म आफंै पूजा गर्ने स्थानमा पुगेकी छु। जुन निकै रमाइलो लाग्छ।
सानैदेखि पूजा कोठा सजाउने, सफा गर्न उत्प्रेरणा दिनुहुन्थ्यो। अहिले मेरा छोराछोरीलाई पनि पूजाबारे जानकारी दिने र पूजा गर्ने तरिका सिकाउँदै आएकी छु।
किनभने, पछि उनीहरूले पनि यसैगरी पूजा गरुन् र पुर्खाले मान्दै आएको पर्वलाई पछिसम्म निरन्तरता दिउन् भन्ने उद्देश्य मेरो छ। घरमा पूजा गर्नेदेखि बत्ती सेलाउने समेतको काम सबै मैले नै गर्ने गरेकी छु।
(राणा होटल एसोसिएन नेपाल (हान) का अध्यक्ष हुन्।)