काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)ले दसैंअघि मगाएको सामानमा अधिक मूल्यांकन भएको पाइएको छ। खासगरी, सामान आयातमार्फत विदेशी मुद्रा अपचलन गर्ने निहित उद्देश्यको भन्सार कार्यालयको निश्कर्ष छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार एनटिएले मगाएको सामानमा अधिक मूल्यांकन भएको निश्कर्ष आन्तरिक तथा बाह्य प्राविधिकहरूको समूहले निकालेको हो।
प्राधिकरण कार्यालयको प्राविधिक टोलीले गरेको अध्ययनअनुसार ८ देखि १० हजार डलर पर्ने सामानको मूल्यांकन ८० हजार डलरसम्म गरेको देखिएको हो। ‘एनटिएले जुन सामान मगाएको छ, त्यसको अधिकतम ८ देखि १० हजार डलरभन्दा बढी पर्दैन्,’ स्वतन्त्र रूपमा परीक्षणपछि भन्सार कार्यालयलाई दिएको रिपोर्टमा उल्लेख छ, ‘तर, त्यो सामान त्यति मूल्य पर्दैन।’
कार्यालयले आइटी क्षेत्रका जानकारलाई बोलाएर सामानको मूल्यांकन गराएको थियो। आन्तरिक रूपमा हामीसँग भएका प्राविधिकहरुले पनि सामानको मूल्यांकन गरेका थिए र बाहिरबाट ल्याइएका प्राविधिकबाट पनि मूल्यांकन गराइएको थियो। दुवैले सामानको अधिक मूल्यांकन गरेको हुनसक्ने आशकासहित प्रतिवेदन दिएका हुन्।
कार्यालयका अनुसार अहिले एनटिएको सामानका विषयमा दुईटा कोणबाट छलफल चलिरहेको छ। एक, अनुसन्धान गर्ने निकायलाई थप अनुसन्धानका लागि पठाउने दोस्रो ल्याबका सामान परीक्षणका लागि सिफारिस गर्ने, भन्सारका अधिकारीहरू अनुसन्धान गर्ने निकाय राजस्व अनुसन्धान विभागलाई थप अनुसन्धानका लागि लेखी पठाउने तयारीमा पनि छन्।
अधिक मूल्यांकनलाई हेर्दा विदेशी मुद्रा अपचलन गर्ने मनसाय देखिन्छ। कम मूल्यको सामानमा अधिक मूल्य देखाउने र त्यो बापतको रकम विदेशमै भागशान्तिले बाँड्ने आंशका जन्माउँछ।
मूल्यांकनको पाटोबाट हेर्दा राजस्व चुहावटको सम्भावना देखिँदैन। तर, विदेशी मुद्रा अपचलन गरी राज्यलाई ठूलो नोक्सानीमा पुर्याउने चाह प्रकट हुन्छ। त्यसैले यो विषयलाई राजस्व अनुसन्धान विभागले मिहिन ढंगले केलाउनुपर्ने देखिन्छ। यही प्रकृतिका अन्य धेरै घटनाहरु घटेका पनि हुन सक्छन्। जसबाट राज्यलाई वार्षिक अर्बौं डलर नोक्सानी भएको अनुमान गर्न सकिन्छ।
प्राधिकरणले एक महिना १ अर्ब १२ करोड रूपैयाँबराबरको सञ्चार उपकरण मगाएको हो। उक्त सामान लेबनानको भेनस कम्पनीबाट खरिद गरेर ल्याएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आइपुगेको सामान फिजिकल्ली हेर्दा त्यो मूल्य बराबरको नदेखिएपछि भन्सारले बाहिरबाट परीक्षकहरू बोलाएर परीक्षण गराएपछि नयाँ रहस्य खुलेको हो।
‘कार्यालयका जाँचकीलाई उक्त सामान र मूल्यांकनप्रति विश्वास लागेन’ भन्सारका एक अधिकारी भन्छन्, ‘फिजिकल्ली हेरेर मात्रै हुँदैन। स्वतन्त्र रूपमा रहेका प्राविधिकलाई ल्याएर एनटिएका सामानको जाँचबुझ गराइयो। यसको भ्यालूएसन के हुन सक्छ ? भनेर हामीले उनीहरुलाई बोलाएको हो।’
कार्यालयले बोलाएका प्राविधिकहरुले अन्तर्राष्ट्रिय बजारमा उक्त सामानको मूल्य त्यति नपर्न पनि सक्छ भन्ने रिपोर्ट दिए। तर, भन्सार कार्यालयले उक्त सामान ल्याबमा थप परीक्षणका लागि पनि पठाउन सक्छ। नेपाल प्रहरीसँग पनि विशिष्टीकृत ल्याब रहेको र त्यहाँ पठाउँदा सामानको वास्तविक मूल्य आउन सक्ने देखिन्छ।
भन्सार कार्यालयका अनुसा यदि ल्याबमा नपठाएको खण्डमा राजस्व अनुसन्धान विभागलाई थप अनुसन्धानका लागि पठाउने सम्भावना बलियो छ। पहिला उताबाट हुने अनुसन्धान सकेर मात्रै जाँचपास गराउने तयारीमा कार्यालय छ। कार्यालयले आइतबार मात्रै मूल्यांकन शाखाका सम्पूर्ण कर्मचारीसँग छलफल गरेर अनुसन्धान गर्ने निकायलाई लेखी पठाउने निर्णय हुन सक्ने देखिन्छ।