पोखरा। मुलुकको दोस्रो ठूलो पर्यटन गन्तव्य पोखरामा विद्युतीय कार उत्पादक कम्पनी ‘बिल्ड योर ड्रिम्स’ (बिवाइडी) को सुविधासम्पन्न शोरुम सञ्चालनमा आएको छ। शोरुमसँगै एक साताअघि मात्र नेपाल प्रवेश गरेको बिवाइडीको बहुप्रतिक्षित ‘एटो ३’ विद्युतीय कार पनि सार्वजनिक भएको छ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले बिवाइडी शोरुम उद्घाटन गरे। सोही अवसरमा मन्त्री खड्कासहित नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन नाडाका अध्यक्ष ध्रुव थापा, नेपालका लागि बिवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत (सिइओ) शाहिल श्रेष्ठले एटो ३ लाई पोखरेली अटोपारखीमाझ सार्वजनिक गरे।
बिवाइडीका लागि पोखराको आधिकारिक विक्रेता प्लगइन अटोमोबाइल्सले युनिक फिचर्स र डिजाइनमा बनेको इभी कार एटो ३ घरेलु बजारमा उतारेको हो।
शोरुम उद्घाटन र एटो ३ सार्वजनिक कार्यक्रममा मन्त्री खड्काले विद्युतीय गाडी प्रवर्द्धनमा प्रदेश सरकार सधैं लागिरहेको बताए। इभीका लागि आवश्यक पूर्वाधार निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्ने उनको भनाइ छ।
पोखरा पर्यटकीय र वातावरणमैत्री सहर भएकाले विद्युतीय गाडीलाई प्राथमिकतामा राखेको भन्दै उनले निजी क्षेत्रलाई सधैं सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए।
नाडाका अध्यक्ष थापाले विश्वको नम्बर एक इभी कम्पनी बिवाइडीको कार पोखरा आउनु सुखद भएको बताए। ‘अबको युग इभी युग भएकाले आगामी तीन वर्षभित्र ५० प्रतिशत बजार हिस्सा इभीको हुनेछ,’ थापाले भने।
साइमेक्स इंककी प्रबन्ध निर्देशक श्रेष्ठले वातावरणमैत्री विद्युतीय गाडीका लागि सरकारले गम्भीर भएर सोच्नुपर्ने बताइन्। ‘हाम्रा हिमाल पग्लिएका छन्, प्रदूषण बढ्दो छ, हामी जलविद्युतमा धनी छौं,’ उनले भनिन्, ‘त्यसैले इभीलाई सरकारले प्रोत्साहन गर्नुपर्छ।’
साइमेक्स इंकका सिइओ श्रेष्ठले एटो ३ का विशेषता र सुविधाबारे जानकारी दिएका थिए। चीनको इभी निर्माता बिवाइडीको एटो ३ लाई बहुप्रतीक्षित प्रिमियम एसयुभी मानिन्छ।
पोखराका कर्पाेरेट हस्ती, सामाजिक व्यक्तित्व र सञ्चारकर्मीबीच सार्वजनिक भएकै दिन चारथान गाडी बुकिङ भएको कम्पनीका प्रबन्ध निर्देशक ओम उपाध्यायले जानकारी दिए।
आकर्षक फिचर र लक्जरियस सुविधाका कारण विश्वबजारमा लोकप्रिय एटो ३ ले पोखरेली उपभोक्ताको मन पनि छिट्टै जित्ने विश्वास कम्पनीका अध्यक्ष प्रकटकुमार शिशिरले व्यक्त गरे।
एटो ३ मा ५० किलोवाट र ६०.५ किलोवाट क्षमतायुक्त ब्याट्री जडित छ। बिवाइडीले तयार पारेको ब्लेड ब्याट्रीले कारलाई पूर्णसुरक्षित पारेको छ।
एटो ३ एकपटक फुलचार्ज गर्दा ४ सय ५० किलोमिटर कुद्न सक्छ। नेपालमा उपलब्ध बिवाइडीका कारमध्ये एटो ३ मा सबैभन्दा शक्तिशाली मोटर जडित छ। यसको एक्सिलिरेसन पावर झन उत्कृष्ट छ। एटो ३ ले ७.३ सेकेन्डभित्र शून्यदेखि १ सय किलोमिटर प्रतिघन्टाको गति समाउन सक्छ।
एटो ३ मा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडित छ जुसमा एप्पल कार प्ले र एन्ड्रोइड सिस्टमको सुविधा उपलब्ध छ। त्यसैगरी डिजिटल इन्स्ट्रुमेन्टल कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर सिट, पाँच इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, सात थान एयर ब्याग, एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम सुविधा पनि यसमा उपलब्ध छ।
एटो ३ को बाहिरी डिजाइन आकर्षक छ। थिक क्रोम होराइजोन्टल स्ट्रिप, एलइडी हेडलाइट, एलइडी डिआरएल, भर्टिकल एयर इन्टेक, डुअल टोन एलोय ह्विल, एलइडी टेल लाइट जडित छन्।
एटो ३ को मूल्य कम्पनीले ८९ लाख ९० हजार तोकेको छ। पोखरामा यसअघि बिवाइडीको ई ६ कार बिक्री भइसकेको छ।