काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जान दवाव दिएपछि धेरै विकास बैंक प्राप्ति प्रक्रियामा सहभागी भएका छन । धेरै विकास बैंकहरु वाणिज्य बैंकहरुसंग प्राप्ति प्रक्रियामा सामेल हुँदा संख्या घट्दै गएको छ ।
राष्ट्र बैंकको दवावपछि वाणिज्य बैंकहरुले धमाधम विकास बैंकलाई प्राप्ति गर्न थालेका छन । विकास बैंकको अस्तित्व विस्तारै सकिने संभावना बढेको छ ।
यद्यपी अझै पनि २८ ओटा विकास बैंक सञ्चालनमा छन । राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/०७३ मा बैंक तथा वित्तिय संस्थाको पूँजी वृद्धिको योजना ल्याएपछि विकास बैंकहरुको संख्या घट्दै गएको हो । आर्थिक वर्ष २०७२/०७३ मा ७६ ओटा रहेका विकास बैंक ५० वटा घटेर २८ वटामा सिमित भएका छन् ।
राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबि नेपालले मौद्रिक नीतिमार्फत ल्याएको पूँजी वृद्धिको योजनाले वाणिज्य बैंकहरुको संख्या घटाउने लक्ष्य भएपनि विकास बैंक र वित्त कम्पनीहरुको संख्या घट्दै गएको छ ।
वाणिज्य बैंकको संख्या २८ छ । ग्लोवल आईएमई र जनता बैंक मर्जरमा जाने सहमति गरेकाले २७ मा झर्ने छ । गभर्नर नेपालले वाणिज्य बैंकको संख्या घटाएर १४/१५ को हाराहारीमा झार्न चाहान्थे । तर योजना अनुसार वाणिज्य बैंकहरु घटेनन् । यता विकास बैंकको भने अस्तित्व नै नरहने संभावना बढेको छ ।
असोज १२ गते एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकको मर्ज भएर एकिकृत कारोबार सुरु गरेका छन । एनएमबीसंग मर्ज गरेपछि ओमको अस्तित्व समाप्त भएको छ । त्यस्तै, मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति (एक्वाएर) गर्न सैद्धान्तिक सहमति भएको छ ।
एक्वायरपछि गण्डकी विकासको पनि अस्तित्व सकिँदैछ । सिटिजन्स बैंकले प्राप्ति गरेपछि सहयोग विकास बैंकको पनि अस्तित्व सकिने छ । प्राइम कमर्शियल बैंकले प्राप्ति गरेपछि कैलाश विकास बैंकको पनि अस्तित्व सकिने छ ।
केही वर्षअघि नै पशुपति डेभलपमेन्ट बैंक र उद्यम विकास बैंक एक आपसमा मर्ज भएर एकिकृत कारोबार गरिसकेका छन् । यी दुईमध्ये एक विकास बैंकको अस्तित्व समाप्त भएको छ ।
साइन विकास बैंक र रेसुंगा विकास बैंक पनि मर्ज भएका छन् । दियालो विकास बैंक र प्रोफेशनल डेभलपमेन्ट बैंक,अरनिको डेभलपमेन्ट बैंक र सूर्या डेभलपमेन्ट बैंक र सोसल डेभलमेन्ट बैंकहरुलाई ग्लोवल आईएमई बैंकले प्राप्त गरिसकेको छ ।
सिभिल बैंक र एक्सीस डेभलपमेन्ट बैंक एक आपमा मर्ज भएका छन् । विराटलक्ष्मी विकास बैंक र खाँदबारी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, वागेश्वरी विकास बैंक, पूर्वान्चल विकास बैंक र मध्यमान्चल ग्रामिण विकास बैंकको पनि अस्तित्व सकिएको छ ।
यस्तै किस्ट बैंक र प्रभु विकास बैंक र त्रिवेणी विकास बैंक र पब्लिक डेभलपमेन्ट बैंक एक आपसमा मर्ज भएका छन् । तिनाउ मिशन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक मर्जरको प्रक्रियामा रहेको राष्ट्र बैंकले जनाएको छ ।
संघका अध्यक्ष गोविन्द ढकालले विकास बैंकको संख्या घट्दै जाँदा लगानीकर्तामा पनि अन्यौलता बढेको बताउँछन् । विकास बैंकको संख्या लगातार घटेकाले त्यसले प्रभाव पर्ने उनले बताए । तर संख्या घटेपनि मेचीदेखि महाकालीसम्म विकास बैंकको उपस्थिति भने बढेको उनको भनाई ।
विकास बैंकको संख्या १५ वटा मात्र हुनु पर्ने उनको सुझाव छ । जति थोरै भयो उनीहरुले दिने सेवा पनि उत्तिकै प्रभावकारी हुने अध्यक्ष ढकालको भनाई छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले विकास बैंकहरुको मर्जरलाई प्रोत्साहन नगरेको भएपनि राष्ट्र बैंकको दबावका कारण विकास बैंकहरु धमाधम मर्जरमा गएकाले उल्लेख्य मात्रामा संख्या घट्दै गएको हो ।
केही वर्षअघि लक्ष्मी बैंकले हाइसेफ फाइनान्सलाई प्राप्ति गरेको थियो । यस्तै नेपाल श्रीलंका मर्चेन्ट बैंक र नेपाल बंगलादेश फाइनान्स लिमिटेडलाई पनि नेपाल बंगलादेश बैंकले प्राप्ति गरिसकेको छ ।